परिवार र सरकारको असहयोगले छेक्न नसकेको दिपेशको सफलताको बाटो (भिडियो सहित)


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, फाल्गुन २९ २०७७
7.1K
SHARES

मोटिभेट न्युजले बिगत केही समयदेखि देशभर विभिन्न ब्यवसाय गर्दै देशमै केही गर्न सकिन्छ भनेर सन्देश दिन सफल ब्यवसायिका कथालाई भिडियो प्रोफाइल बनाइ यहाँहरुमाझ बाड्दै आइरहेको छ। नयाँ उपाय तथा प्रबिधि अपनाइ ब्यवसाय गरिरहेका युवाहरुलाइ मिडिया प्ल्याटफर्म दिइ त्यस्तै हजारौं युवाहरुलाइ उत्प्रेरित गरि ब्यवसायी बनाउने लक्ष्य हाम्रो रहेको छ। तपाईले हेर्ने हरेक भिडियोमा हामीले ब्यवसायिका संघर्स र त्यसले दिलाएको सफलताको रङ प्रस्तुत गरेका छौ । आजको यो भिडियो ति उत्प्रेरणात्मक कथाहरु भन्दा अझ उत्कृष्ट बन्नेछ किनभने यसले तपाईंलाई एउटा युवाले आफैं खोजेको सम्भावना र उसले आफ्नै सिर्जनशिलतामा बनाएको ब्यवसायिक साम्राज्यलाइ समेट्नेछ।

यो कथा त्यो बिन्दुबाट सुरु हुन्छ जतिबेला तत्कालीन अबस्थाको बिदेश जाने ट्रेण्ड देखेर नमोबुद्ध नगरपालिका पिपलटार काभ्रेका दिपेस लामालाइ पनि बिदेश जाने रहर लाग्यो। मुस्किलले जिल्लाबाट सिफारिस लिएर पासपोर्ट बिभाग पुगेका उनको सपना बिभाग बाहिरको लामो लाइनले त्यहीँ टक्क अडियो।

सानैदेखि देशमै केही गर्नुपर्छ भन्ने सोच बोकेका दिपेशले त्यहीँबाट बिदेशको दुस्ख देख्न थाले। पासपोर्ट बनाउन त यति गार्हो छ भने ऋण गरेर अर्काको मुलुकमा काम गर्न जान के सजिलो हुन्थ्यो भन्ने प्रश्न उनले आफैलाइ गरे।

यसरी सिफारिस च्यातेर फर्केपछि उनले सेल्सम्यानको जागिर खाए भने तरकारी पसल राखेर समेत आफ्नो ब्यवसायिक भाग्य परिक्षण गरि हेरे। ठुलो सपना बोकेका दिपेशलाई त्यो सिमित दायराभित्र रहिरहन मन लागेन र गाउँ फर्किए।

गाउँ फर्किएर ५० हजार रुपैयाँको लगानी गरेर पसल खोलेका उनलाइ त्यसले थोरै सन्तुष्टि दिन थाल्यो। त्यसपछी गाउँमा आफुले सम्बोधन गर्नसक्ने समस्या के छ भनेर खोज्ने क्रममा उनले राईश मिलको आबश्यकता महसुस गरे र तत्काल सुरु गरे।

यसरी काम गर्दैगर्दा आएको २०७२ सालको महाबिनाशकारी भुकम्पले पनि उनलाइ बिचलित बनाउन सकेन। बरु उनी अझै यसमा नै अवसर खोज्न थाले। भुकम्प पछि राहतका सामान र निर्माण सामाग्री बोक्ने गाडीको आबस्यकता महसुस भयो र उनले गाडी किन्ने निर्णय गरे।

गाडी किनेर थप ब्यवसायिक सफलता हासिल गर्छु भन्ने सोचेका उनले पनि त्यही समस्या भोग्नुपर्यो जुन अधिकांश नेपाली युवाहरूले भोग्नुपर्छ। बिदेश जान्छु भन्दा पैसा लगानी गरिदिन तयार उनका बाबू गाडिमा लगानी गरिदिन तयार भएनन् भने बैंकले पनि उनलाइ सजिलै पत्याएन ।

