कसले भन्यो एमाले २०७५ जेठ २ मा फर्कियो भनेर : अध्यक्ष ओली


केपी शर्मा ओली : अध्यक्ष, नेकपा एमाले
प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
8.2K
SHARES

काठमाडौँ – आज हाम्रो अवस्था हेरेर, मलाई आफ्नो अवस्था हेरेर भूपी शेरचनको मैन बत्तीको शीखा भन्ने कविता सम्झना आइराखेको छ । एकातिर सुहागरात सम्झिएर ओठमा मधुर मुस्कान पनि छ । अर्कातिर वैधव्यको दिन सम्झिएर सँगसँगै आँखामा आँशु पनि आइरहेको छ । मलाई त्यस्तै भएको छ ।

निकै लामो समयको अन्तराल र जिकज्याकपछि थुप्रै साथीहरु केन्द्रीय कमिटीको यस बैठकमा सहभागी हुनुभएको छ । र, हामी एकताबद्ध ढंगले पार्टीलाई अगाडि बढाउने नयाँ संकल्पका साथ, नयाँ प्रतिबद्धता र अठोटका साथ यहाँ उपस्थित भएका छौं । यो ज्यादै खुशीको कुरा हो ।

एकातिर हामी ठूलो संख्यामा एकताबद्ध भएर हाम्रो काँधका अभिभाराहरु पूरा गर्न, आफूसामू उपस्थित चूनौतीहरुको सामना गर्न र आगामी विजययात्रालाई सुनिश्चित गर्नका लागि संकल्पित ढंगले यहाँ सरिक भएका छौं । यो सुखद् स्थिति एकातिर छ ।

अर्कातिर हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरु बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धता बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर, भावावेशमा, अकारण नयाँ पार्टी दर्ता गर्ने तहमा पुग्नुभएको छ । सैद्धान्तिक मतभेद भएर होइन, कसैले लखेटेर बस्न नसकेर होइन । सामान्य अवस्थाबाट पार्टी चलिरहेका बेला, अगाडि बढिरहेका बेला स्वार्थवश, केहीका स्वार्थका कारणले ।

सबैका स्वार्थ म भन्दिनँ, केहीलाई त सेन्टिमेन्टमा ल्याइएको छ । केही मान्छेका स्वार्थवश । केहीका अंहकारवश, केहीका इर्स्यावश । एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म उहाँहरु पुग्नु भएको छ । आन्दोलनलाई नोक्सान पार्ने उद्देश्यका साथ, कति नोक्सान पार्न सकिन्छ, त्यतिसम्म नोक्सान पार्ने काममा लागिरहनुभएको छ । केन्द्रमा, प्रदेशमा र पालिकाहरुमा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र संगठनहरुमा, जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरुमा आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नु भएको छ । यो दुखद कुरा हो । त्यसकारण मैले भूपी शेरचनको मैन बत्तीको शीखा कविता सम्झिएको हुँ ।

०००

आज हाम्रो भूमिका फेरिएको छ । हिजो हामी सरकारमा थियौं । हामी सही गन्तव्यतर्फ, सही बाटोबाट देशलाई नेतृत्व गरिरहेका थियौं । देशमा एउटा आशा र विश्वासको सन्देश प्रवाहित थियो । देशको विकास गर्न सकिन्छ, देशलाई अगाडि बढ्नरबढाउन सकिन्छ भन्ने विश्वास सञ्चार भइरहेको थियो । त्यस अवस्थामा हामीसँग झण्डै दुईतिहाइ थियो । हामीले कम्युनिस्ट आन्दोलनको लामो इतिहासका दुई धारहरुलाई एकीकृत गरेका थियौं । ७ मध्ये ६ वटा प्रदेशमा हाम्रा अत्यधिक बहुमतका सुदृढ सरकार थिए । पालिकाहरुमा हाम्रो एकछत्रजस्तै वर्चस्व थियो । सबैतिर लगभग दुईतिहाइको स्थितिका साथ हामी मुलुकलाई समाजवाद निर्माणको बाटोमा, समाजवाद उन्मुखताका साथ अगाडि बढाइरहेका थियौं ।

तर दुर्भाग्य केही मानिसहरुको गैरजिम्मेवार प्रवृृत्ति र स्वार्थका कारणले पार्टीभित्र हुँडुलो मच्चाउने काम भयो । जसले आन्दोलनमा गम्भीर संकट पैदा भयो, पार्टी विभाजन भयो । केन्द्रीय सरकार ढालियो । विभिन्न प्रदेशका प्रदेश सरकार ढले । त्यस स्थितिबाट गुज्रिँदै हामी एउटा अन्तिम कित्ताकाटको स्थितिमा पुग्यौं । यस्तो हुनु हुने थिएन । पार्टीका उद्देश्यहरु सही छन् । पार्टीका नीति सही छन् । पार्टीका विचार सही छन् । पार्टीका कार्यदिशा सही छन् । पार्टीले लिएको बाटो सही छ । हाम्रा महाधिवेशनहरुले र हामीले एकता एकीकरण गर्दा सबै परिस्थितिहरुमा हाम्रो उद्देश्य, हाम्रो गन्तव्य, हाम्रो कार्यदिशा, हाम्रो बाटो, यी सबै विषयमा हामीले गहन छलफल गरेका थियौं । र, हामी सही अडान राखेर अगाडि बढेका छौं । यसरी हाम्रो पार्टी संगठनात्मक आकारमा देशको सबैभन्दा ठूलो, प्रभावमा व्यापक, विचारमा अतुलनीय ढंगले सही, व्यवहारमा प्रभावकारी र सफल, जनतामा व्यापक भरोसा र विश्वास गरिएको पार्टीको रुपमा आज पनि स्थापित छ ।

