मेलम्चीको पानी: काठमाडौँको तिर्खा मेटिँदा स्थानीय व्यवसायीको भविष्य के होला? (भिडियो सहित )


रमेश लामिछाने
प्रकाशित मिति : बिहिबार, चैत्र २६ २०७७
28.4K
SHARES

तपाईँले भिडियोमा देखिरहनुभएको खोला हिजोआज चर्चामा छ। एउटा राष्ट्रिय गौरवको आयोजनासँग जोडिएको यो खोलाको नाम मेलम्ची खोला हो ।काठमाडौँको तिर्खा मेट्नका लागि सुरुङ्गमार्ग मार्फत पानी लैजाने  सपना अन्ततः पूरा भएसँगै यसको जस लिने होडबाजी नेपाली राजनीतिक वृत्तमा चलेको छ। । यो खोलाले जति खुसी काठमाडौँ बासिलाई खानेपानी बनेर आज दिएको छ त्यति नै त्यहाँका स्थानीयलाई वर्षौँदेखि  बाँच्ने आधार दिएको छ। यो खोलाको पानी लाइ सिन्धुपाल्चोकका कृषकहरूले खेतीपाती गर्न देखी मत्स्यपालन सम्मका लागि प्रयोग गर्दै आएका छन् । यही सन्दर्भमा एउटा सफलताको कथालाई फरक कोण दिँदै आज मोटिभेट न्युजले स्थानीय व्यवसायीको चासो र चिन्तालाई समेट्ने प्रयास गरेको छ।

हेलम्बु गाउँपालिका – ३, सिन्धुपाल्चोकका राजु खड्काले ट्राउट माछा पाल्न थालेको करिब १३ वर्ष भयो। आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने सोच सहित जय बागेश्वरी ट्राउट माछा तथा कृषि अनुसन्धान  प्रा.ली दर्ता गरेका उनी मेलम्ची खोलाकै पानीमा व्यावसायिक अवसर खोजिरहेका छन् । एउटा सरकारी फर्मले अनुसन्धानका लागि सुरु गरेको ट्राउट पालनलाई निरन्तरता दिँदै उनका दाइले ह्याचरी सुरु गरेपछि उनी त्यस व्यवसायतर्फ आकर्षित भएका हुन् ।

कृषिलाई नै व्यवसाय बनाइरहेका राजुलाई ट्राउट पाल्न सजिलो लागेपछि त्यसमा लागेका हुन् । त्यसबाहेक उनले यसको अपार बजार देखेर पनि लागेका हुन् ।

बिना प्राविधिक ज्ञान काम सुरु गरेका उनीहरू सानो समस्या आइपर्दा पनि त्यही सरकारी फर्म र प्राविधिक सँग परामर्श गर्न पुग्थे। उनी व्यवसाय सुरु गर्दाका दिनहरू सम्झदा भाबुक हुन्छन ।

तत्कालीन अवस्थाको राजनीतिक अस्थिरता र पहुँचको अभावले माछाको भुरा लिन समेत मन्त्रीको पावर लगाउनु परेको अनुभव उनिसङग छ।

विभिन्न आरोह अवरोह पार गर्दै आज सफल व्यवसायी बनेका राजु खड्का र अन्य स्थानीय व्यवसायीहरू अहिले भने चिन्तामा छन्। मेलम्चीको पानी काठमाडौँ जाँदै गर्दा आफूहरू पानीको अभावमा विस्थापित हुनुपर्ने हो कि भन्ने डरमा यहाँका व्यवसायीहरू छन् ।

पानी लानेप्रति आफूहरू नकारात्मक नभए पनि आफूहरूको उचित व्यवस्थापन राज्यले गरिदिए लामो समयदेखि गर्दै आएको व्यवसाय छोड्नु पर्दैन थियो भन्ने उनीहरूको आशा छ। विभिन्न आरोह अवरोह पार गर्दै आज विस्तारित बजार बनाउन सफल उनीहरू त्यो बजारबाट प्रतिफल लिन नपाइने हो कि भन्ने त्रासमा पनि छन्।

अहिले त्यहाँका स्थानीय व्यवसायी आफूलाई चाहिने माछा भुरा आफैँ उत्पादन गरिरहेका छन् ।

२ जनालाई प्रत्यक्ष रोजगारी दिन सफल राजुको परिवारले पनि यही फर्ममा रोजगारी पाइरहेको छ। उनले अरू व्यवसायीलाई पनि दाना लगायत सामान ढुवानी र बजार व्यवस्थापनका लागि सहयोग गर्दै आएका छन् ।

हाल ५-६ टन माछा वार्षिक उत्पादन गर्दै आएका राजुको आम्दानी सन्तोषजनक छ भने उनी आफूलाई यही कारण बिदेसिनु नपरेको धारणा राख्छन् ।

नेपालीहरूमा देखिएको विभिन्न रातो मासु खान नमिल्ने रोग र अन्य विविध कारणले ट्राउट माछाको बजार अझै बढ्दै गएको राजु बत्ताउँछन् । त्यसबाहेक यसका अन्य विशेषता र फाइदाहरु पनि छन् ।

यो सफलताको कथा हेर्दै गर्दा तपाईँलाई पनि ट्राउट माछा पाल्न र व्यवसायी बन्न मन लाग्यो? तपाईँलाई सहयोग होस् भनेर हामीले नयाँ कृषकले के गर्ने भनेर राजुलाई प्रश्न गरेका छौँ ।

१०००० भुरा राख्नका लागि संरचना सहित करिब ७ लाख सुरुवाती लगानी गरेका उनी अहिले भने कम्तीमा १५ लाखको लगानी गर्नुपर्ने अनुमान गर्छन् । उनको यो लामो अनुभवले ट्राउट माछा पालन गर्ने कृषकलाई विभिन्न अवसर र चुनौती देखेको छ।

नेपाल सरकारले दिएको अनुदान र तालिमको थोरै भएपनी हिस्सा बन्न उनी सफल भएका छन् । सरकारले दानामा अनुदान दिन सके र बजारको उचित व्यवस्थापन गर्न सके कृषकहरू धेरै लाभान्वित हुने उनको भनाइ छ।

निरन्तर रूपमा एउटै काम गर्ने र त्यसलाई बिस्तार गर्दै व्यावसायिक बनाउन सक्ने हो भने नेपाली युवाहरू विदेश जानुपर्ने अवस्था नरहेको राजुको भनाइ छ। निर्वाहमुखी कृषिबाट माथि उठ्दै काम गर्न सके नेपाल छिटै समृद्ध हुनसक्ने उनी बताउँछन् ।