आफ्नै गाउँमा भैँसी पालेर लोभलाग्दो सफलता हात पारेका एक कृषकको कथा


रमेश लामिछाने
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०७७
31.7K
SHARES

काठमाडौं- आज तपाईंले नेपाली टिनएजरहरुलाई भबिष्यमा के गर्छौ भनेर सोध्नुभयो भने जवाफ एउटै आउँछ:- बिदेश । गुणस्तरीय उच्च शिक्षा अध्ययनको चाहना होस् या राम्रो काम गरेर सोचेजस्तो जीवन बिताउने सोच दुबैले नेपाली युवालाई आकर्षित गरिरहेकै छ। त्यसो त मध्यम स्तरको अर्थतन्त्र हुनु र पर्याप्त रोजगारीका अवसर नहुनु पनि दिनहुँ बिदेशीन बाध्य हजारौं युवाहरूको कारण हो ।

आज हामिले यहाँ प्रस्तुत गर्ने सफलताको कथा भने एउटा यस्तो ब्यक्तिको कथा हो जस्ले अवसर नदेखेर बिदेशिने योजना बनाएका युवाहरूलाई देशमै अवसर मात्रै देखाएनन् उनीहरुको ओठको मुस्कानको कारण पनि बने। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० का भिम प्रसाद दुलाल तिनै ब्यक्ती हुन् जस्ले परम्परागत रुपमा गर्दै आएको कृषिमा परिवर्तन ल्याइ ब्यवसायिक बनाए भने त्यसैलाई आफ्नो आर्थिक स्तरोन्नतिको कारण बनाए। बिदेश जाने सोच भएका युवालाई समेत देशका विभिन्न भागमा रहेका कृषि फार्महरुको भ्रमण गराइ उनले तिनै युवाको साथ लिइ इन्द्रावती पशुपालन तथा कृषी फर्म संचालन गरे।

पारिवारिक ब्यवसायका रुपमा निर्वाहमुखी कृषि गर्दै आएको परिवारमा जन्मिएका उनी सानैदेखि पशुपालनमा विशेष रुचि राख्थे। गाई, बाख्रा, भैसी थोरै पाल्दै खेतीपाती गर्दा त्यसले छाक टार्ने बाहेक अरु केही नभएपछि उनले ब्यवसायिक पशुपालन सुरु गरेका हुन् । सुरुवात गर्नका लागि उनीसँग न ठूलो पुँजी थियो न त उपयुक्त प्राबिधिक ज्ञान नै । तरपनि केही गरिछाड्ने उनको दृढ संकल्पलाई यस्ता चुनौतीले रोक्न सकेन। अन्य एक दुई ठाउँमा फार्म अवलोकन गरेपछि उनले आफ्नै अनुभवले संरचना तयार गरे।

यसअघि गाउँमा दूध संकलन गर्ने डेरि चलाउदै गर्दा २०६७ सालतिरै उनलाइ ब्यवसायिक पशुपालन गर्नुपर्छ भन्ने सोच आएको थियो। पारिवारिक समस्याले त्यो पूरा हुन नसकेपछि उनले गाउँको दूध संकलन कार्य छोडेर मेलम्ची बजारमा त्यही काम सुरु गरे। २०७६ सालमा १२ ओटा भैसिबाट सुरु भएको फर्ममा आज ५० वटा भैंसी र ७ वटा गाई छन् । बिदेश जाने सोच भएका तिनै आफ्ना भाइ भन्जालाइ सहकर्मी बनाइ उनी आज यो फार्म संचालन गरिरहेका छन् । उनको केही बर्षभित्रै २०० भैंसी यो फार्ममा पाल्ने लक्ष्य छ।

उनले दूध संकलनको कामलाई अझैपनि निरन्तरता दिइरहेका छन् । ३ लिटर दूध संकलन गरेर सुरु गरेको यो यात्रा आज दैनिक ३००० लिटर सम्म पुगेको छ। आफ्नो डेरि ब्यवसायको यात्रालाई उनी यसरी सम्झिन्छन् । आज उनले `मिल्क चिलिङ भ्याट’ सहितको संकलन केन्द्र मेलम्चीमा संचालनमा छ भने उनले अन्य विभिन्न ठाउँबाट संकलन गरेर करिब ७५ क्यान दूध संकलन र बिक्रि गर्छन् ।