उनले यो अबधिमा गाउँका साहुहरु संग पनि हारगुहार गरे । तर यो उमेरमा गाउँमा दुख गरेर बसेको भन्दै उनलाइ कसैले ऋण पत्याएन। आफ्नो गन्तव्यको नक्शा कोरिसकेका दिपेशलाई यो चुनौतीले रोक्न सकेन र केही समयपछि नै किन नहोस् उनले गाडी किनि छाडे।

राइस मिल चलाउदा उनलाइ राम्रै आम्दानी भइरहेको थियो भने त्यहाँ खेर जाने अन्न, पिठो अनि भुसको उचित ब्यवस्थापन गर्ने उपाय खोज्नु थियो उनलाइ। यसै क्रममा उनले खसिको बढ्दो माग देखे र सुरु गरे खसी पालन।

यसरी खसिपालन हुँदै बाख्रापालनमा होमिएका उनिसङ्ग आज ब्यवस्थित संरचना र ५० वटा बाख्रा सहितको फार्म संचालनमा छ।

बाख्रा पाल्दै गर्दा त्यसबाट उत्पादित मल तह लगाउनु थियो भने घरछेउमै बाँझो बसेको जग्गाको पनि सदुपयोग गर्नु थियो उनलाइ । यस्तोमा तरकारी खेती उपयुक्त विकल्प बन्न सक्छ भनेर उनले टँडेल भित्र गोलभेडा लगायत अन्य तरकारी खेती सुरु गरे।

केही टँडेला बाट सुरु भएको तरकारी खेती आज १०२ टँडेला र करिब ३२ रोपनी क्षेत्रफलमा फैलिसकेको छ। यो एक सिजनमा मात्रै करिब २५ लाखको गोलभेडा बिक्री गरेका उनी तरकारी खेतिलाइ अझै बिस्तार गर्ने योजनामा छन् । अहिले तरकारीको अफसिजन भएकाले हामी पुग्दा अन्तिम लटको केही गोलभेडा मात्र फर्ममा देखियो भने काक्रो, फर्सी लगायत ठुलो मात्रामा भर्खरै रोपेको बिरुवा देखियो।

यसरी धेरै मात्रामा तरकारी खेती गर्दा उनलाइ बाख्राको मलले मात्र अपुग हुनगयो। त्यसैले मलकै लागीपनि उनले बिकल्प खोज्नुपर्ने भयो। यहि विकल्पका रुपमा उनले ९ वटा भैंसी पालेका छन् भने उत्पादित दूध बेच्न र अरु किसानको दूध समेत संकलन गर्न डेरि खोलेका छन् ।

१५ जनालाई प्रत्यक्ष रोजगारी दिन सफल दिपेश उनिहरुको परिवारको अनुहारको मुस्कानको कारण समेत बनेका छन् । माशिक डेढ लाख तलब उनी हरेक महिना बितरण गर्छन् ।

यो मिठो सफलता देखिरहँदा उनले झेलेका चुनौतीका गाथाहरुलाइ हामी भुल्न सक्दैनौं । एउटा खानेपानीको समेत ब्यवस्था नभएको गाउँमा ब्यक्तिगत लगानीमा खोलाको पानी तानेर उनले फार्म संचालन गरिरहेका छन् । उनले खोलाको पानी तान्न सरकारी निकायमा गरेको दुस्ख र प्रशासनले दिएको झमेला पनि रोचक छ।

कतिसम्म भने आफ्नै लगानीमा तार किनेर बत्ति जोडेर निजि लगानिको काम गर्नलाग्दा पाइप र तार समाइदेउ भन्दा स्थानीय युवाहरूले उनलाइ सहयोग गरेनन् । यति अग्लो ठाउँमा पानी तान्न खोज्नु पागलपन हो भन्दै ऊनीहरुले सहयोग गरेनन् । तर दिपेशले गरेर देखाएको यो काम आज ती युवाहरूका लागि एउटा गतिलो झापड बनेको छ।

