मुख्यमन्त्रीको कार्यालयले गर्यो सांसदको अपहरण, ६६ लाख फिरौती


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, साउन १७ २०७८
7.1K
SHARES

काठमाडौँ – हराएकी लुम्बिनी प्रदेशसभाकी सांसद विमलाकुमारी वली अन्ततः मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटिएकी छन् । सत्ता परिवर्तनको खेल चलिरहँदा माओवादीको कित्तामा उभिएकी सांसद ओली फेरी एमाले प्रबेश गरेर मुख्यमन्त्रीको कार्यालयमै अण्डरग्राउण्ड भएकी हुन् ।

उनी माओवादी नेताहरूलाई जिल्ल पार्दै एमालेमै फर्किएपछि मुख्यमन्त्रीका दावेदार कुलप्रसाद केसीलाई झन् तनाव थपिएको छ । केसीको मुख्यमन्त्री पद मुखैमा परेको बेला सांसद विमलाले समूह फेरेपछि तनाव भएको छ ।

उनी नेकपा–ताका श्रीमान उत्तरकुमार वलीको ठाउँमा सांसद बनेकी हुन् । सांसद वलीले दुई महिनाअघि केसीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै माओवादी खेमा प्रवेश गरेकी थिइन् । तर एमाले नेताहरूले भने सूर्य छापकै सांसद भएको दाबी गर्दै आएका थिए ।

एमालेकै आँगनमा हुर्किएकी उनी दुई महिनाअघि एकाएक माओवादी प्रबेश गर्नुको कारण भने अर्कै छ । उनको दुःख कल्ले बुझ्ने ? श्रोतका अनुसार बिमलाको कथा लामो छ । उनका श्रीमान कुनै समय मुख्यमन्त्री शंकर पोखरेलका ‘दाहिने हात’ मानिन्थे । उत्तरको सडक दुर्घटनामा मृत्यु भएपछि उप–चुनाव जितेकी उनी कहिले माओवादी त, कहिले एमालेतिर वरपर गरिरहेकी छन्।

“उप–चुनाव लड्दा लगाएको ऋणको भारी उस्तै छ । श्रीमानले पनि ऋणमाथि ऋण थपिदिएका छन् । तर सांसद जितेपछि एक वचन एमालेले सोधेन, मुख्यमन्त्रीले सुनेनन् ।” उनको दुःख बुझ्न आईपुगे माओवादी नेताहरु । उनलाई एमाले छाड्न लगाउने ‘ठेकेदार कमरेड’ले भने, ‘भोट हाम्लाई, पैसा तपाईँलाई’। आखिर मनै न हो विमलाले पनि भनिदिइन्, हवस् ।

होटलमा सांसदहरूको औँला गन्दै बसेकी थिइन्, पूर्वसभामुख ओनसरी घर्ती र सांसद सुदर्शन बराल । उनीहरूको छेउमै पुगी ‘ठेकेदार कमरेड’ले भने,‘शंकरको निवासबाटै भाउजूलाई ल्याएँ थुतेर,अब पैसा चाहियो ? माओवादीले मुख्यमन्त्री पाउने पक्का।’ कुलप्रसाद हतार–हतार ओनसरी र सुदर्शन कहाँ पुगी खासखुस मात्रै गरेका थिए, विमलाले ६६ लाख पाउने पक्का भो।

यसरी दुई महिनाअघि विमलालाई माओवादीमा भित्र्याउन माओवादी नेत्री ओनसरीसहित सुदर्शनले ६६ लाख खर्च गरेका थिए । माओवादीनिकट स्रोतका अनुसार विमला एमालेमै फर्किएपछि ६६ लाखको तनावले ओनसरी र सुदर्शन हैरानीमा परेका छन् ।

उनी दाङबाट प्रदेशसभा ३ (ख) बाट नेकपा हुँदा निर्वाचित भएकी थिइन् । उनले नेपाली कांग्रेसका उम्मेदवार केशराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएकी हुन्।