हामीलाई सिध्याउने दुष्प्रयासका बावजुद, यी सबै परिस्थितिमा आएका परिवर्तनका बावजुद आज पनि हामी देशको प्रमुख पार्टी हौं । कम्युनिष्ट आन्दोलनको मूलधार मात्रै होइन । कम्युनिष्ट आन्दोलनको त मूलधार छँदैछ । नेपालको लोकतान्त्रिक आन्दोलन, नेपालको राष्ट्रिय आन्दोलन, नेपालको राजनीतिक आन्दोलन, नेपालको विकासको अभियान यी सबैको नेतृत्वकर्ता, मूल प्रवाह, मूलधार यही पार्टी हो । यसैको विचारको सेरोफेरोमा, यसैको विरोध वा समर्थनमा, यसैका नीतिहरुको थपघट, काँटछाट गरेर अरु पार्टीहरु चल्न बाध्य छन् । तसर्थ, हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मूलधार हो । राष्ट्रिय राजनीतिको मार्गदर्शक पार्टी हो ।

यो जनताका हितहरुको, राष्ट्रिय हितहरुको एकलौटी एकाधिकार, उत्तराधिकारी र एकलौटी जिम्मेवार पार्टी हो । तसर्थ, हाम्रो काँधमा अत्यन्त गहन जिम्मेवारी रहेको छ । त्यो जिम्मेवारी हामी वैचारिक स्पस्टताका साथ, त्यो वैचारिक स्पष्टतामा आधारित, सुदृढ पार्टी एकताका साथ, अत्यन्तै अनुशासित पार्टीका साथ र गतिशील ढंगले अगाडि बढेर सही विचार, सही बाटो, सही कार्यदिशा, सशक्त, व्यापक, सुदृढ र अनुशासित, गतिशील संगठनको बाटोबाट मात्रै पूरा गर्न सक्छौं । विभिन्न पेशा, वर्ग, समुदाय, विभिन्न भूगोल, जहाँसुकै रहेका, भएका भए पनि जनतालाई संगठित गर्दै अगाडि बढेर मात्रै हामी हाम्रा अभिभाराहरु पूरा गर्न सक्छौं ।

तसर्थ, हामीले अत्यन्तै अप्ठ्यारो, असहज अवस्थामा पनि सदैव एकतामा जोड दियौं । विभाजन होइन, एकता । अनेकता होइन, एकता । हामीले अन्तरविरोधलाई चर्काउँदै लाने होइन, अन्तरविरोधको समाधान गर्दै लाने हो । हामी आन्दोलनका पनि समस्या होइनौं, हामी पार्टीका पनि समस्या होइनौं । हामी समस्याको समाधान हौं । हामी कहीँ समस्या आइपर्‍यो भने त्यसको समाधान दिन्छौं । हाम्रो नीति त्यो हो । हामी समस्या बन्दैनौं, समाधान दिन्छौं । वैचारिक ढंगले समाधान दिन्छौं, बाटो दिन्छौं । सांगठनिक ढंगले समाधान दिन्छौं, आन्दोलनका ढंगले, संगठनका ढंगले समाधान दिन्छौं । विकासका ढंगले समाधान दिन्छौं । देशभक्तिका ढंगले हामीले समाधान दिन्छौं । हामी सामाजिक न्याय र समानताका प्रश्नहरुमा समाधान दिन्छौं । यसरी हामी हाम्रा काममा अगाडि बढ्छौं ।

आज मलाई खुशी लागेको छ, हामी सबै यस ठाउँमा उपस्थित भएका छौं । हामीमा हिजो अन्तर्विरोध रहेका होलान् । हिजो मनमुटाव भए होलान्, हिजो खटपट भए होलान् । ती कुराहरुको समीक्षा कालान्तरमा गएर गरिन्छ । भोलि कुनै उपयुक्त समयमा त्यसको समीक्षा गरौंला । हिजोका कुरा सम्झिएर हामीले हाम्रा आजका अभिभारा बिर्सने काम गर्नु हुँदैन । हामी भित्रका समस्या सम्झिएर बाहिरका समस्या समाधान गर्ने प्रश्नलाई नजरअन्दाज गर्न हुँदैन । त्यसकारण यतिबेला हाम्रा निम्ति महत्वपूर्ण कुरा छ– एकता । त्यसकारण हामीले एकतालाई कसरी सबल, सुदृढ गर्न सक्छौं, त्यो कुरामा ध्यान दिनुपर्छ ।

०००

अर्को कुरा, म एकपटक फेरि सम्झाउन चाहन्छु– केन्द्रीय कमिटीको बैठकमा, हामी विभिन्न पृष्ठभूमिबाट आएका छौं । नेकपा (एमाले)को पृष्ठभूमिभित्र थुप्रै पृष्ठभूमि छन् । केके पृष्ठभूमि छन् छन् । अनेक पार्टी छोडेर आएका छौं, अनेक पार्टी परित्याग गरेर आएका छौं । अनेक समूह नै लिएर आएका छौं । समूह नै मिलेका छौं । र, नेकपा एमाले बनेको छ ।

