जब राजा महेन्द्रले महारानी रत्नलाई गोली हाने…


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८
6.7K
SHARES

काठमाडौँ – २०२७ माघ १८, गोरखापत्रले पहिलो पृष्ठमा समाचार छाप्यो– ‘श्री ५ महाराजधिराज सरकार तथा श्री ५ बडामहारानी सरकार कञ्चनपुर जिल्लाको दुई साताको औपचारिक भ्रमण पूरा गरिबक्सी आज भरतपुर (चितवन) सवारी होइबक्सने कार्यक्रम छ।’

राजा महेन्द्र जहाँ पुग्थे, जोसँग भेटघाट गर्थे, सरकारी मुखपत्र गोरखापत्रले हरेक दिन समाचार बनाउँथ्यो। ४ माघ (२०२७) देखि कञ्चनपुरको दुधिया क्याम्पमा रहेका राजा महेन्द्रले त्यहाँ दिएका प्रत्येक दर्शनभेटबारे गोरखापत्रले समाचार छापिरहेको थियो।

सुरुमा उल्लेखित समाचारअनुसार त्यस दिन (१८ माघ) राजा महेन्द्र कञ्चनपुरबाट बडामहारानी रत्नका साथ चितवन पुग्नुपर्ने थियो। तर उनी त्यसको अघिल्लो राति (१७ माघ) नै रानी रत्न लिएर हवाईजहाबाट हतार–हतार काठमाडौं आइपुगे। कारण थियो– त्यस दिन कञ्चनपुरको शुक्लाफाँटामा सिकार गर्ने क्रममा रानी रत्नलाई गोली लाग्नु। यसैकारण उनी चितवन जाने कार्यक्रम स्थगन गरी घाइते रानीसहित रातारात काठमाडौं आएका थिए।

‘लगुना’ प्रजातिको मृगलाई हानिएको गोली लागे पनि बाँच्न सफल पूर्व मुमा बडामहारानी रत्न आज (४ भदौ २०७८) ९४ वर्षमा प्रवेश गरेकी छन्। कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि परिवारका पनि सीमित सदस्यबाहेक कसैसँग भेटघाट नगरेकी आमा रत्नलाई जन्म दिनको अवसरमा भेट्न साँझ पूर्वराजा ज्ञानेन्द्र नारायणहिटीस्थित महेन्द्र मञ्जिल जाँदै छन्।

महेन्द्र सिकारमा जाँदा सरकारी अधिकारीहरूको ठूलो दलबल साथमा रहन्थ्यो। त्यसैबमोजिम पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, प्रधानन्यायाधीश रत्नबहादुर विष्ट, गृहपञ्चायत मन्त्री शैलेन्द्रकुमार उपाध्याय ४ माघमा राजा महेन्द्रका कान्छा छोरा अधिराजकुमार धीरेन्द्रका साथ काठमाडौंबाट कञ्चनपुर पुगेका थिए।

दुधियामा राजा महेन्द्रको सिकार क्याम्प २ हप्ता सञ्चालनमा रह्यो। सिकारका लागि गएको भए पनि समय मिलाएर उनले स्थानीय पञ्चहरूसँग भेटघाट पनि गरे। दुई हप्ताको कार्यक्रम सिध्याएर १८ माघमा चितवन जाने कार्यक्रम तय भयो।

नेपाली सेनाका तत्कालीन सहायकरथी (ब्रिगेडियर जनरल) केदारबहादुर सिंह पनि त्यसबेला दुधिया क्याम्पमै थिए। नेपाली सेनामा उनको दर्जा सहसेनानी (क्याप्टेन) को थियो। त्यो घटनामा उनको भूमिकाको प्रशंसा गर्दै राजा महेन्द्रको सचिवालयले उनलाई लालमोहरसहितको प्रशंसापत्र दिएको थियो।

जुन दिन रानी रत्नलाई गोली लाग्यो, त्यस दिन सिकारको कार्यक्रम राजा महेन्द्रले चढ्ने हात्तीका माहुतेले बनाएका थिए। ‘त्यो माहुतेले म सरकार (राजा महेन्द्र) को इच्छापूर्ति गर्छु भन्दै लगुनाको सिकार गर्ने कार्यक्रम बनाइदियो,’ सिंहले सुनाए, ‘उनैको योजनाअनुसार राजा महेन्द्रसहित राजपरिवारका अन्य सदस्य सिकार कार्यक्रममा सहभागी हुनुभयो।’

