को हुन् लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसी ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
6.8K
SHARES

बुटवल – लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

नेकपा (एमाले) र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए । नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका केसी २०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए ।

२०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए । नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर २०४८ देखि २०५० सम्म शिक्षण पेशामा आवद्ध उनी २०५० देखि ०५२ सम्म नेकपा (एकता केन्द्र)को रोल्पा इलाका सेक्रेटरी थिए । २०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहे ।