कृषि अनुदान पाउने फर्म झोलामा, वास्तविक किसानको उत्पादन खोलामा …


रमेश लामिछाने
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७
30.3K
SHARES

कृषि क्षेत्रमा पछिल्लो समय युवा आकर्षण बढ्दो छ। विदेश पुगेर ज्ञान सीप हासिल गरी फर्केका हुन् या देशमै केही गर्ने सोच राखेकाहरू, युवाहरू कृषिमै रमाइरहेका छन् । त्यसो त पर्याप्त प्रविधि र आधुनिकीकरणको अभावमा यसबाट निराश हुँदै पलायन हुनेको सङ्ख्या पनि कम भने छैन।

मुलपानी गोठाटार स्थित एउटा कृषि फर्ममा रिपोर्टिङका क्रममा हामीले भेटेका केही युवायुवतीले भने कृषिमा लगाव हुने हो भने थुप्रो गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।यसरी रमाइ रमाइ काम गरिरहेका युवायुवतीहरू कहाँबाट के उद्देश्यले आए होलान् भनेर हामीलाई जान्न मन लाग्यो। त्यसैले उनीहरू काम गर्दै गर्दा हामीले उनीहरूलाई सोधेका छौँ ।

यी युवायुवतीहरू एउटै फार्ममा  फरक फरक ठाउँमा बसेर काम गरिरहेका छन् । यी कलिला हातहरू जति ऊर्जावान् बनेर आज चलेका छन् त्यतिनै  सुन्दर सपनाहरू भबिस्यका लागि साँचेका छन् । ६ महिने सिकाइका लागी यहाँ आएका यी युवायुवतीलाई सिकाउने जिम्मा पाएको कृषि फर्मको आफ्नै खाले कथा र व्यथा छन् ।करिब ४२ रोपनीमा फैलिएको यो कृषि फर्मको व्यावसायिक सङ्घर्ष र सफलताको  कथा आज तपाईँहरूका लागि।

दोलखा बैत्यश्वरका रामशरण दाहाल र उनको कृषि समूह देशमै कृषिमार्फत समृद्धि खोज्न सकिन्छ भन्नेमा विश्वस्त थियो। गाउँमा अलैँची खेती गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सुनेका उनीहरू त्यसले आम्दानीको साटो नोक्सानी दिएपछि सुन्दर सपनारूपी अलैँचीका बिरुवा खोलामा बगाएर काठमाडौँ छिरेका हुन।

यो बिरानो सहरमा न त उनीहरूले गर्न सक्ने कुनै काम थियो न त ठुलो लगानी । आफूले जानेको काम कृषि भएकाले त्यसमै काम गर्ने सोच बनाएका उनीहरूले हाल फार्म रहेकै ठाउँमा कृषि फार्म बिक्रीमा रहेको जानकारी पाए। र त्यहीँबाट सुरु भयो उनीहरूको व्यावसायिक कृषिको यात्रा ।

काम सुरु गरेपनी व्यावसायिक रूपमा कृषि गर्नका लागि चाहिने आवश्यक प्राविधिक ज्ञान उनीहरूसँग थिएन । त्यस्तै आफ्ना उत्पादनलाई कसरी कुशल बजार व्यवस्थापन गर्न सकिन्छ भन्ने सिपपनी नहुँदा सुरुवाती दिनहरू केही चुनौतीपूर्ण बनेपनी यो समूहले त्यसबाट पार पाउन उपयुक्त उपाय निकाली छोड्यो।

हाल व्यवस्थित संरचनासहित विशाल क्षेत्रफलमा फैलिएको यो कृषि फर्ममा विभिन्न विभागहरू छन् । गाई, च्याउ र हरियो तरकारी गरी ३ वटा विभागहरू सक्रियतापूर्वक आ(आफ्नो भूमिका निभाउन क्रियाशील छन् ।

नेपाली कृषि उद्यमीहरूको सबैभन्दा ठुलो समस्या बनेको बजार र बिचौलियाको समस्याबाट उनीहरू पनि अछुतो रहन सकेका छैनन् ।  दश नङ्ग्रा खियाएर आफूले फलाएको उत्पादनमा आफूले भन्दा बढी अरूले कमाउँदा को खुसी हुन सक्ला र?

बजारको समस्याले उनीहरू कति प्रताडित छन् भने केही समयअघि लागत भन्दा कम बजार मूल्य भएपछि करिब ६० क्रेट टमाटर उनीहरू बाटोमा फाल्न बाध्य भए।

त्यसरी पोख्नुको साटो बजार नपाउँदा त्यसलाई प्रोसेसिङ गरेर वैकल्पिक प्रयोग गर्न किन सकिएन भन्ने हाम्रो प्रश्नमा उनको जवाफ कारुणिक  छ।

हाल बजारकै कारणले आम्दानी र लगानी लगभग उस्ता उस्तै हुँदा यति ठुलो कृषि फार्म चलाएपनी उनीहरूले खासै ठुलो आर्थिक प्रगति गर्न सकेका छैनन् भने जसो तसो  फार्मलाइ टिकाउने मेलोमा उनीहरू अहिले छन् ।

नेपाल सरकारले दिएका विभिन्न सेवा सुविधा र अनुदानहरूका लागि निरन्तर प्रयास गरिरहेको भए पनि   उनीहरूले आजसम्म त्यस्ता कुनै कार्यक्रमहरूमा सहभागी हुन पाएका छैनन् । आफूहरूको पहुँच नपुगेको र कागज मिलाउनेले मात्र पाउने देशमा त्यसो गर्न नसकिएकोले सायद त्यसो भएको उनको भनाइ छ।

नेपाल सरकारले वास्तविक किसान पहिचान गरेर सही काम गर्नुपर्ने उनको भनाइ छ। कहाँका किसानलाई के समस्या छ भन्ने कुरा सरकारले साँच्चै चाहने हो भने सजिलै गर्न सक्ने उनको भनाइ छ। उनी नेपाल सरकार लाई कृषिको विकासका लागि यी सुझावहरू दिन चाहन्छन् ।

आम नेपाली युवाहरूलाई आफ्नो फार्म सञ्चालक टिममा पनि युवाहरू नै रहेको भन्दै दीर्घकालीन काम गर्नका लागि देशमै केही गर्ने सोच बनाउने हो भने यहीँ गर्न सकिने हुँदा दृढ इच्छाशक्ति लिएर काम गर्न उनी आग्रह गर्छन् ।

यति ठुलो फार्म सञ्चालन गरी देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन सफल कृषकहरूलाई बचाउन नेपाल सरकारले समयमै उपयुक्त कदम चाल्ने हो भने अरू थप कृषकले खोलामा अलैँची बगाउने अनि बाटोमा टमाटर पोख्ने काम गर्नु पर्ने थिएन कि?