त्यसैगरी विभिन्न समूह मिलेर माओवादी केन्द्र बनेको, टुटफुट आदिका बीचबाट एकता हुँदै र अन्तिम किस्ता हामीले पार्टीलाई एकताबद्ध बनाएर लग्यौं । यो पार्टी एउटा सुदृढ पार्टी, नेपालीव्यापी पार्टी हो । म देशव्यापी मात्रै भन्दिनँ । जहाँ नेपाली छन्, यो पार्टी ती सबै ठाउँमा छ । यो पार्टी देशको भूगोल भित्र मात्रै सीमित छैन । जहाँ नेपाली पुगेका छन्, त्यहाँ यो पार्टी छ । लगभग १५ प्रतिशत नेपालीहरु देश बाहिर छन् । तीमध्ये अधिकांश नेपालीहरु खासगरी युवाहरु छन् ।

अर्को न्यूनतम रुपमा गाउँठाउँबाट गएका भए पनि त्यहाँ पुगेपछि अलिकति भए पनि उनीहरु आइटी फ्रेण्डली भएका छन् । आधुनिक प्रविधिको प्रयोग गर्न जान्ने भएका छन् । कामको स्केल अलिक बुझेका छन् । त्यस्तो खालको जनशक्ति देशबाहिर छ । त्यो जनशक्तिमा पनि नेकपा एमाले एउटा मजबुत शक्तिका रुपमा छ । हामीले आजको नेकपा एमाले भन्दा माओवादी केन्द्रसहित मिलेको २०७५ जेठ ३ गते विभिन्न धारबाट मिल्दै आएका दुईवटा प्रमुख कम्युनिष्ट पार्टीहरु मिलेर बनेको पार्टीलाई बुझ्नु पर्छ । तिनका आफ्ना आफ्ना हैसियत हुँदा हुन् । ती दुईवटा पार्टी मिलेर एउटा एकीकृत पार्टी बनेको थियो । नाम हामीले एकीकृत राखेनौं । नाम राख्दा एकीकृत हुने होइन । हाम्रो पार्टी एकीकृत थियो, नाम एकीकृत थिएन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नाम थियो । पार्टी एकीकृत थियो । कहिले कहिले मान्छेलाई झुक्याउनका लागि पनि कसैले एकीकृत नाम राख्छन् । जस्तो हिजो नक्कली सनाखत भएको माधब नेपालद्वारा नेतृत्व गरिएको भनिएको अवैध पार्टीको नाम पनि एकीकृत राखेका छन् । सकेसम्म फुट्ने, नामचाहिँ एकीकृत राख्ने । सकेसम्म फाटोवादी नीति लिने, तर नाम उच्चारण चाहिँ एकताको गर्ने । एकताको सम्भावना सिध्धिएको छैन, भोलि पनि हामी एकता गर्न सक्छौं भन्ने । तिनका ती ढाँट कुराहरु हुन् ।

वास्तवमा नेपालमा कम्युनिष्ट आन्दोलनभित्र विभाजन आउनु दुखद कुरा थियो । यो विभाजन अहिले होइन, हामी यहाँ उपस्थित प्रायःसबैले राजनीति सुरु गर्नुभन्दा अगाडि यो विभाजन भइसकेको थियो । हामी राजनीतिमा लाग्नुभन्दा अगाडि यो विभाजन सुरु भइसकेको थियो र विभाजन भइराखेको थियो । त्यस विभाजित आन्दोलन भित्रबाट हामी उम्रियौं । हामीले राजनीति गर्न थाल्यौं । हामीले संगठन निर्माण, विस्तार र एकीकरण गर्न थाल्यौं र यस ठाउँमा ल्याइपुर्‍यायौं । हामीले पार्टी एकतालाई सुदृढ गर्दा र हामीभित्र हिजो देखापरेका समस्या समाधान गर्दा ०७५ जेठ ३ गते भएको पार्टी एकीकरणलाई कायमै राखेका हौं । केही मान्छेले पार्टीलाई विभाजित गरे । एकीकरण हामीले छोडेका होइनौं, हामीले तोडेका होइनौं । पार्टी कब्जा गर्ने केही मान्छेहरुको नियतले पार्टी विभाजन भयो । पछि २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले अर्कै पार्टीको नाममा नाम दर्ता भएकोले दर्ता खारेज हुने ठहर्छ, दर्ता बदर भयो भनेर भन्यो ।

हामी सबैलाई थाहा छ– दर्ता बदर भएपछि सर्वोच्च अदालतले भन्यो दर्ता बदर भयो, यसकारण अब नयाँ नाम लिएर दर्ता गर्न समय दिनु भनेर निर्वाचन आयोगलाई आदेश दियो । निर्वाचन आयोगले हामीलाई समय दियो । यदि एकताबद्ध भएरै जाने हो भने किन प्रयास नगर्ने भनेर हामीले प्रयास ग¥र्यौं, आग्रह ग¥यौँ । तर, अदालतको फैसलाका कारण पार्टी तोडफोड भएको थिएन । पार्टी कब्जामा लिने केही मान्छेको बदनियतका कारण पार्टी फुटेको थियो । हामीहरु वस्तुतः विभाजित भइसकेका थियौं । त्यो विभाजित स्थितिमा एकताबद्ध हुने हो भने नयाँ नामका साथ फेरि दर्ता गर्नू भन्ने अदालतको आदेश अनुसार हामीले दर्ता गर्न कोसिस गर्‍यौं । तर दर्ता गर्न सकिएन । अर्को पक्षले नमानेपछि कसरी दर्ता हुन्छ ? एकीकृत पार्टी फेरि नयाँ नाममा दर्ता भएन । केही मान्छेहरु एकीकृत पार्टीबाट चोइटिएर गए । कानूनी हिसाबले प्रचण्डले नेकपा माओवादी केन्द्रको नाम पाउनु भयो । तर एकीकरण असफलतामा टुंगिएर माओवादी केन्द्र राजनीतिक हिसाबले प्रचण्डसँग गएको होइन । एकीकरणमा भएका साथीहरु यही पार्टीमै रहनु भयो । एकीकृत पार्टीमै रहनु भयो । एकीकरणको सिलसिला जारी नै रह्यो र यस पार्टीको नाम दुईवटा मिलेर फेरि नयाँ नाममा दर्ता नभएको हुनाले यसको नाम साविककै नेकपा एमाले भयो । हामीले जेठ २ मा फर्किने भनेको वस्तुतः त्यो हो ।

