नेपालका चार युवाले पाउने भए झण्डै १२ करोडको पुरस्कार, पुरस्कार लिन भाडा छैन्


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
44.2K
SHARES

नेपालका चार युवाले झण्डै १२ करोडको पुरस्कार पउने भए, पुरस्कार लिन भाडा छैन्

काठमाडौँ – नेपालका चार युवाले झण्डै १२ करोडको पुरस्कारका लागि प्रतिशपर्धा गर्न पाउने भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले उक्त पुरस्कार प्राप्त गर्नका लागि प्रतिशपर्धामा भाग लिन पाउने भएका हुन् ।

शिशिर पन्त, प्रशान्त भट्ट, सोनी पाखरेल र निर्देश भट्टराईले १० लाख डलरको पुरस्कारका लागि प्रतिशपर्धा गर्ने अवसर पाउने भएका हुन । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले नयाँ खालको प्रविधि उत्पादन गरेर यो पुरस्कारका लागि दावेदारी प्रस्तुत गरेको हुन् ।

यो सोच उनीहरूले ‘हल्ट प्राइज’को प्रतियोगितामा प्रस्तुत गरेका थिए। सामाजिक व्यवसायका लागि आवश्यक योजना र प्रविधिको आविष्कार गर्न युवाहरूलाई हौस्याउने ‘हल्ट प्राइज’ विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मान्ने गरिन्छ। यो पुरस्कारका लागि हरेक वर्ष एक सय भन्दा बढी देशका लाखौं विद्यार्थीले प्रतिष्पर्धा गर्ने गर्छन्।

करिब एक वर्षअघि पुल्चोक क्याम्पसमा भएको ‘हल्ट प्राइज’को क्याम्पस स्तरीय प्रतिष्पर्धामा यी तीन युवासहित केमिकल इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत सोनी पाखरेलले तेस्रो स्थान प्राप्त गरे। क्याम्पस स्तरका विजेता र उत्कृष्ट सहभागीले क्षेत्रीय सम्मेलनमा भाग लिन पाउँछन्। यस्तो सम्मेलन विश्वका ५० भन्दा बढी ठाउँमा हुने गर्छ।

‘क्याम्पसमा तृतीय भए पनि हामीले क्षेत्रीय सम्मेलनमा सहभागी हुने अवसर पायौं। पहिलो पटक यस्तो सम्मेलन काठमाडौंमा भएको थियो,’ सहभागी शिशिर पन्तले भने, ‘त्यहाँ भएको प्रतिष्पर्धामा हामी प्रथम भयौं।’

वैशाखमा सम्पन्न ‘काठमाडौं इम्प्याक्ट समिट’ नाम दिइएको ‘हल्ट प्राइज’को क्षेत्रीय सम्मेलनमा स्वदेशी, विदेशी गरी ७०० बढी प्रतिष्पर्धीलाई पछि पार्दै पन्तसहितको समूह प्रथम भएको थियो। नेपालका सहभागीले हल्ट प्राइजको क्षेत्रीय प्रतिष्पर्धा जितेको यो पहिलो पटक हो।

विश्वभरका क्षेत्रीय प्रतिष्पर्धामा विजयी ६९ प्रतिष्पर्धीमध्ये नेपालको यो समूह ४२ औं स्थानमा पुगेको छ। यसको छनोट आयोजकले अनलाइन तालिममार्फत् गरेको थियो। उनीहरूका लागि आगामी अगष्ट ८ देखि सेप्टेम्बर १२ सम्म लन्डनमा हुने अन्तिम प्रतिष्पर्धाको ढोका खुलेको छ।

यो पुरस्कारको आयोजना हल्ट इन्टरनेशनल बिजनेश स्कुल र युनाइटेड नेसन फाउन्डेसनले गर्छन्। यसको विजेताले १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्छ।

सो समूहले च्याउ उत्पादन गर्ने मेसिन तयार पारेर त्यो मेसिनको माध्यमबाट मध्यम र निम्न वर्गीय परिवारको पोषण र आर्थिक अवस्थामा व्यापक परिवर्तन ल्याउन सकिने सोच अघि सारेको थियो।

