कथा : म पनि भर्जिन होइन


प्रेमकृष्ण श्रेष्ठ
प्रकाशित मिति : शुक्रबार, असार ११ २०७८
17.4K
SHARES

काठमाडौँ – बिवाहको पहिलो रात थियो । मागी विवाह भएकोले, पतिको शील स्वभाव के कस्तो होला भनी ओछयानमा एक्लै बसिरहेकी आस्थाको मनमा प्रश्नले परेड खेल्दै थियो । श्रीमानको वारेमा उनलाई केही पनि थाहा थिएन । सौतेली छोरीलाई विवाह गरी अन्माएर सौतेली आमाले कर्तब्य मात्र पुरा गरेकी थिई । यसैकारण त, उनले सुहागरातमा आफ्नो स्वर्गीय आमालाई खुब सम्झिन् ।

कास, आज आमा भएकी भए यस्तो दिन त आउने थिएन भनेर खुइयय सुस्केरा हालिन् । पति जस्तै होस् अव कर्म सम्झेर भोग्ने भन्दै भित्रभित्र अठोत गरिन् । सोचिरहेकै बेला, उनको मुटुको ढोका ढकढकाउँदै, श्रीमानको विस्तारै कोठामा प्रवेश भयो । प्रवेश भएको केही समयमै श्रीमानले दराजबाट सेतो तन्ना निकालेर, गुलाफी तन्नामाथि ओछयायो । हेर्दा हेर्दै उनको पाउमा फुलिरहेका गुलाफहरु कता बिलाए, कता । नवदुलही भएकीले उनले केही पनि बोलिनन् ।

सेतो तन्ना ओछयाइसकेपछि एक शब्द पनि नबोली, छेउ आएर, उसले आस्थालाई गर्लम्म अँगालो मार्यो । श्रीमानको यौनपिपासु बाजुभित्र उनी यसरी कुच्चिइन् मानौ उनी बजारबाट भर्खरै खरिद गरील्याएको भोगविलासको साधन हो । निसासिएर, अँगालोभित्र आस्थाको सजिवता चलमलायो । त्यसपछि सेतो तन्नामाथि आस्थालाई ओछयाएर, श्रीमानले माथिदेखि तलसम्म गिद्धको आँखा सापटी लिएर नियाल्यो ।

आस्था श्रीमानको यस्तो नजरले निकै डराइन र काँपेको स्वरमा सोधिन, ‘ यसरी हजुरले ममा के हेर्नु भएको ?’
श्रीमानले अधकसाथ सोध्यो, ‘के तिमी भर्जिन हौ ?’
‘मेरो कुमारित्वमा कुनै शंका छ ?’

‘पहिलो सेक्सपछि भर्जिन हो, होइन यो सेतो तन्नाले प्रमाणित गर्छ । सेतो, रातो भयो भने भर्जिन हो, भएन भने होइन । हेर तिमी भर्जिन भइनौ भने म तिमीलाई राख्दिन् ।’

यति भन्दै श्रीमानले उस्को शरीर भररात भोग्यो । अन्त्यमा थाकेर चुर श्रीमानले सेतो तन्ना ओल्टाइ पल्टाइ हेर्यो । तन्ना राताम्ये थियो । तन्नामा लटपट रगत हेरेर एउटा शंकालु पुरुषभित्रको दैत्य हाँस्दाखेरि, पृथ्वीमा अलिअलि उज्यालो पोखिसकेको थियो ।

त्यसपछिको कैयन रातमा पनि सेक्स गर्नुृअगाडि श्रीमानले सँधै सोध्ने गथ्र्यो– के तिमी भर्जिन हौ ? आफ्नो कुमारित्वको सफाइ दिँदादिँदै उनी कहिले चुम्वनको नाममा चुरोटको गन्धमा निसासिन्थ्यो त कहिले रक्सीको गन्ध उस्को फोक्सोसम्म हवास् पोखिन्थ्यो । असहज परिस्थितिमा पनि सहजताको अभिनय गर्दै उनी श्रीमानको भोगवस्तुको साधन बन्दै गइरहेकी थिइन् ।

उनको श्रीमानले उनलाई जीवनमा सबै भन्दा बढी सोधेको प्रश्न रहेको थियो—के तिमी भर्जिन हौ ? ‘हो म भर्जिन हुँ’ सयौपटक भन्दा पनि उनको चरित्रमा पतिको यो हिलो छप्याइ किन ? उनी आफैलाई प्रश्न गरी घण्टौ रुन्थिन् ।