हामी जेठ २ मा फर्कियौं । अथवा जेठ ३ मा भने पनि हुन्छ । एकीकरण पूर्वको स्थितिमा जेठ २ भन्नुस्, जेठ ३ भन्नुस् त्यस स्थितिमा फर्कियौं पार्टीगत हिसाबले । यो कानूनी प्रश्न हो । यस कानूनी प्रश्नलाई गलत ढंगले बुझेर हामी एकीकरणको त्यो सिलसिला भुल्न वा अस्वीकार गर्न सक्दैनौं । त्यस एकीकरणलाई कायमै राख्न प्रतिबद्ध कमरेडहरु, त्यसवापत माओवादी केन्द्रको नाम र वैधानिकता जसले प्राप्त ग¥यो, उसले गरेका दण्ड, सजाय, निष्काशन, कारबाही र त्यसबापत भोग्नु परेका सबै भोगेर आउनु भएको छ । सांसदबाट हट्नु भएको, निष्काशन हुनुभएको छ र कतिपय मन्त्रीबाट राजीनामा दिएर आउनु भएको छ । कतिपय साथीहरु प्रदेशसभा सदस्यबाट निष्काशित हुनु भएको छ । त्यसकारण यस परिस्थितिमा एउटा भोगाइका साथ, फेरि पनि बलिदानका साथ एकीकरणलाई निरन्तरता दिइएको छ । यो कानूनी प्रश्न होइन, राजनीतिक प्रश्न हो । एकीकरणलाई हामीले निरन्तरता दिएका छौं ।

यतिबेला एकीकरणलाई निरन्तरता दिने प्रश्नमा अझ एकीकरणको भावनालाई सही ढंगले व्याख्या गरेर हामीले माओवादी केन्द्र भनेर भुलबश प्रचण्डका पछाडि जानु भएका साथीहरुलाई पनि फर्काउनु पर्छ । एकीकरणमै फर्काउनु पर्छ । उहाँहरुलाई ल्याउने होइन, फर्काउने हो । प्रचण्डले उहाँहरुलाई झुक्याएर धोका दिएर लैजानु भएको छ । त्यसकारण उहाँहरुलाई हामीले फर्काउनु छ ।

हामीले अस्तिका दिन पनि स्थायी कमिटीबाट एउटा वक्तव्य दियौं । भ्रमवश विभाजन र नयाँ दल दर्ता र सनाखतमा जानु भएका साथीहरु हुनुहुन्छ । त्यो दर्ता सदर पनि हुँदैन । किनभने त्यो धोकापूर्ण रुपमा अध्यादेशमार्फत ल्याइएको कानूनसम्मत पनि छैन । यदि कानून हेर्ने हो भने, यदि न्याय हेर्ने हो भने, यदि लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने हो भने त्यो वैध छैन, तर लोकतान्त्रिक मूल्य मान्यता सरकारले छोडिसकेको छ । यदि त्यसलाई अलिकति पनि पछ्याउने हो भने यो दर्ता सदर हुन सक्दैन । त्यतातिर भ्रमवश लागेका साथीहरुलाई भन्न चाहन्छु– त्यहाँ के छ उद्देश्य ? माधब नेपालको अहंकार बाहेक, माधब नेपालको पदलोलुपताबाहेक अरु के छ त्यहाँ ? के विचार छ ? के उद्देश्य छ ? विरोधीसँग मिलेर आफ्नो पार्टीमाथि प्रहार गर्ने त्यो व्यवहार, गलत मनसाय, गलत नीति र गैरजिम्मेवार तरिका बाहेक के कुरा छ त्यहाँ ? केही पनि छैन । कुनै नीति, उद्देश्य केही छ ? केही पनि छैन ।

त्यसकारण त्यहाँ भ्रमवश गएका साथीहरुलाई पनि हामीले फर्किनुस् भनेर आह्वान गरेका छौं । हामीले सुनिश्चित गरेका छौं कि कसैप्रति भेदभावपूर्ण व्यवहार गरिने छैन । हिजो भएका कमीकमजोरी, गल्ती, त्रुटीहरुका कारणले कसैप्रति भेदभाव वा पक्षपात गरिने छैन । हिजोका ती कुराहरुलाई विषय बनाएर कारबाही गरिने छैन । हाम्रो पार्टी महान् उद्देश्य बोकेको पार्टी हो । त्यसकारण यस पार्टीले त्यो महान् उद्देश्य, महान अभिभारा बहन गर्ने, त्यसका निम्ति आफ्ना अगाडिका वास्तविक चूनौतीको सामना गर्नु पर्नेछ । यस्तो बेलामा अभिभारातर्फ ध्यान नदिएर, चुनौतीको सामना छोडेर, आपसमै कसलाई के गर्ने, कसलाई के गर्ने आदि कुराहरुतर्फ हामी जान थाल्यौं भने त्यसले हामीलाई राम्रो गर्दैन । त्यसकारण हामी उहाँहरुलाई फर्किन आग्रह गरिरहेका छौं ।