सिंहका अनुसार थारू समुदायका ती माहुतेलाई राजा महेन्द्रले नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेलको दर्जा दिएका थिए। ‘घोसोमुन्टो लगाएर एक सेकेन्ड नरोकिई दौडिरहने जनावर हो, लगुना,’ सिंहले भने, ‘त्यस्तो जनावरको सिकार हात्तीमा चढेर गर्ने कार्यक्रम बनाउनु हुँदैनथ्यो। तर उनले गलत योजना बनाइदिए।’

त्यही तालिकाअनुसार राजा महेन्द्र चितवन प्रस्थान गर्नुपर्ने अघिल्लो दिन रानी रत्न र कान्छा छोरा धीरेन्द्रका साथ शुक्लाफाँटाको जंगलमा प्रवेश गरे। तीनै जनाको हातमा फरक–फरक प्रकारका बन्दुक थिए। राजा महेन्द्र, रानी रत्न र धीरेन्द्र चढेका हात्ती ५०–५० गजका फरकमा थिए।

‘लगुनाको लस्कर देखिएपछि राजा महेन्द्र, बडामहारानी रत्न र अधिराजकुमार धीरेन्द्रले गोली चलाउन थालिबक्स्यो,’ सिंहले सम्झे, ‘त्यसै क्रममा एउटा गोली बडामहारानी रत्नलाई लाग्न पुग्यो। खासमा लगुनालाई हानेको गोली उछिट्टिएर उहाँलाई लाग्न पुगेको थियो।’

दरबारको प्रमुख संवाद सचिवालयले १८ माघ (०२७) मा विज्ञप्ति जारी गरी घटनाबारे जानकारी दिएको थियो। त्यसमा भनिएको थियो– ‘हिजो (१७ माघ) कञ्चनपुरमा सवारी होइबक्सेको बखतमा श्री ५ बडामहारानी सरकारमा ढुंगामा लागी उछिट्टिएको गोलीको टुक्रा परी बाहुली र पेटमा चोट लागेको छ।’

कसले चलाएको गोली रत्नलाई लाग्यो, त्यसमा उल्लेख नगरिए पनि गोलीको आकार–प्रकारबाट महेन्द्रकै बन्दुकको गोली हो भन्ने प्रस्ट हुन्थ्यो। किनभने यस्ता सिकारमा सहभागी हुनेले फरक–फरक किसिमका बन्दुक प्रयोग गर्थे, तसर्थ गोली कुनको हो, चिन्न सहज हुन्थ्यो।

राजा महेन्द्रको प्रमुख संवाद सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार सिकारका क्रममा चलाइएको गोली ढुंगामा लागी टुक्रा परेको थियो। ‘त्यो गोलीको अगाडिको भाग कुच्चिएको थियो,’ सिंहले भने, ‘गोलीको स्थिति हेर्दा त्यो सीधै बन्दुकबाट छुटेर लागेको नभई कहीँ ठोक्किएर आई लागेको हो भन्ने प्रस्ट हुन्थ्यो।’

सिंहका भनाइमा– सिकारमा सबैभन्दा अगाडि राजा महेन्द्र थिए भने त्यसपछि क्रमशः रानी रत्न र अधिराजकुमार धीरेन्द्र। रानी रत्न हात्तीमाथि कसिएको काठको हौदामा बसेकी थिइन्। ढुंगामा बज्रिएर फर्किएको गोलीले काठे हौदासमेत छेडेर रानी रत्नको पेटको तल्लो भागमा लाग्न पुग्यो।

‘बडामहारानी रत्नलाई गोली लागेपछि सिकार कार्यक्रम स्थगित भयो। घाइते भएकाले बडामहारानी रत्नलाई हात्तीबाट निकाल्न सम्भव थिएन,’ सिंहले सम्झे, ‘त्यसैले उहाँ रहेको हात्तीलाई बसाइयो। उहाँ हौदामा सुतिरहनुभएको थियो। हौदासहित नै निकालेर शाही चिकित्सक डा. सुशीलचन्द्र हल्दरबाट उहाँको प्राथमिक उपचार त्यहीँ भयो। त्यसपछि रातारात काठमाडौं लैजाने तयारी गरियो।’

रानी रत्न र छोरा धीरेन्द्रका साथ भोलिपल्ट (१८ माघ) भरतपुर (चितवन) जाने कार्यक्रम भएकाले राजा महेन्द्रले प्रयोग गर्ने जहाज कञ्चनपुरमै थियो। रानी रत्न घाइते भएपछि त्यता जाने कार्यक्रम रोकियो। घटना जंगलको बीचमा भएकाले क्याम्पसम्म ल्याउने र प्राथमिक उपचार गर्ने गर्दागर्दै झमक्क साँझ परिहाल्यो।