दीपेशले भोगेको दुख सायद कमै नेपाली युवा उधमिले भोग्नुपर्छ होला। उनलाइ लगानीको लागि परिवारले साथ नदिएको मात्रै होईन । बिदेश जानेभए जतिनी लगानी गरिदिन्छु, यहाँ भकारो सोरेर बस्छस् भने १ रुपैयाँ सहयोग हुन्न भन्ने सम्मको कुरा उनले सुन्नुपर्यो। उनकी श्रीमति भने खाइरहेको जागिर समेत छोडेर हरेक दुख अनि सुखमा निरन्तर उनिसङ्गै सहकार्य गरिरहिन।

यसरी आफ्नै उत्पादन र कामको चक्र बनाइ कृषि क्रान्ती गरिरहेका उनको आम्दानी पनि त्यतिकै राम्रो छ। माशिक कम्तिमा ३ लाखको आम्दानी गरिरहेका उनलाइ ४० बर्ष माथिकाले राम्रो साथ दिइरहेका छन् भने युवाहरु अझै त्यसो गर्न सकेका छैनन् ।

बिचौलियाको समस्या हरेक नेपाली बजारमा छ भन्ने बुझेका उनले आफै बजारीकरण गर्ने गरेका छन् । दूध आफै संकलन गर्छन् भने तरकारी समेत सम्भव भएसम्म आफैले पुर्याउने गरेका छन् ।

नेपाल सरकारले कृषिमा विभिन्न अदुदानका कार्यक्रम र सहुलियतको ब्यबस्था गरेको भएपनी दिपेश जस्ता वास्तविक कृषकहरु यसबाट लाभान्वित हुन सकेका छैनन् । स्थानीय तहले ल्याएका विभिन्न कार्यक्रमहरुमा समेत पहुँचवाला र कागज मिलाउन जान्नेहरुलाइ मात्र समावेस गरिएको उनको गुनासो छ। उनले हालसालै भोगेको एउटा घटनाले नेपाली प्रशासन कति भ्रष्ट छ भन्ने प्रस्ट हुन्छ। उनलाइ गरिखानेले अनुदान नपाउने हुँदा फर्म भरेर दुख नगर्न भनिएको थियो।

स्थानीय तहका जिम्मेवार ब्यक्तिहरु फर्म टाढा भएकाले आउन नसक्ने बताउँछन्। त्यस्तै आएका टडेल प्लास्टिक लगायतका सामान आफ्ना नजिकका आसेपासे छानेर दिने गरेको उनको आरोप छ। केही समय अघि वडामा आएको बोयर बोका बितरण कार्यक्रम पनि उनी जस्ता बाख्रापालक कृषकलाइ नदिइ जनप्रतिनिधिले आफै राखेको उनको भनाइ छ।

नेपाल सरकारले तालिमको ब्यबस्था, दक्ष प्राविधिक र उचित प्रबिधीको सहयोग गरे आफुहरु देशमै सुन फलाउन सक्षम रहेको उनको भनाइ छ। त्यसका लागि वास्तविक र काम गर्ने कृषक छनोट गर्नुपर्ने उनी बताउँछन् ।

आम नेपाली युवाहरुमा श्रमको सम्मान गर्दै देशमै केही गर्ने सोच आओस् भनेर आफुले यो नमुना काम गरेको दिपेस बताउँछन् । कृषिमा लगाव दिएर काम गर्नसके बिदेशमा भन्दा धेरै यहीँ गर्न सकिने उनको भनाइ छ। ३२ बर्षमै कृषिक्रान्ती गरेर यति धेरै सफलता हात पार्न सफल दिपेशको आगामी ब्यवसायिक यात्राका लागि हाम्रो धेरै शुभकामना ।