०००

अर्को कुरा, म कमरेडहरुलाई भन्न चाहन्छु– पार्टी विधिविधान, अनुशासन अन्तर्गत चल्दैन भने पार्टी रहँदैन । बजारमा जम्मा भएका मान्छेजस्तै एउटाको माछा किन्ने उद्देश्य छ, अर्काको माछा बेच्ने उद्देश्य छ । अर्को दही किन्न जान्छ, अर्को बेच्न जान्छ । अर्को मूला किन्न जान्छ, अर्को साडी किन्न जान्छ, अर्को टोपी किन्न जान्छ, अर्को जुत्ता चप्पल किन्न जान्छ । तिनका उद्देश्य फरक फरक छन् । बेग्लाबेग्लै पसलमा जान्छन्, बेग्लाबेग्लै सामान किन्छन् । बेग्लाबेग्लै मूल्य तिर्छन् । तिनीहरुको कुनै पनि एउटै सरोकार हुँदैन । खाली सामान बेच्नेलाई बेच्नु छ, किन्नेलाई किन्नु छ । बजारमा मान्छे धेरै हुन्छन् तर कुनै संगठन हुँदैन । यदि हामी विधानमा गएनौं, नीतिमा गएनौं, विधिमा गएनौं, अनुशासित ढंगले चलेनौं भने पार्टी पार्टी हुँदैन । त्यो हाटबजार हुन्छ । तसर्थ हामीले पार्टीलाई पार्टीको रुपमा चलाउनु पर्छ ।

त्यसकारण हामीले केही दिन अगाडि १४ जनालाई कारबाही गर्‍यौं । हामीले थाहा पायौं– यो घट्दै गएर २० प्रतिशतमा पुग्छ । हामी हेरिराखेका छौं त्यतातिर । हामीले ‘म्याग्निफायर’ लगाएर हेरिराखेका छौं । त्यहाँ के भइराखेको छ भन्दा अन्तिममा हाम्रो पार्टी फुटाउनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भन्ने प्रावधान अध्यादेशमा ल्याइयो । त्यसैकारण हामीले त्यसमा पनि ध्यान दिएका हौं । पार्टी फुट्न नपाओस्, पार्टी फुटेन भने हामीले भोलि अरु हिसाबले व्यवस्थापन गर्न सक्छौं, जोगाउन सक्छौं । यसर्थ जोगाउने बाटोमा हामी लाग्यौं, पार्टी फुट्न नदिने बाटोमा हामी लाग्यौं । हामीले कारबाही गर्‍यौं । तर सभामुखले आफूले गरिरहेको अभ्यास र कानुनलाई लत्याएर हामीले गरेको कारवाहीको सूचना दिन मानेनन् । टोपबहादुरजी यहीँ हुनुहुन्छ, लेखराज भट्टजी यहीँ हुनुहुन्छ । उहाँहरुलाई र प्रभु साहजीहरुलाई कारबाही गर्दा हतार हतार सूचना जारी गर्नुपर्ने । तर, नेकपा एमालेजस्तो देशको प्रमुख पार्टीले कारवाहीको सूचना दिंदा सभामुखले संवैधानिक दायित्व वहन नगर्ने बाटो अपनाए ।

नेकपा (एमाले) प्रमुख प्रतिपक्ष मात्रै होइन, संसद्को सबैभन्दा ठूलो पार्टी पनि हो । हिजो नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष थियो । हामी नेपाली काँग्रेसजस्तो कानुनी रुपमा प्रमुख प्रतिपक्षको हैसियतको मात्रै पार्टी होइनौं । देशकै प्रमुख राजनैतिक शक्ति, प्रमुख पार्टी हौं । त्यस हिसाबमा पनि हामी प्रमुख प्रतिपक्ष मात्र होइनौँ, सबैभन्दा ठूलो पार्टी पनि हौं । तर, यस्तो पार्टीले गरेको कारबाही ७ दिनसम्म उनले अल्झाएर राखे, त्यसपछि दाँत दुखेको छ भने । दाँत दुखेर निर्वाचन आयोगमा गोलमोटल भाषाको पत्र लेख्न सकिन्छ, तर कारवाहीको सूचना टाँस्न सकिन्न ? सचिवहरुले सूचना टाँसौं कि क्या हो हजुर भन्दा सभामुखले ‘अँ’ भन्दिए पुग्ने ठाउँमा दाँत दुखेर त्यति पनि भन्न सकेनन् ? त्यति गर्नुपर्ने ठाउँमा सभामुखले किन रोकिराखेका छन् ? सभामुखले आफ्नो सभामुखीय पदको मर्यादा कायम गरेका छैनन्, हैसियत कायम राखेका छैनन् । सभामुखको पदले पालना गर्नुपर्ने, कायम राख्नु पर्ने निष्पक्षता कायम राखेका छैनन् । अर्थात् उनी सभामुख हुन योग्य छैनन् भन्ने देखिन्छ । यसको प्रतिबिम्व, यसको असर आगामी दिनका संसदीय बैठकहरुमा देखिने छ । किनभने यो धेरै सिरियस कुरा हो । सभामुखले मनपरी गरेर चल्छ ? मनपरी गरेर पेलेर चलाउँछु भन्ने सभामुखको हैसियत होइन । एउटा पार्टीको बफादार कार्यकर्ता भएर, एउटा पार्टीको स्वार्थका निम्ति मरिमेटेर नाङ्गो नाच गर्ने र अर्को पार्टी प्रतिपक्षका विरुद्ध, त्यही संसदमा उपस्थित प्रमुख पार्टीका विरुद्ध वैरभाव राखेर, त्यसलाई विभाजन गर्ने षड्यन्त्रमा सामेल हुने काम सभामुखले गर्छ भने यो अत्यन्तै खेदजनक कुरा हो । नेपालको संसदीय व्यवस्थाप्रति, नेपालको लोकतान्त्रिक प्रणालीप्रति वैरभाव राख्ने र यसलाई कमजोर पार्ने खेल हो । यसरी संसद् चल्नै सक्दैन र संसदीय प्रणालीको भविष्य पनि खतरामा पर्छ । संसद् चल्न नसक्ने विन्दुमा पुर्‍याएर समाप्त पार्ने उहाँको यो षड्यन्त्रपूर्ण व्यवहार वास्तवमै निन्दनीय छ । उनको यो व्यवहार वास्तवमै भत्र्सनायोग्य छ । यो अहिले सिद्धिने विषय होइन । यो व्यवहार पछि पनि प्रकट भइरहन्छ र यसको प्रतिक्रिया पनि प्रकट भइरहन्छ । यो अलिक परैसम्म जान्छ ।

