अस्पतालमा बेड नपाए के गर्ने ? डा. रवीन्द्र पाण्डेको सुझाव


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८
20.1K
SHARES

काठमाडौं – दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने गरेको छ । यही कारणले यति बेला सबै अस्पतालमा विरामीको चाँप अत्यधिक छ । यो बेला बेड पाउन निकै कठिन भएको छ । पिसिआर पोजिटिभ आएका तथा अक्सिजनको मात्रा ९० बाट पनि घटेका व्यक्तिलाई १ मिनेट पनि घरमा बस्नु वा बस्नदिनु हुँदैन । जति सक्दो चाँडो नजिकको अस्पतालको फिभर क्लिनिकमा फैजानुपर्दछ । फिभर क्लिनिकमा चिकित्सकको जाँच, एक्सरे आदी हुन्छ भएपछि भर्ना हुने अवस्था भएमा उक्त अस्पताललाई नै बेड खोज्नको लागि अनुरोध गर्नुपर्दछ ।

उपरोक्त अस्पतालमा बेड नपाएमा आफै अस्पताल खोज्दै भौतारिनु हुँदैन । त्यहाँ रहेको ट्रली, कुर्सि, चौर, बरण्डा जहाँ भएपनि बसेर उपचार सुरु गरिहाल्नुपर्छ । अस्पतालमा बेड प्याक हुने र खाली हुने क्रम भइरहेको हुन्छ । कहिलेकाँही केही घण्टा असजिलो अवस्थामा बसेर प्रतिक्षा गर्दा बेड पाउने सम्भावना बढी हुन्छ । ट्रली वा कुर्सीमा बसेर उपचार गरेको बेला गाह्रो भएमा अस्पतालले आकस्मिक उपचार गर्दछ वा आफै बेड खोजेर अर्को अस्पतालमा पठाउँछ ।

आइसीयुमा बस्नुपर्ने अवस्था भए उपरोक्त अस्पतालले या आइसियुमा एडजस्ट गर्छ या अर्को अस्पतालमा आइसीयु खोजेर पठाउँछ । यही बीचमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका हटलाइन तथा फोन नम्बरमा सम्पर्क गरेर बेडको खोजि गर्न सकिन्छ ।

यस्तो बेलामा उच्च मनोबलले निकै काम गर्छ । धेरै बिरामी भुईमा सुतेर भएपनि उपचार सुरु गरेर निको भएर फर्किएका छन् भने कतिपय बिरामी आरामदायी बेडको खोजीमा भौतारिदा जीवनलीला समाप्त गरेका छन् । जीवन बच्यो भने घरकै आरामदायी बेडमा सुत्न पाइन्छ ।

आफूले चिनेका अस्पतालका स्टाफ, आफ्ना जनप्रतिनिधि वा अन्य व्यक्तिसँग सम्पर्क गर्दा पनि बेड पाउने सम्भावना हुन्छ । अस्पतालको फिभर क्लिनिकमा उपचाररत भएर यी उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ । गाह्रो भएको बेला सुरुमै घरबाट फोन गरेर बेड पाउने सम्भावना कम हुन्छ । विषम परिस्थितिमा अप्ठ्यारो भोगेर भएपनि उपचार पाइन्छ भने यो विकल्पलाई कहिल्यै पनि नजरअन्दाज गर्नुहुँदैन ।

अस्पतालमा गएका हरेक बिरामीलाई आफ्नो समस्या सबैभन्दा ठूलो र महत्वपूर्ण लाग्छ । सबै चिकित्सक तथा नर्सले आफूलाई मात्र ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ । चिकित्सक तथा नर्सको फोकस गम्भीर बिरामीमा हुन्छ । त्यसैले, तपाईलाई कम महत्व दिनुको अर्थ तपार्इको अवस्था खतरा छैन भनेर पनि बुझ्नुपर्दछ । आफूलाई समस्या परेमा स्पष्ट रुपमा स्वास्थ्यकर्मीलाई बताउनुपर्दछ । शालीन ढंगले आफ्नो समस्या राख्दा राम्रो उपचार पाउने सम्भावना बढी हुन्छ ।

सबैभन्दा ठूलो कुरा त मनोबल नै हो । म अस्पतालमा छु, छिटोढिलो उपचार पाउँछु, बेड पनि पाउँछु र सन्चो भएर घर फर्किन्छु भन्ने तीब्र इच्छाशक्तिले तपार्इलाई बचाउने छ ्र कतिपय बिरामी धेरै आत्तिएर पेनिक एट्याक हुन्छ । यस्तो अवस्थामा कोभिडको कारणले भन्दा पनि आत्तिनुको कारणले स्वास्थ्य जटिल हुन्छ । एक सर्को सास बाँकी छउन्जेल आत्मबल कायम रह्यो भने त्यहि एकसर्को सासले हामीलाई जीवनको सुन्दर बिहानीमा पुर्याउँछ । आत्मबल कमजोर भएमा स्वास्थ्य राम्रो भएपनि आकस्मिक घटना घट्न सक्दछ ।

तसर्थ उपचार र आत्मबल एकै सिक्काका २ पाटा भएको तथ्य कहिल्यै बिर्सिनु हुँदैन । कहिल्यै पनि आत्मबलभन्दा रोग ठूलो हुँदैन ।

डा. पाण्डेको फेसबुक वालबाट साभार ।