तत्कालीन दरबार निकटहरूका भनाइमा– सिकारस्थल भारतीय सीमानासँग जोडिएकाले रानी रत्नलाई उपचारका लागि काठमाडौंभन्दा लखनउ वा भारतका अन्य कुनै सहरमा लैजान सहज हुन्थ्यो। साथमा रहेका अर्का डा. टिएन भट्टराईले कञ्चनपुरबाट नजिकै पर्ने भएकाले लखनउ (भारत) लैजान राम्रो हुने सुझाव दिएका पनि थिए। तर राजा महेन्द्रले भारतमा भन्दा नेपालमै उपचार गराउनु उपयुक्त सम्झेर घाइते रानीलाई काठमाडौं नै ल्याए।

कुममा र पेटको तल्लो भागमा गोली लागेकाले प्राथमिक उपचारका क्रममै रानी रत्नको स्थिति जोखिममुक्त रहेको ठहर चिकित्सकले गरे। जहाज पनि कञ्चनपुरमै रहेको र चालकदलका सदस्यहरूले रातको समय भए पनि उडाउन सकिने बताएपछि रानी रत्नलाई काठमाडौंमै उपचार गर्ने तयारी गरियो।

‘राजा महेन्द्रले पाइलटलाई रातको समयमा काठमाडौं जान सकिन्छ कि सकिँदैन भनेर सोधिबक्सेको थियो, पाइलट प्रकाशविक्रम शाहले सकिन्छ भन्ने उत्तर दिए,’ सिंहले सम्झे, ‘तर ल्यान्ड गर्ने बेला विमानस्थलमा पर्याप्त उज्यालोको व्यवस्था हुनुपर्छ भन्नुभएको थियो। त्यसैअनुसार प्रबन्ध भएपछि राति जहाज काठमाडौंका लागि उड्यो।’

अहिलेजस्तो उतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातको समयमा जहाज अवतरणको सुविधा थिएन। विमानस्थलमा पर्याप्त उज्यालोको व्यवस्था थिएन। तर मट्टितेलबाट बत्ती बालेर विमानस्थलमा उज्यालोको प्रबन्ध गरियो र रातको समयमा घाइते रानी बोकेको जहाज सफलतापूर्वक अवतरण ग¥यो।

‘जहाँ–जहाँ आवश्यक पर्ने हो, त्यहाँ–त्यहाँ बत्तीको व्यवस्था गरिदिनू भनेर पाइलट शाहले भनेका थिए, त्यसैअनुसार बत्तीको प्रबन्ध गरिएको थियो,’ सिंहले सम्झे, ‘त्यसका लागि गमलाजस्ता भाँडा प्रयोग गरिए। मट्टितेल भिजाइएको कपडा ती भाँडामा राखी जलाएर विमानस्थलमा उज्यालोको प्रबन्ध गरिएको थियो।’

रानी रत्नलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै वीर अस्पताल लगिएको थियो। पुग्नासाथ चिकित्सकले १७ माघको मध्यरात रानी रत्नको शरीरबाट गोलीका टुक्रा निकालेका थिए।

यसपछि उनको स्वास्थ्य स्थिति झनै खतरामुक्त भयो। जानकारहरूका अनुसार वीर अस्पतालमा रानी रत्नको उपचार डा। दिनेशकुमार गोंगल र डा। अञ्जनीकुमार शर्माले गरेका थिए।

‘श्री ५ बडामहारानी सरकार अहिले उपचारको लागि वीर अस्पतालमा राज होइबक्सेको छ,’ १९ माघको गोरखापत्रले प्रथम पृष्ठमा छापेको समाचारमा भनिएको थियो, ‘डाक्टरहरूको रायअनुसार गोलीको टुक्रा हटाइएको छ र सबै आवश्यक उपचारहरू भएका छन्। मौसुफको स्वास्थ्यमा पनि सुधार हुँदै आइरहेको छ।’

रानी रत्न वीर अस्पतालमा झन्डै २ हप्ता बसिन्। अस्पतालले उनलाई २ फागुन (२०२७) मा डिस्चार्ज गर्यो। रानी रत्नको उपचारका क्रममा राजा महेन्द्र पनि अधिकांश समय वीर अस्पतालमै बसे। काठमाडौंमा भए पनि आफैं उपस्थित हुनुपर्ने कतिपय महत्त्वपूर्ण कार्यक्रममा समेत उनी सहभागी भएनन्। तीमध्ये एउटा महत्त्वपूर्ण थियो– ‘वसन्त श्रवण’।