कमरेडहरुलाई थाहा छ– हाम्रो पार्टी विभाजन गर्नका लागि चलिरहेको अधिवेशन राती १२ बजे अन्त्य हुन्छ । ७ दिनपछि सरकारले यो गर्छ, त्यो गर्छ भन्ने आदेश दिने । ७ दिन पछि म अधिवेशनमा यहाँ यो ल्याउँछु, त्यो ल्याउँछु भन्ने र एक महिनामा यो गरिन्छ, एक महिनामा विधेयकहरु पास गरिन्छ, यो विधेयक पास गर्न पर्नेछ भनेर न्यूनतम साझा कार्यक्रम, यसै संसदबाट यो यो गर्ने भनेर ल्याउने र अचानक एकछिन्पछि सदन बन्द गरिदिने । १२ बजे राती सदन बन्द हुन्छ, भोलि बिहानै अध्यादेश तयार भएर राष्ट्रपतिकहाँ पठाइन्छ । भनेपछि यो पुरानो षड्यन्त्र हो भन्ने स्पष्ट छ । संसद छलेको र संसद छलेर अध्यादेशले कुशासन चलाउन खोजेको हो भन्ने यसले देखिन्छ । शासन चलाउन खोजेको देखिँदैन । यो नेपालमाथि, नेपाली जनतामाथि, नेपाल राष्ट्रमाथि कुशासन लाद्न खोजेको हो । यो उद्देश्यहीन, दिशाहीन, गन्तव्यहीन, स्वार्थी तत्वहरुको गठजोडले नेपाली जनतामाथि अध्यादेशमार्फत कुशासन लाद्न खोजेको हो ।

सदन नचलिरहेका बेला तत्काल देशका लागि, जनताका लागि केही परेमा, केही आकस्मिक रुपमा गर्न परेमा अध्यादेशको बाटोबाट कानून निर्माण गरिन्छ । त्यो संवैधानिक प्रश्न हो । सरकारलाई त्यो अधिकार छ, तर अधिवेशन नचलेका बेला तत्काल देशका लागि केही गर्न पर्ने भएमा । यो अपराधी गठनबन्धले नेकपा एमाले फुटाउनका लागि अध्यादेश ल्यायो । के यो देशका लागि अपरिहार्य आवश्यकता हो रु कि उनीहरुको आपराधिक उद्देश्यको लागि हो रु त्यसकारण यो अपराधिक कुकृत्य हो । देशको आवश्यकता होइन, जनताको आवश्यकता होइन । यो षड्यन्त्रपूर्ण कुरा हो । यसबाट हामी कस्तो घेराबन्दीमा छौं भनेर बुझ्न सकिन्छ । यो ‘नयाँ पार्टी’ यत्तिकै फुट भनेर दर्ता गर्न गएका छैनन् । त्यसका पछाडि राष्ट्रियरअन्तर्राष्ट्रिय शक्तिहरुको ठूलो चलखेल छ, भूमिका छ । यो कुरा हामीले बुझ्नु पर्छ । यहाँ ठूलो चलखेल छ, ठूलो भूमिका छ ।

०००

नेपालमा कम्युनिष्ट आन्दोलन आश्चर्य लाग्दोगरी चुनावको माध्यमबाट, एकता एकीकरणको बाटोबाट, जनताको पवित्र अभिमतद्वारा, जनादेशद्वारा दुईतिहाइका साथ सरकारमा पुग्छ । जनविश्वासद्वारा कम्युनिष्ट आन्दोलन देशैभर एकछत्र ढंगले छाउँछ । सरकारमा छाउँछ, केन्द्रीय सरकारमा छाउँछ, प्रादेशिक सरकारमा छाउँछ, स्थानीय तहहरुमा छाउँछ । जनव्यापी रुपमा, प्रिय पार्टीको रुपमा उदाउँछ । प्रतिक्रियावादीका मुटुमा कस्तो भएको होला रु मुटुमा किलो ठोकेको जस्तो भएको छ । त्यसैकारण देश विदेशका प्रतिक्रियावादीहरु त्यो मुटुको किलो निकाल्न खोज्छन् । अहिले एउटा पार्टी दर्ता हुन पुग्नु, पहिले हाम्रो पार्टी विभाजित हुन पुग्नु, हाम्रो भूमिका सत्तापक्षबाट प्रतिपक्षमा पुग्नु, प्रदेश प्रदेशका सरकार ढाल्नुरढालिनु र अहिले पार्टी दर्ता हुनु यही सिलसिला हो । प्रतिक्रियावादीको मुटुको किलो उखेल्ने प्रयासको निरन्तरता हो, यो त्यसैको सिलसिला हो ।

