लघुकथा : ‘मेरो कलममा रगतको छिटा नपरोस्’


प्रेमकृष्ण श्रेष्ठ
प्रकाशित मिति : बिहिबार, असार ३ २०७८
8.8K
SHARES

काठमाडौँ – राजन राजधानीको एक चर्चित पत्रिकामा सम्पादन गथ्र्यो । पेशाप्रतिको इमान्दारिता उसको नसै नसामा सवार थियो । सत्यतथ्य संपे्रषण गरी पाठकको दिलमा राज गरेको ऊप्रति पाठकको विश्लेषण यो थियो कि—कस्तो निडर सम्पादक ! बीस बर्ष लामो अन्तरालको पत्रकारितामा उसको कलम कैले डगमगाएन । असत्यले मलाई मार्छ भने मारोस केही छैन, तर सत्य बाहिर आउनु पर्छ भन्ने उसको सिद्धान्तबाट शहरका गुण्डा, गुण्डाहरुलाई संरक्षण दिने नेताहरु त्रसित थिए । यस्तो निडरता र स्वच्छ पत्रकारिताको कारण धेरै ठाउँबाट धम्की ओइरिएका थिए । कसैको धम्कीलाई वास्ता नगरी, आफ्नो कलममा अविरल यात्रा गरिरहन्थ्यो । आफ्नो दश जोड दुई पढ्ने छोराको उमेर बरावरको एउटा फाउन्टेन पेन उनको कमिजको खल्तीमा सँधै स्वाभिमानी टाउको उठाएर बसिरहन्थ्यो ।

उसको स्वाभिमानलाई नजिकबाट बुझेर हो कि त्यस कार्यालयका पत्रकारहरु सवै स्वाभिमानी थिए । राजन सरको कार्यालयमा काम गर्ने पत्रकारहरुले जीवनमा त्यति धन त कमाउन सकेनन् । उनीहरुले कमिज मैलै लाए तर आदर्शको पूँजीले आफूलाई सम्पन्न बनाए । बजारमा त्यस पत्रिकाका वारेमा सकरात्मक हल्लाहरु चलेको थियो । पत्रिका भनेको यस्तो पो हुनुपर्छ, कति पनि दलगत छैन, कति निष्पक्ष छ, आदी, इत्यादी ।

किरण त्यस पेपरको उपसम्पादक थियो । किरणले राजनको सम्पादनमा सहयोग मात्र गरेनन्, उसको अनुहारको तनावका रेखाहरु पनि पुछ्दै आएका थिए । राजन सरलाई आउने टेलिफोनका धम्कीहरुमा किरण जानकार थिए किन भने प्रायजसो ती धम्कीहरु उनकै मुखेञ्जी आउँथे । सम्पादक राजनको अनुहार प्रायसँगको साक्षात्कारमा हँसिलो नै बन्थ्यो तर कहिलेकाही निराश बनेको टेलिफोन– वार्तामा ‘कस्को फोन सर ?’ भनेर सोध्दा ‘टेलर’को भनी विनोदपूर्ण छोटो जवाफ दिन्थ्यो । के भन्यो त सर भनेर दोस्रो प्रश्न सोध्दा ‘को टेलर हो कुन्नी, कति मिटरको कात्रो बुनुँ भनेर पो सोध्छ बा’ भनेर मरीमरी हाँस्थ्यो । बाहिर स्वतन्त्र त्यसरी हाँसे पनि ऊ भित्रको गहिरो पीडा मापन गर्न सकिन्थ्यो । किनभने हाँसेर पनि कलमलाई बेसकन निमोठने उसको अभ्यासमा उसको पीडा नबोल्दै छताछुल्ल हुन्थ्यो ।

एक रातको कुरा हो । यस्तै एघार बजेको होला । सम्पादक राजनको मोवाइलमा कसैको फोन आउँछ । उताबाट एउटा आवाज सुनिन्छ–‘सम्पादक महोदय ! आफ्नो घाँटीलाई बिचार नगरी धेरै निडरतापूर्वक समाचार लेखिस् । हामीले तेरो नाबालिग छोरोलाई बालिग हुनसम्म सहेर बस्यौ । अव सहन सक्दिनँ किनभने तेरो छोरोको खुट्टा दरिला भइसकेका छन् । आज तेरो जीवनको अन्तिम रात हो । आउँदाखेरि अन्तिम इच्छा पुर्याएर आउनु ।’