वास्तवमा भन्ने हो भने उनको शरीर कुनै परपुरुषले छोएको पनि थिएन । उनी पुरुषहरुबाट विगतदेखि नै अलि टाढा नै थिइन् । एक रात त शरीरको एक घाउको निसानीलाई छुँदै श्रीमानले तिमी भर्जिन हुँदै होइनौ भन्दै उनलाई कुटपिट नै गरे । कसैको औंलाले कोतरेको यो घाउमा भन् कुन प्रेमीको खिल गडेको छ ? पतिले उनको चरित्रमा शंका गर्दै प्रश्न गरेको थियो । उनलाई थाहा पनि थिएन त्यो घाउको खाटाको इतिहास । त्यो रातको कुटपिट पछि उनीभित्र पनि एउटी बिद्रोही नारी जाग्न थालेको थियो । अव यसरी हेपिएर नबस्ने उनले अठोत गरिन् ।

यस्तै एक रातको कुरा हो । रक्सीको हवास गन्ध लिएर आएको श्रीमानले उनलाई तन्नामाथि लडाए पछि सोध्यो – ‘के तिमी भर्जिन हौ ?’ यति भन्दै पतिले उनको शरीरलाई बजारिया खेलौना जस्तो भोग्न खोज्यो । अरु रातझैँ त्यो रात उनले आफ्नो शरीरलाई भोग्न दिइनन् । उनले पतिलाई प्रतिरोध गर्दै उग्रचण्डि बन्दै बिछयौनाबाट उठिन् । त्यसपछि जमिनमा टेकेर उनले श्रीमानलाई आँखा जुधाएर सोधिन्, ‘सँधै मलाई भर्जिन हौ, हौ भनी सोध्यौ, आज तिमी भन, के तिमी भर्जिन हौ ?’

‘म पुरुष हुँ मैले भर्जिनिटीको प्रमाण दिनु पर्दैन । र मेरो सिधा जवाफ यही हो, म भर्जिन होइन । पूर्व प्रेमिकाहरुको त कुरै नगर, पत्नीको हिसावमा पनि त तिमी दोस्री हौ नि । के म भर्जिन हुँला ?

ऊ गर्लल हाँस्यो । फेरि हाँस्दै, हाँस्दै सोध्यो– ‘अव तिमी भन्, के तिमी भर्जिन हौ ?’ उनले पतिको अनुहारमा घृणाको नजर टाँसिन् र भनिन् — ‘म पनि भर्जिन होइन । मैले पनि आफ्नो विगतमा प्रेमीसित धेरैपटक सेक्स गरेकी छु ।’

म भर्जिन होइन भन्नवितिकै असहाय बनेको पतिले उनलाई टेबुलमा राखेको गिलासको रक्सीले छयाप्न खोज्यो । उनले पनि प्रतिकारमा रक्सीको बोटल नै उठाइन् । पति उनको यो आकस्मिक रुप र हर्कतले डरायो र गिलास टेबुलमै राख्यो । उनले पनि बोटलले प्रहार गरेन । टेबुलमै बोटल छोडयौ । रक्सीले मातेको पति त्यसपछि खाटमा गर्लम्म ढल्यो र फुसफुस निदायो । उनले पाँच मिनेट पतिलाई अपलक घृणाको नजरले हेरिरहिन् र त्यसपछि आफूले प्रहार गर्न लागेको बोटलतिर टकटकी लगायो, जुन बोटलको छातीमा ठूलो अक्षरले कुँदिएको थियो– ‘भर्जिन’ ।

आधा रक्सी बाँकी भर्जिनको बोटल उठाइन् र हल्लाइन् । रक्सी भित्र तरंगित भयो । उनले बोटलको छातीमा कुँदिएको मोटो अक्षर ‘भर्जिन’लाई हेरिन् र मनमनै आफनो आस्थाको भगवानलाई प्रश्न गरिन् – हरे प्रभु, हाम्रो समाजमा नारीलाई विवाह पछि हरेक पल शंका, आशंका किन ? के नारीले पनि आफ्नो शरीरमा, निधारमा यो रक्सीको बोटलले जस्तो ‘भर्जिन’ टाँसेर पृथ्वीमा आउनु पर्ने हो ? होइन भने, किन यही रक्सीको बोटल जति पनि मेरो मोल छैन ? हेर्दाहेर्दै त्यो रक्सीको बोटल खुकुरीमा रुपान्तरण हुँदै गइरहेको थियो, जस्मा आफ्नो श्रीमानको डरपोक अनुहार प्रतिविम्वित भइरहेको थियो ।