तर, म भन्न चाहन्छु– कमरेडहरु, हामी अलोकतान्त्रिक बाटो हिँड्दैनौं, अशान्तिको बाटो हिँड्दैनौं, हामी असंवैधानिक, विधिहीन बाटो हिँड्दैनौं । विश्वले, दुनियाँले, संयुक्त राष्ट्रसंघले मानेका स्थापित विश्वव्यापी रुपमा स्वीकृत, उच्चतम सिद्धान्त र मूल्य मान्यताका आधारमा हामी अगाडि बढ्छौं । हामी प्रतिक्रियावादी शक्तिहरुलाई तिनै मूल्य मान्यता, तिनै उच्चतम र स्थापित, विश्वव्यापी रुपमा स्थापित उच्चतम मूल्य मान्यताहरुमा अब्बल ठहरिएर अरुभन्दा दुई कदम अगाडि उभिएर, दुई कदम अगाडि बढेर, दुईचार फिट उचाइ राखेर अगाडि बढ्छौं । र, हामी हाम्रो देशमा आफ्नो हैसियत कायम गरेर छोड्छौं ।

हिजो हामी एकीकरणबाट दुईतिहाइ लगभग पुगेका थियौं । अब एकीकरणबाट होइन, आगामी दिनमा थप एकीकरण गरिरहनु पर्दैन । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टी दुई तिहाइको हैसियत कायम राख्ने अठोटका साथ अगाडि बढ्दा यसले मजासँग सफलता प्राप्त गर्न सक्छ । किनभने जनताको विश्वास अरुमाथि छैन । अस्ति मैले एकजना वकीलसा’पको अन्तरवार्ता हेर्दैै थिएँ । कंग्रेसलाई जनताले के भनेर भोट दिन्छ ? लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समस्या भनेवापत भोट दिन्छ ? भूमिसम्बन्धी समस्या समाधान गर्न खोज्यो, सुकुम्वासी गरिबका समस्या समाधान गर्न खोज्यो भनेर अघिल्लो सरकारले बनाएको भूमि आयोग विघटन गरेर जनविरोधी काम गरेवापत भोट दिन्छ ? बजेट रोकेवापत ? पुनःनिर्माणका काम ठप्प गरेवापत ? अथवा के गरे वापत ? विध्वंश मच्चाएर अलोकतान्त्रिक ढंगबाट संसद छलेर रातारात संसद अन्त्य गर्ने र बिहानै अध्यादेश ल्याउने छली, अलोकतान्त्रिक क्रियाकलाप गरेको हुनाले भोट दिने ? कि नेकपा एमालेलाई गाली गरेको हुनाले भोट दिने ? के गरेको छ र काँग्रेसले भोट माग्छ जनतासँग ? मैले अरुअरु पार्टी फुटाएँ भनेर कि के भनेर भोट माग्छ ? नेकपा एमालेलाई भोट के भनेर नदेउ भन्ने ? देशभरी पक्की बाटो बनायो, तुइन विस्थापन गर्‍यो, झोलुङ्गे पुल बनायो, पक्की पुल बनायो, पुनःनिर्माणका काम छिट्टै ग¥यो, त्यसैले भोट नदेऊ भन्ने ? धरहरा पनि खडा गर्‍यो, रानीपोखरी पनि बनायो, दरवार हाइस्कुल तयार गर्‍यो । कार्यालय, स्कूल, कलेज, ३ सय ९६ अस्पताल एकैदिन शिलान्यास भएर काम सुरु गर्‍यो भनेर भोट नदेऊ भन्ने ? एउटा दशरथ रंगशाला भत्केको अवस्थामा थियो । बाँकी कहीँ थिएन । अहिले रंगशालाहरु तयार भइसकेका छन्, त्यसैले भोट नदेऊ भन्ने ? रंगशालाहरुमा हामीले १३औं साग खेलायौं । तयार भइसकेका जनकपुर, पोखराका रंगशालामा खेलायौं । अरु रंगशाला निर्माण भइरहेका छन् । हामीसँग ससाना सिटी र एकेडेमी हल बाहेक सभाहल थिएनन् । ससाना यस्तै हल बाहेक सभागृह भन्ने खालका केही पनि थिएनन् । अहिले जिल्ला जिल्लामा सभागृह, प्रदेश प्रदेशमा सभागृहहरु कति पुगिराखेका छन् ? तपाईं हामीले देखिराखेका छौं ।

