कर्मचारीलाई बोनश बाँड्न ३ अर्ब ४७ करोड, जनताको ढाड सेक्न मूल्य वृद्धि


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असार १० २०७८
46.4K
SHARES

काठमाडौं – नेपाल आयल निगम नेपालको सबैभन्दा धेरै नाफा कमाउने सरकारी संस्थान हो । गत वर्ष २०७७ मा १२ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएर नेपाल विद्युत प्राधिकरणलाई समेत उछिनेको थियो ।

तर निगमले आज भोली संस्थान घाटामा जान लाग्यो भनेर विज्ञप्ति निकाल्दै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिरहेको छ । निगमले हरेक १५र१५ दिनमा २ रुपैयाँका दरले मूल्य बृद्धि गरेर जनताको ढाड सेकिरहेको छ ।

निगमले अघिल्लो पटकको लकडाउनमा नियमित रुपमा हुने मूल्य समायोजन गरेको थिएन । किन भने त्यतिवेला विश्वबजारमा कच्चा तेलको मूल्य इतिहासकै सबैभन्दा कम बिन्दुमा झरेको थियो । मूल्य समायोजन गर्दा घट्नुपर्ने भएकाले नेपाल आयाल निगमले बदनियतपूर्ण रुपमा मूल्य समायोजन गरेन ।

तर, अहिले भने निषेधाज्ञाको समयमा निगमले चार पटक मूल्य समायोजन गरिसकेको छ । २०७८ साल बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा लकडाउन भयो । लकडाउन पश्चात निगमले पहिलो पटक बैशाख १९ गते मूल्य समायोजन गर्यो । दोश्रो पटक जेठ २ गते मूल्य बढायो भने तेश्रो पटक जेठ २२ गते । असार ९ गते अन्तराष्ट्रिय बजारमा कज्जा तेलको मूल्य बढेको र नेपालको रुपैयाँ अमेरिकी डरलभन्दा धेरै अबमूल्यन भएको भन्दै चौथो पटक मूल्य बढायो ।

लकडाउनका बेला निगमलाई पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा र मटितेलमा ५५ रुपैयाँ ३५ पैसासम्म नाफा भएको थियो । निगमले त्यही समयमा करिब ३ अर्ब भन्दा बढी नाफा कमाएको थियो । विश्व बजारमा लगातार मूल्य घटिरहँदा पनि निगमले नेपालमा खपत कम भएको कुतर्क गर्दै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको थिएन ।

विश्व बजारमा तेलको भाउ घटेको बेला नबढाएको निगमले बढ्दै गएपछि पुरानो मूल्यलाई आधार मानेर मूल्य बढाउँदै लग्यो । लकडाउन खुलेपछि चहलपहल बढ्यो । कमाई पनि राम्रो भयो । राम्रो आमदानी भएपछि कर्मचारीका लागि १७ करोड ४२ लाख बोनस पनि छुट्यायो । अहिले निगमको खातामा करिब ३ अर्ब ४७ करोड ३२ लाख रुपैयाँ बोनस रकम थुप्रिएर बसेको छ ।

संस्थान घाटामा हुँदा पनि बोनश खाने संस्थाको रुपमा परिचय बनाएको निगमले पछिल्लो पटक मूल्य बढाउनुको मुख्य कारण सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचनका लागि खर्च जुटाउन रहेको उपभोक्ताको गुनासो छ । आगामी निर्वाचनमा जसरी हुन्छ बहुमत ल्याउने महत्वकाँक्षा पालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पैसा चाहिएकाले मूल्य बृद्धि गरिएको होे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७५ पुसमा सीए सुरेन्द कुमार पौडेललाई आयाल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । यसअघि उनी उदयपुर सिमेन्ट उद्योगमा कार्यरत थिए । त्यहाँ पनि व्यापक अनियमिताको आरोप उनीमाथि लागेको थियो।