राजनीतिक विकृतिको प्रणेता केपी ओली


ओम आचार्य
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
9.9K
SHARES

लखेक विश्लेषण ओम आचार्य

कला हुनु पर्छ । मान्छे आफै आफ्नो इतिहास बनाउँछ। इतिहास पनि शुभ र प्रेरणादायी । श्री कृष्ण भगवान् सँग १६ कला थियो। १६ कलाको त कुरै छोड्नुहोस् नारायण गोपालसँग त यौटै कला थियो गायन कला।  त्यही कलाले स्वर सम्राट् नारायण गोपाल बने। लक्ष्मी प्रसाद देवकोटासँग कवित्व कला थियो।  त्यही कलाले लक्ष्मी प्रसाद देवकोटा महाकवि बने ।

विश्वको राजनीतिक इतिहासमा सामाजिक, सांस्कृतिक इतिहासमा जति पनि अमर र युग पुरुष भएका छन् ती सबैमा कुनै एक कला अवश्य थियो ।

नेपालको राजनीतिक इतिहासमा अहिले पछिल्लो समय अर्थात् वर्तमान प्रधानमन्त्री केपी ओलीमा त्यस्तो के कला छ ? जसले नेपाली जनताले स्मरण गरिरहनु परोस् । मैले आफ्नो मस्तिष्कमा धेरै जोड दिएर सोचे, त्यस्तो कला केही देखिन जसबाट इतिहास प्रेरणादायी स्मरण योग्य होस । नेपाली जनताले प्रधानमन्त्री ओली बहाल भए देखी अहिले सम्म गरेको व्यवहार व्यक्त गरेको बिचार र अभिव्यक्ति फिल्म हेरे जस्तो धाराप्रवाह आयो स्मरण गर्न ऐतिहासिक योग्य पुरुष त्यस्तो चरित्र केही पाइन । सञ्चार माध्यम र सञ्चार कर्मीहरूबाट पनि युगान्तकारी पुरुषको रूपमा कहिले पनि चित्रित गरिएन ।

र पनि प्रधानमन्त्री केपी ओलीसँग एउटा कला अवश्य थियो त्यो हो उखान टुक्काको । देशको प्रधानमन्त्रीमा यो कलाले कुनै तात्त्विक महत्त्व राख्दैन बरु यो कला स्वयं मा व्यङ्ग हुन थालेको छ ।

केपी ओली प्रधानमन्त्रीमा बहाल भए देखी नै उहाँमा राजनैतिक शक्तिको वासना पलाउन थाल्यो । र त्यही शक्ति वासनाले धेरै राजनीतिक विकृतिहरू मौलाउँदै गए । उहाँले गृह, अर्थ लगायतका केही मन्त्रालयहरूको विभाग आफ्नै मातहतमा राख्नु।  अध्यादेशबाटै मुलुक चलाउनुहुँदैछ, दुई दुई पटक संसद विघटन गर्नुभयो समग्रमा भन्ने हो भने मुलुक चलाउने सिस्टम पद्धति विधि तहसनहस गर्नुभयो ।

मुलुकको संविधान नाम मात्रैको संविधान भयो। संविधान बमोजिम मुलुक चलेको नै छैन। संविधान बमोजिम चलाउन चाहनु भएन । सरकार निर्माणको सन्दर्भमा अहिले जसरी गृहमन्त्रीको नाम सामाजिक सञ्जालमा आइरहेको छ त्यो पनि गणतन्त्र समाप्त गर्ने रणनीतिका रूपमा बुझ्दा हुन्छ।

राजनीतिक दलहरू टुक्र्याउने रणनीति

माओवादी पाटी र नेकपा एमाले एकीकृत भई नेकपा बन्यो र यो उहाँकै प्रधानमन्त्री कालमा टुक्रियो र पुन एकीकरण पूर्वको अवस्थामा पुग्यो।  त्यति मात्रै हैन नेकपा एमाले भित्रकै वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका धेरै साथीहरू अहिले उहाँको कोपमा परेर मातृ पाटीबाट अलग भयो।

आफ्नै पाटी भित्र यती ठुलो विसङ्गति र विकृति पसाउनु भयो र विसङ्गति विकृति पसे सँगै धेरै को बहिर्गमन पनि भयो । आफ्नो पार्टी टुक्राउनु  त भयो भयो जसपा भित्र पनि त्यही एमालेकै जस्तो अवस्था सिर्जना गरेर एक अर्कालाई सिद्ध्याउने, कार्यवाही गर्नेसम्म पुर्‍याएर पार्टी नै टुक्र्याउने अवस्थामा पुग्यो ।

नेपाली काँग्रेस पनि त्यो अवस्थाले प्रवेश गर्न खोजे पनि अवस्थाले सफलता पाएको छैन कदाचित एमाले र जसपा जस्तै रोग यदि काँग्रेसमा संक्रमण भयो भने मान्नुस् गणतन्त्रको लागी त्यो भन्दा ठुलो चोट केही हुँदैन ।

प्रजातन्त्रमा जति राजनीतिक दलहरू सक्षम सबल र सङ्गठित हुन्छन् त्यो देशको राजनीति त्यति नै स्वास्थ्य रहन्छ त्यति नै प्रजातन्त्र सुनिश्चित रहन्छ र त्यति नै हक अधिकार र स्वतन्त्रता बलियो रहन्छ ।