प्रतिष्पर्धामा सामेल हुन उनीहरूले हावापानी, प्रकाशलाई आफैं नियन्त्रण गर्नसक्ने, बाह्रै महिना फलाउन सक्ने र मासिक ३६ किलोसम्म च्याउ उत्पादन दिने स्मार्ट प्रविधिको मेसिन तयार पारेका थिए।

‘मशुर’ नाम दिइएको त्यो मेसिनबाट नेपालमा धेरैले मन पराउने गरेको डल्ले, पाते र सिकाते च्याउ उत्पादन गर्न सकिन्छ। यसले पाते र सिकातेभन्दा डल्ले च्याउ को उत्पादन राम्रो दिएको छ। अन्य जातका च्याउका लागि पनि काम यो समूहले काम गरिरहेको छ।

सानो र चिटिक्कको दराजजस्तो देखिने च्याउ उत्पादन गर्ने मेसिनले उत्पादन लागत र विषादीको प्रयोग घटाउने अर्का सहभागी प्रशान्त भट्टले बताए। हल्ट प्राइजका लागि अघि सारिएको योजना कम्तिमा दश वर्षमा दश लाख जनालाई प्रभाव पार्नसक्ने हुनुपर्छ।

‘हामीलाई लाग्छ नेपालका गृहणीहरूले यो प्रविधिको भरपुर उपयोग गर्न सक्छन्, उनीहरू र बालबच्चामा देखिएको पोषणको कमीलाई त यसले हटाउँछ, यसकाअलावा उत्पादन भएको च्याउ बिक्री गरेर आर्थिक अवस्थामा पनि सुधार आउने देखिन्छ,’ भट्ट भन्छन्। नेपालमा व्यवसायिक च्याउ खेती गरिएको भए पनि निकै खर्चिलो रूपमा भएका कारण निम्न वर्गको पहुँच त्यहाँ नपुग्ने गरेको बताए।

‘महँगोमा घर तयार पारी, एसीमार्फत् तापक्रम व्यवस्थापन गरेर च्याउ उत्पादन गरिएको हामीले देख्दै आएका छौं, यति हुँदाहुँदै पनि यहाँको उत्पादनले नपुगेर दुई गुणा बढी च्याउ आयात गर्नुपर्ने अवस्था रहेछ,’ उनले भने, ‘कम लागतमा देशमै उत्पादन बढाउने र गृहिणी महिलाहरूलाई आत्मनिर्भर बनाउने हाम्रो सोच हो।’

किसानहरूसँग बुझ्दा बेमौसमी च्याउ उत्पादनमा समस्या देखिएको र मौसमी च्याउमा पनि रोग देखिन थालेपछि फैलिएर सबै सखाप हुने समस्या रहेको पाइएको भट्टले बताए। ‘त्यसरी रोगका कारण धेरै परिमाणमा क्षति नहोस् भनेर पनि यो प्रविधि तयार पारिएको हो,’ उनले भने, ‘यो नयाँ प्रविधि त होइन चलिरहेकै प्रविधिलाई नयाँ रूप र सोचका साथ अघि बढाइएको हो।

उनीहरूले पहिलो पटक यो मेसिन तयार पार्न करिब ४५ हजार रुपैयाँ खर्च गरे। मेसिनको विषयमा जानकारी पाएका धेरैले सम्पर्कमा आएर बुझ्ने गरेको भट्ट बताउँछन्। ‘पहिलो पटक बनाउँदा धेरै खर्च लागे पनि २५ देखि ३५ हजार रुपैयाँसम्ममा मेसिन तयार पारेर बिक्री गर्न सक्ने देखिन्छ,’ भट्टले भने, ‘त्यतिमा पनि व्यक्तिले खरिद गर्न नसके सहकारीमार्फत् मेसिन उपलब्ध गराउन सकिन्छ।’

‘हल्ट प्राइजका लागि क्याम्पस र क्षेत्रीय प्रतिष्पर्धाबाट अघि बढेपछि हामीलाई नेपालको कृषि क्षेत्रको विकासमा अब केही गर्न सकिन्छ भन्ने भयो, अन्तिम प्रतिष्पर्धामा सहभागि हुनका लागि हामीले मेसिनको प्रभावकारिता, यसको माध्यमबाट लक्षित समुदायमा पर्ने सकरात्मक प्रभावबारे थप खोजी गर्‍यौं,’ भट्टले भने, ‘हामीले गरेको कामको विषयमा धेरै हौसला प्राप्त भइरहेको छ र यसले हामीलाई उत्साहित बनाएको छ।’

