पढाई पैसाकै लागि हो त ? एकपटक पढ्नैपर्ने लेख रचना


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०७७
20K
SHARES

काठमाडौं – ‘मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो, भनेर किन भनेको होला सबैले’ जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटलको बेडमा बसेर भान्जी आयुषाले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी चाबहिल को ॐ अस्पतालमा उपचाररत थिइन् । ५ बर्से बच्चि को यो प्रश्न को उत्तर सजिलै थियो ठुलो मान्छे बन्न नि । पढेन भने दुख पाइन्छ नि त त्यसैले । भान्जीलाई सहज उत्तर दिएँ तर म भने आफ्नै उत्तरले आफैं संतुष्ट भइन । म सानो हुँदादेखि नै मैले बुझेको र यो समाजले आजसम्म सिकाएको कुरा यहि थियो कि आफ्नो भबिस्यमा राम्रो काम पाइयोस् र दुख नपरोस् भनेर पढ्ने हो।

शिक्षाका क्षेत्रमा विभिन्न बिद्द्वानहरुको परिभाषहरुले शिक्षा जीवनका लागि हुनुपर्ने, शिक्षाले मानिस  ब्यबहारमा परिवर्तन ल्याउनु पर्ने र शिक्षाले सामाजिक रुपान्तरणमा भुमिका खेल्नुपर्ने जस्ता तर्कहरु दिएको पाइन्छ। साँच्चै आजका शिक्षित मानीस खुशी र सुखी छन् त ? यो विषय गहन र बिचरणिय पक्कै छ ।

एउटा बच्चा लगभग ३–५ बर्ष को उमेरमा विद्यालय प्रवेश गर्छ । त्यतिबेला उसलाई न त शिक्षाको महत्त्वको बारे न केहि जानकारी हुन्छ न त स्कुल जानू को उदेश्य नै। खाली बुबा आमाले स्कुल जानुपर्छ भनेको भएर वा अरु आफ्नै उमेर का साथीहरू गएको देखेर जानुपर्छ भन्ने भावना ले प्रोत्साहन गरेर उ स्कुल जानका लागि तयार हुन्छ । त्यसो त यो उमेर पार गरेर केही परिपक्व भएका बालबालिका समेत स्कुल जान नमान्ने , भाग्ने, लुक्ने र स्कुल जाने समयमा रुने गरेका गुनासाहरु थुप्रै सुनिन्छन्। यसको पछाडी विभिन्न कारणहरु हुन सक्छन् । तर मुख्य कारण भनेको विद्यालयले ती बालबालिकालाई आकर्षित गर्न नसक्नु नै हो।

हाम्रो विषय यहाँ यो समस्या भन्दा पनि पढ्ने के का लागि र कस्ता उदेश्य राखेर पढ्छन् मानिसहरु भन्ने हो। कति मानिसहरु ती उदेश्य प्राप्त गर्न सफल भए र बीचमै बिद्यालय छोड्नेहरु के साँच्चै असफल छन् त ? यिनै प्रश्न हरुको उत्तर खोज्नु हो ।आम नेपाली अबिभाबकहरुमा आज ठुला भनिने र नाम चलेका बोर्डिङ स्कुलमा आफ्नो बच्चा भर्ना गर्दा राम्रो पढ्ने र सफल हुने बिश्वास पाइन्छ। अझ भनौं पछिल्लो समय जतिसुकै शुल्क बढेको भनिएपनी महँगा स्कुलमा छोराछोरी पढाउने चलन प्रतिस्पर्धा कै रुपमा नेपाली समाजमा चलेको देखिन्छ । तर के ती बालबालिकाले साँच्चै आफ्नो भबिस्य सुनिस्चित गर्न सक्ने ज्ञान लिएका छन् त त्यहाँ बाट ? वा उनिहरु भौतारिरहेका छन् आफ्नो ८० प्रतिशत माथी को सर्टिफिकेट बोकेर कन्सलटेन्सिहरुमा । हामि धेरै स्कुलहरु मा रास्ट्रिय गान बजाउँछौ ‘एस्सेम्बलि’ समयमा र पढाउँछौ रास्ट्रियता को पाठ दिनभर। एउटा विद्यार्थीले सिक्ने यस्ता राष्ट्रियताका पाठहरु प्लस टु सकेर बागबजार र पुतलीसडक का सडकहरु मा भौतारिँदा बिलाउछ त्यो भावना, गायब हुन्छ तनाब र बितृस्णा बनेर ।

ठुलो झोला बोकेर त्यो झोला जस्तै सपना बोकेका कति विद्यार्थीहरुले बीचमै पढाई छोड्न बाध्य हुनु परेको अर्को तितो यथार्थ पनि हामी माझ छँदैछ। सहरी क्षेत्रमा कक्षा १० सम्म पुगेका छोराछोरीको झोला बोकेर विद्यालय पुर्याउन आउँछन् अबिभाबक हरु। जब त्यहि विद्यार्थी स्कुल छोडेर उच्च शिक्षा अध्ययनमा लाग्छ नि तब उसलाई लाग्छ संसारको सबैभन्दा दुखी मान्छे मै हो। अझ आफैं कमाएर उच्च शिक्षा हासिल गर्नुपर्ने बाध्यता भएकाहरुका लागि त ‘यो घाँटि को हाड बन्न पुग्छ, न निल्नु न ओकेल्नु’।

विश्वमा के डिग्री लिएका मान्छे मात्र सफल छन् त? पक्कै छैनन् । हाम्रा आम नेपाली अबिभाबक ले राख्ने अपेक्षा जस्तै यदि विद्यालय शिक्षा लाई जागीर खाने वा प्रतिस्पर्धात्मक बजार मा अब्बल ठहरिइ सुखी जिबिकोपार्जन गर्ने उदेश्यसँग मात्र जोड्ने हो भने बिधालय शिक्षा बेकार लाग्न सक्छ। दुनियाँका उच्च वर्गीय धेरै ब्यक्तिहरु डिग्रीले भन्दा मेहनत, सहनसिलता, लगनशीलता र आत्मबिस्वासले सफल भएका छन् । यो पुजीवादी समाजका धेरै सम्राट हरु ‘युनिभर्सिटी ड्रपआउट ’ छन् । उदाहरण का लागि बिल गेट्स , थोमस अल्बा एडिसन् , स्टिभ जब्स, मार्क जुकर्बग लाई लिन सकिन्छ । यी सबै डिग्री बिनाका सफल र बिश्वमा आफ्नो प्रभुत्व जमाएका नामहरु हुन् । अझ नजिकको उदाहरण अलिबाबा डट कम का संस्थापक भनेर चिनिने चीनिया नागरिक ज्याक मा लाई लिन सकिन्छ । १० चोटि बिश्वबिधालय ले रिजेक्ट गरेका उनी त्यस्ता अभागी ब्यक्ति बने जस्ले आफ्नो पहिलो जागिरका लागि दिएको निबेदनमा निबेदक मध्य एकमात्र रिजेक्टटेड उम्मेद्बार बने। थुप्रै यस्ता उतारचढाव पार गर्दै उनी आज त्यति ठुलो कम्पनी को मालिक हुँदै बिश्व धनाड्य को सुचिमा छन् ।

के त समाधान, स्कुल नजाने ? पक्कै होइन ।

केही मानिस डिग्री बिना नै सफल भए भन्दैमा सबैले त्यो सिको गर्नु ठुलो भुल हुनेछ । शिक्षा त आखिर मानिसलाई जुनसुकै परिस्थितिमा पनि चाहिन्छ । बस् यस्को लक्ष्य राम्रो जागिर खानुमा सिमित नभइ जिबन र बिश्व परिबेश सुहाउँदो सभ्य नागरिक उत्पादन गर्न समेत हुनुपर्दछ। यसको लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन भइ प्राबिधिक र ब्यबहारिक शिक्षा लाई सहज बनाइनु पर्छ। ताकी कुनै शिक्षित युबा बेरोजगार नबसोस् वा प्लस टु को मार्क्ससिट हतार हतार निकालेर पुतलिसडक बागबजार तिर बिदेशी भाषा पढ्न जान नपरोस् ।

(लामिछाने शिक्षण र लेखन पेशामा आबद्ध छन्)