अरु बेलाको धम्की भन्दा आज किन किन राजन सरको अनुहार विकृत भयो । उसको निधारबाट पसिना खलखली चुहे । डर र त्रासले उमालेको पसिना पिउँदै को होस् त ? को होस् भन्दै बोलिरहयो । राजन सरको यस्तो विकृत अवस्था देखेर किरण पनि निराश बने । एकक्षण वातावरण मौन बन्यो । एक गिलास पानी टेबुलमा राखेको सिनितै पिए पछि कहाँदेखिको एक मुठी साहस निचोरेर राजन सरले बोल्यो–‘डर र धम्कीमा म कैले विचलित भइनँ किरण । आज किन किन मलाई जीवनमा पहिलोपटक धम्कीबाट डर लाग्यो । हेर न बाहिर कस्तो अँध्यारो छ । एउटै तारा पनि देखिँदैन । फेरि लोडसेडिङ्ग पनि ।’

सरको यस्तो कुरा सुनेर किरणले भने — ‘उसो भए आज राति घर नजानुस् । यहीँ हरिकृष्णको सिरकलाई भागबण्डा लगाऔँ ।’ त्यस कार्यालयमा काम गर्ने चौकिदारलाई इंकित गरी बोल्यो । ‘होइन म आज जानुपर्छ किनभने मेरी बुढि आमाको बर्थडे हो आज । साँच्चै किरण, तिमीसँग मैले यति लामो समय सँगै काम गरेर पनि केही उपहार दिन सकेको छैन । आज तिमीलाई म एउटा विशेष उपहार दिन्छु ।’ यसो भन्दै आफ्नो खल्तीको अति प्रितिकर कलम झिकेर किरणलाई सुम्पयो – ‘मेरो रगतको यसमा छिटा नपरोस ! यसलाई हुर्काउन्े अव तिम्रो जिम्मेवारी किनभने यो मेरो सन्तानजतिकै प्रिय हो ।’ यसो भन्दै राजन सर सरासर अगाडी बढ्यो । रातको निष्पट्ट अँध्यारोमा आफ्नो शरीर बिलाइदियो ।

समय बित्छ । नयाँ— नयाँ टाउकाले काठमाडौँ शहर भरिएको छ । नयाँ जीवन र नयाँ संघर्षले काठमाडौँको कोलाहल झन थपिएको छ । आज किरणले आफ्नो हराएको कलम कान्छो छोराको कोठाबाट बरामद गरेका छन् । रिसले आगो बनेका उनले कान्छो छोराको गालामा एक चड्कन जडेर बोले — ‘कलम हरायो भनेको तँ गधा तैले पो चोरेको रैछस् हैन ?’ डरले नीलो बनेको छोरो क्वाँ – क्वाँ रोएर आँसुले सजायँको माफी मागिरहेको हुन्छ । कान्छो छोराको रंगिएको गालामा सहानुभूतिको हात सुम्सुमाउँदै श्रीमती बोल्छिन् — ‘कोठाँ त्यत्रा कलम छन् । त्यही कलम प्यारो भयो हैन तपाईलाई ? के छ त्यो कलममा ?’

‘यो अरु कलम भन्दा फरक छ किनभने यो सम्पादक राजनको कलम हो ।’ यसो भन्दै उनले बागमती पुलमा दश बर्ष अघि रगतले लटपट भएको लासलाई सम्झयो । रिसले आगो बनेका श्रीमती र छोरा कोठाबाट बाहिरिपछि उनले त्यो कलम बडा प्रितिले छातीमा अँगाले र छातीबाट एक संवाद उम्लियो – कलमवीर मरेर कलम कैले मर्दैन । किनभने कलमलाई धारण गर्ने यहाँ कोही न कोही आइरहन्छ । भोलि म पनि कुनै अनजान पुलमा रगतले लटपट भएर झुल्न सक्छु । समयले त्यो रगतको टाटोलाई पखालिदेला, किनभने रगतको टाटो भितेपात्रोमा अंकित हुने चिज होइन । त्यो बेला बाँकी रहन्छ, यही एक कलम, यो कलमलाई म किन प्यार नगरुँ ? उनले कलमलाई छातीबाट छुटकारा दिई ओठमा पुरयाइ प्रितालुु चुम्वन जडे र बोले—जय कलम ! र मानसपटलमा आयो राजन सरको अन्तिमा बोली–मेरो कलममा रगतको छिटा नपरोस् ।