यो प्रविधि सफल भएपछि दोस्रो चरणमा कौशी खेतीका लागि आवश्यक प्रविधि र तेस्रो चरणमा व्यवसायिक किसानहरूका लागि आवश्यक प्रविधिको विकास गर्ने लक्ष्य रहेको भट्टले बताए। उनीहरूले हल्ट प्राइजको आयोजकबाट आवश्यक अनलाइन कक्षा पाइसकेका छन्।

‘अब लन्डनमा हुने कार्यक्रममा कसरी पुग्ने र त्यहाँको प्रस्तुतिलाई कसरी दमदार बनाउने भन्नेमा हामी केन्द्रित छौं,’ पन्तले भने, ‘चार जनाका लागि उत्पादन, व्यवस्थापन, बजारीकरणलगायतका क्षेत्र छुट्याएर तयारी गरिरहेका छौं।’

अन्तिम प्रतिष्पर्धामा सहभागी हुने निधो भइसक्दा अहिले उनीहरुको चिन्ता भने लन्डनसम्म पुग्न र त्यहाँको क्वारेन्टिनमा बस्नका लागि आर्थिक स्रोत जुटाउनेमा छ। यसका लागि ९ हजार पाउण्ड भन्दा बढी पैसा लाग्छ।

‘तर हामी विद्यार्थीका लागि यो रकम ठूलो हो,’ पन्त भन्छन्, ‘भिसाको प्रकृया सुरू गरेका छौं, सहयोगको आह्वान पनि गरेका छौं। अन्तिम समयसम्ममा खर्च जुट्यो भने सहभागी हुन पाइन्छ।’

उनले ठूलो प्रतिष्पर्धाको लागि छनोट भएपनि खर्चको अभावमा सहभागी हुनै नपाइने हो कि भन्ने चिन्ताले सताएको बताए। पुल्चोक क्याम्पस एल्मुनाई, सोसाइटी अफ एक्स बुढानिलकण्ठ, हल्ट प्राइज म्यिुनिटी नेपाल, हल्ट प्राइज आइओई पुल्चोक क्याम्पस, क्याम्पस प्रमुख, डिन, हेड अफ डिपार्टमेन्टलगायतलाई सहयोगका लागि आग्रह गरेको अन्तिम प्रतिष्पर्धामा छनोट भएका विद्यार्थीहरुले बताए। तर खासै सहयोग प्राप्त नभएको उनीहरूले बताए।

प्रतिष्पर्धामा विजयी भए पुरस्कार रकम आफ्नो सोचलाई व्यवहारमा बदल्न प्रयोग गर्ने तयारी उनीहरुको छ। उनीहरुको सोच कृषिसँगै स्वास्थ्य क्षेत्रका लागि पनि काम गर्ने छ। ‘च्याउमा मात्रै नभएर कृषि क्षेत्रमा अन्य प्रविधि पनि तयार पार्ने र अनुसन्धानलाई निरन्तर अघि बढाउँदै स्वास्थ्य क्षेत्रमा पनि केही गर्ने भन्ने योजना हाम्रो छ,’ पन्तले भने।

भएको जागिर पनि छाडेर अन्तर्राष्ट्रिय प्रतिष्पर्धा जित्न दत्तचित्त भएर लागेका पन्त केही गरौं भनेर लागेका युवाहरू निरास हुने अवस्था अउन नहुने बताउँछन्। ‘नेपालमा इन्जिनियरिङ पढेका धेरै युवाहरुको रोजाई वैदेशिक रोजगारी बनिरहेको छ, हामी विदेशमा होइन नेपालमै केही गरौं भनेर लागेका छौं,’ उनी भन्छन्, ‘जागिरै छाडेर नयाँ गरौं भनेर हिँडेका हामीलाई यहाँ काम गर्ने वातावरण नभएर विदेश जाने अवस्था नआइदिए हुन्थ्यो झैं लाग्छ।’सेतोपाटीबाट