महालक्ष्मी विकास बैंकको ठगीधन्दा छताछुल्ल, यस्तो रहेछ ग्राहकलाई ठग्ने नयाँ धन्दा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८
4.4K
SHARES

काठमाडौँ – महालक्ष्मी विकास बैंकको ठगी धन्दा छताछुल्ल भएको छ । ग्राहकले बैँकमा धितो राखेको सक्कली सुनलाई नक्कली बनाएर ठग्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

ललितपुरको कुमारीपाटीमा रहेको शाखा कार्यालयले धितोमा राखेर ऋण लिएको सुनलाई नक्कली भनेर ग्राहकलाई ठगेको हो । ऋण चुक्ता गरेर सुन फिर्ता लिन खोज्दा बैँकले सुन नक्किली भनेर ग्राहकलाई दिएन् ।

ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जन बैंकबाट ठगिएकी हुन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखेकी थिइन् ।

५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्किली भएकाले दिन मिल्दैन भनेको थियो । ‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ विष्णु महर्जनले भनिन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर, अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’

धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर गरेकी छिन् ।

२०७२ चैतमा आफ्ना ३५ थान सुनका गहना जाँच गरेर नै बैंकले ऋण दिएको महर्जनले बताइन् । ०७८ भदौ ९ मा ऋण चुक्ता गरेपछि उनी आफ्नो सुन फिर्ता माग्न गएकी थिइन् ।

महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी गरेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको छ । छलफलमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ‘सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेका छन् ।

‘सुन फिर्ता गर्छौँ’ भनेर प्रहरीकहाँ भनेपनि आफूलाई बैंकले अझै सुन नदिएको महर्जनले बताएकी छिन् । ‘जाँचेर राखेको सुन ५ वर्षपछि नक्कली भएको हो र ?’ भन्ने प्रश्नमा बैंकले बैंक र ऋणीको आन्तरिक कुरा भएकाले छिट्टै समाधान हुने बताए ।

बैंकले लिएको सुन नक्कलीनै भएपछि अब बैंकले ग्राहकको सुन जस्ताको तस्तै फिर्ता गर्नपर्छ । किन भने बैँकले सुन राख्दा सक्किली भनेरै ऋण दिएको हो ।