वसन्त पञ्चमीका दिन हुने यो कार्यक्रममा काठमाडौंमा रहेका बेला राजा आफैं उपस्थित हुने परम्परा थियो। कञ्चनपुरमा भएको दुर्घटनाका कारण अघिल्लै साँझ काठमाडौं आइपुगे पनि राजा महेन्द्र वसन्त श्रवण कार्यक्रम (१८ माघ २०२७) मा गएनन्। उनको प्रतिनिधित्व गर्दै युवराज दीपेन्द्र कार्यक्रममा सहभागी भए। हनुमानढोकामा रहेको राजसिंहासनमा चाहिँ राजा महेन्द्रको खड्क राखिएको थियो।

राजा त्रिभुवनको विरोध हुँदाहुँदै पनि २५ मंसिर २००९ मा तत्कालीन युवराज महेन्द्रसँग रत्नको विवाह भएको थियो। युवराज महेन्द्रले आफ्नै पत्नी युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवीकै सल्लाहअनुसार उनकै बहिनी रत्नसँग दोस्रो बिहे गरेका थिए। प्रसूतिसम्बन्धी समस्याले अवस्था नाजुक भएकी इन्द्रराज्यलक्ष्मीदेवीले ६ जना नाबालक सन्तानको भविष्यका लागि बहिनी रत्नसँग बिहे गर्न पति महेन्द्रसँग आग्रह गरेकी थिइन्। त्यही स्वास्थ्य समस्याले २००६ मा उनको निधन पनि भयो।

रत्नसँग बिहे गरे महेन्द्रलाई युवराजको दर्जाबाट बर्खास्त गर्ने चेतावनी त्रिभुवनले दिएका थिए। तर त्यसो नगरे पनि उनी महेन्द्रको बिहेका बेला काठमाडौं बसेनन् । दुई बडामहारानीका साथ कलकत्ता (भारत) गए। त्यसपछि युवराज महेन्द्र र रत्नबीच नागार्जुनमा विवाह भयो।

बिहे गरेको २० वर्ष पुग्दानपुग्दै रत्नले पति गुमाइन्, २८ माघ २०२८ मा। ठीक अघिल्लो वर्ष सिकारका क्रममा उनी आफैंलाई गोली लागेको थियो, तर बाँच्न सफल भइन् ! त्यसको ३० वर्षपछि १९ जेठ २०५८ अर्थात् राजदरबार हत्याकाण्डका दिन उनी पनि त्रिभुवन सदनमा थिइन्, तर अर्कै कोठामा रहेकाले त्यसबेला पनि जोगिइन्१ यस्ता ठूल्ठूला वियोग र दुर्घटना झेल्दै उनी शुक्रबार (४ भदौ) ९४ वर्षमा प्रवेश गरेकी छन्।

महेन्द्र मञ्जिल स्रोतका अनुसार श्रवण शक्ति पहिलेभन्दा कम भए पनि अझै उनको स्मरण शक्ति तथा स्वास्थ्य राम्रो छ। राजा महेन्द्रले नारायणहिटी दरबारभित्र बनाएको महेन्द्र मञ्जिलमै उनी बस्छिन्। सरकारले उनको भावनात्मक सम्बन्ध रहेको महेन्द्र मञ्जिल जीवनभरका लागि उपलब्ध गराएको छ।

अहिले पनि १२ जनाजति ‘नानी–सुसारे’ उनको स्याहार–सुसारमा खटिरहेका छन्। कोरोना महामारी सुरु भएयता रत्नको स्वास्थ्यको ख्याल गर्दै उनीहरू पनि महेन्द्र मञ्जिलबाट बाहिर निस्केका छैनन्।

महामारीकै कारण पूर्व मुमा बडामहारानी रत्नसँगको भेटघाटमा नातेदारहरूलाई समेत कडाइ गरिएको छ। पूर्व राजपरिवारका सदस्यहरूले मात्र उनीसँग बेला–बेला भेट्न पाउँछन्, त्यो पनि पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ भए मात्र।

‘आमा रत्नको ९४औं जन्मदिनमा शुभकामना दिन पूर्वराजा ज्ञानेन्द्र साँझ महेन्द्र मञ्जिल पुग्नेका छन्,’ स्रोतले भन्यो, ‘यसअघि आफ्नै ७५औं जन्मदिनमा पनि उहाँ आमा रत्नलाई भेट्न महेन्द्र मञ्जिल पुग्नुभएको थियो।’