फाइनान्समा मास्टर्स गरेका राजु कुलेश्वरमा टायर मर्मत गर्दै (भिडियोसहित)


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, फाल्गुन १७ २०७७
10K
SHARES

काठमाडौँ – विभिन्न व्यवसायीक तथा तथा उत्प्रेरणात्मक कथाहरू यहाँहरू माझ बढ्दै नयाँ व्यवसायीक सम्भावनाका अवसर पहिल्याउन सहयोग गर्ने क्रममा आज हामी अर्को एउटा अति प्रेरणादायी कथा लिएर आएका छौँ ।

यो कथा पढेलेखेकाले सुट–टाई लगाएर, राम्रो कुर्सीमा बसेरै काम गर्नुपर्छ भन्ने सोच राख्नेहरूका लागि एउटा गतिलो झापड हो । मास्टर्स पढेर पनि आफ्नो डिग्रीको घमन्ड भन्दा बढी कामलाई प्राथमिकता दिने एक युवा हुन कुलेश्वर काठमाडौँमा रहेको आशा टायर सर्भिस सेन्टरका सञ्चालक राजु महर्जन ।

काठमाडौँमै जन्मिएका अनि कुलेश्वर जस्तो व्यावसायीक ठाउँमा घर भएका र फाइनान्समा मास्टर्स गरेका यी युवाले टायरको काम रमाइ रमाइ गरेको देख्दा हामी अचम्मित भयौँ । विशेषतः काठमाडौँका मान्छे घर भाडामा लाएरै बाचेका हुन्छन् भन्ने प्रचलन तोड्न पनि आफूले काम गरेको उनको भनाइ छ ।

स्नातक तह पढ्दादेखि नै व्यवसाय सुरु गरेका राजु आफूलाई सुरुवातमा सिप र उपयुक्त ज्ञान नहुदा समस्या परेको बताउँछन् ।

एसएलसी सकेपछि तालिम लिएर कम्प्युटर पढाउने काम सुरु गरेका उनले त्यसले सन्तुष्टि दिन नसकेपछि विकल्पको खोजिमा थिए। आफ्नो घर व्यवसाय गर्नका लागि उपयुक्त ठाउँमा रहेकाले उनी अटो मोबाइलमा होमिए।

आफूसँग चाहिने सीप र दक्षता नहुँदा कामदार राखेर काम सुरु गरेका उनीहरूलाई सबै कुरामा कामदारप्रति निर्भर हुँदा विभिन्न चुनौतीहरू आए। करिब ४ वर्ष दुःख गरेपछि भने उनी आफै दक्ष भए।

सुरुवाती दिनमा स्टाफ मात्रै उनीहरूको चुनौती थिएन। त्यो सँगै प्रविधिप्रति अभ्यस्त नहुनु र भित्राउन नसक्नु, सबै काम हातैले गर्नुपर्ने हुँदा उनीहरूको काम अझै कठिन हुन्थ्यो।

आफूले नजानीकन व्यवसाय सुरु गर्दा यस्ता विभिन्न चुनौती आउने हुँदा व्यवसाय गर्ने जो कोहीलाई पनि उनी आफू लाग्ने जुन्सुकै क्षेत्रलाई पनि राम्रोसँग बुझेर आउन सुझाव दिन्छन् ।

पहिलो चोटि उनी व्यवसायी बनेको दिन साह्रै रोमाञ्चित भएको सम्झिन्छन् । त्यो दिन उनलाई जिन्दगी एउटा ट्र्याक समायो भन्ने अनुभूति भएको थियो।

पछिल्लो समय विभिन्न प्रविधि भित्र्याउन सफल भएको हुँदा उनीहरूलाई कम प्रेसर परेको छ भने मासिक झन्डै एक लाखको आम्दानी छ।

उनलाई विदेश जाउ भन्ने नलागेको पनि होइन । तत्कालीन अवस्थाको बढ्दो विदेश जाने ट्रेन्ड र लहरले उनलाई आकर्षित गरे पनि विभिन्न कारणले त्यो पूरा हुन सकेन। उनलाई अहिले विदेश नगएर ठिकै गरिएछ भन्ने लाग्छ।

उनका अनुसार उनी आफैले काम गर्ने हुँदा आशा टायर सर्भिस सेन्टरको सेवा गुणस्तरीय हुन्छ । स्टाफले काम गर्ने ठाँउमा त्यसो हुन गाह्रो हुने उनी बत्ताउँछन् । यातायात विकासको एउटा पूर्वाधार भएकाले यो काममा अवसर नै अवसर रहेको उनको भनाइ छ। अटो मोबाइल सर्भिस सेन्टरको नेपालमा अवसर र चुनौतीलाई उनी यसरी व्यक्त गर्छन् ।

अटो मोबाइल सर्भिस सेन्टरको ठुलो सम्भावना छ। अहिले पनि थुप्रै क्षेत्रमा काम गर्न बाँकी रहेको उनको भनाइ छ। उनकोमा एक पटक आउने ग्राहकहरू फेरी फेरी फर्किएर आउने गर्छन् । हाल भाडाको जग्गामा रहेको उनको अफिसलाई उनी आफ्नै जग्गामा सार्ने योजनामा छन् । सँगै बिश्वबजारमा भित्रिइरहेका नयाँ प्रविधिलाई पनि आशा टायर सर्भिस सेन्टर ल्याउने सोचमा छन् ।

आफू थोरै सफल भएको भए पनि यतिमै सीमित नरहने उनको भनाइ छ। नयाँ ज्ञान लिने र निरन्तर खारिँदै यही व्यवसायलाई जीवनभर चलाउने योजनामा उनी छन् ।

हामी नेपालीहरूमा मेहनत र धैर्यताको अभाव रहेको उनको भनाई छ। अवसर छैन भन्ने तर श्रमलाई सम्मान गर्दै काम गर्ने बानी नभएकाले आजको बेरोजगारीको अवस्था आइलागेको उनको भनाई छ । ऊर्जावान् समयमा सीप सिक्ने र अलि परिपक्व भएपछि व्यवसाय गर्नुपर्ने उनको धारणा छ।