कोरोना र अहिलेको मान्छे (कविता)


- ओम आचार्य
प्रकाशित मिति : शनिबार, जेष्ठ १ २०७८
11.6K
SHARES

पहिला पहिला मलाई भिड मन पर्थ्यो
भिडमा रमाउँथे
भिडमा सुरक्षित महसुस हुन्थ्यो

बस्ती मन पर्थ्यो
र बस्तीका मानिसहरू मन पर्थ्यो
र ती मानिसहरूमा
घुलमिल हुन आनन्द लाग्थ्यो

जुलुस र नारा मन पर्थ्यो
सून्य त मृत्यु लाग्दथ्यो

अहिले मलाई
त्यही शून्य मन पर्छ
एकान्त र
सून्य नै जीवन लाग्न थालेको छ

भिड देखी टाढा र
भिड डर लाग्न थालेको छ
जुलुस नारासँग उच्चाटन हुन थालेको छ
बस्ती बस्तीका मानिसहरू पनि
मान्छे देखी मान्छे टाढा हुँदै

अहिले
घर भित्रै आनन्द र सुरक्षित
महसुस हुन थालेको छ
अहिले मान्छे देखि मान्छे
मान्छे टाढा हुन थालेको छ ।