सडकमा बालबालिका रहन दिएन, हटायो । सबै खत्तम गर्दियो, सडक मानव हुन दिएन एमालेले, सबै वन्दोवस्त गर्दियो भन्ने ? अलपत्र, वेसाहारा बुढाबुढी सडकमा छैनन् । सबैको वन्दोवस्त गर्दियो भन्ने ? अथवा ज्येष्ठ नागरिकहरुको जीवन बीमा गर्‍यो भन्ने ? त्यसकारण यसलाई हराउनु पर्छ भन्ने ? के भन्ने ? उनीहरुसँग भन्ने कुनै पनि कुरा छैन । प्रचण्डले के भन्ने ? प्रचण्डको हैसियत भनेको हिजोको माओवादी केन्द्रको आधा मात्र हो । उनले माओवादी केन्द्रको आधा हिस्सा लिएर गएका छन् । बाँकी आधा हिस्सा चुनावसम्म हामीले ल्याइसक्छौं । प्रचण्डसँग अव माओवादी केन्द्रको टुप्पी मात्र बाँकी रहन्छ । सबै सिद्धिसक्छ । माओवादी केन्द्रको टुप्पी मात्रै लिखिर लिखिर, पुष्पकमल दाहाल प्रचण्ड ! टुप्पीमा वरपरतिरका, पखेटा मुनिका, खान पाएका तरमारेहरु दुईचार जना मात्र बाँकी रहन्छन् । टुप्पी भनेको एक्लै हुँदैन नि, धेरै रौँ हुन्छन् । धेरै त्यान्द्रा हुन्छन् । त्यस्तै त्यान्द्रा बाँकी रहन्छन् । अनि अरु को छ ? अहिले नै प्रचण्डले भनेको तपाईंहरुले सुनिराख्नु भएको छ– एक्लै एमालेसँग लड्न सकिँदैन । म पनि भन्छु– एमालेसँग लड्न नचिताए हुन्छ । यो सबै स्वीकारीराखेका छन् । मोर्चा बनाएर लड्छु भन्छन् । अब एउटा कुरा भन्न बाँकी छ– मोर्चा बनाएर लडे पनि पार लाग्दैन एमालेसँग लड्न । यी मोर्चा बनाउने घटकहरु नै ससाना भइसके । त्यसकारण यिनका मोर्चा कत्रो हुन्छ ? हामी सुदृढ छौं, सुदृढ ढंगले अगाडि बढ्नु पर्छ ।

०००

हाम्राविरुद्ध विभिन्न संवैधानिक निकायहरु समेत अचम्मलाग्दो प्रेसरमा परेको देखिन्छ । कानून विपरीत देखिइदेखिइकन बलमिच्याँइपूर्ण ढंगले काम गरेको देखिन्छ । जनादेशको सरकारलाई परमादेशबाट दुनियाँमै कहीँ नभएको प्रधानमन्त्री अदालतबाट तोक्ने जस्ता कुरा यहाँ भइराखेको छ । त्यो त हामीले देख्यौं नै । त्यो बाहेक १ गते १४ जनालाई निष्काशन गरेको पत्र हामीले संसद सचिवालय र निर्वाचन आयोगमा पठाएका छौं । कारबाही गर्ने हामीले हो । सभामुखले सूचना मात्रै दिने हो । हामीले गरेको कारवाहीलाई ‘विचारधीन’ रहेको भनेर निर्वाचन आयोगमा पत्राचार गरे । सभामुखले विचाराधीन राख्ने होइन । सभामुखसँग त्यसमा छानबिन गर्ने कुनै अधिकार छैन । उनको काम जम्माजम्मी सूचना टाँस गर्ने हो । सूचना टाँस नगरेर, यता छिटो गर्न लगाएर, निर्वाचन आयोगले ३५÷४५ दिन पाउँछ । तर निर्वाचन आयोगले ३५र४५ दिनको समय पाए पनि ८÷१० दिनमै किन गर्नुपर्‍यो ? एकहप्ता भित्र, २ गते दर्ता हुन्छ, ९ गते सनाखत गरेर प्रमाण पत्र दिन पर्ने किन भयो ? पहिले त यस्तै विषयमा महिनौं फैसला गरिँदैनथ्यो । कसैले नाम लेखिदियो, निवेदन दिँदा, पहिले हस्ताक्षर छैन । हस्ताक्षर गरेकाको पो सनाखत हुन्छ । हस्ताक्षर पहिले छैन, पहिले नभएकाको पनि हस्ताक्षर सनाखत । सनाखत भनेको भिडाउने हो । दस्तखत भिडाउने हो, निजको हस्ताक्षर हो कि होइन भनेर । पहिले हुँदै नभएका मान्छे भेला गरेर अनि हस्ताक्षर गरेपछि सनाखत भएर निर्वाचन आयोगले नयाँ हस्ताक्षर कसरी स्वीकार गर्‍यो ?

यो सनाखत होइन, पार्टी फुटाउने काममा निर्वाचन आयोगको अनावश्यक संलग्नता देखियो । यस्तो नहुनु पर्दथ्यो । यो धेरै दुखद् कुरा हो । संवैधानिक निकायहरुले संवैधानिक बाटो दृढताका साथ अबलम्वन गर्नुपर्ने, कानून कार्यान्वयन गर्नुपर्ने, न्यायको पक्षमा उभिनु पर्ने, आफ्नो संवैधानिक हैसियत र मर्यादा कायम राख्नु पर्ने, त्यसमा उभिनु पर्ने ठाउँमा निर्वाचन आयोग त्यसबाट विचलित हुन्छ । अन्तै गरेर पठाइदिएको हस्ताक्षरको सनाखत हुन्छ । करकापले कसैले गराएको हो कि रु अस्पतालको बेडमा भएको मान्छेको पनि ल्याप्चे ल्याइयो । कुनैकुनै जिल्लातिर जिस्क्याउनु पर्‍यो भने मान्छे निदाउने बेलामा, सुत्ने बेलामा औँठा लुकाएर सुत्छन् भन्ने भन्थे । अब अस्पतालमा पनि त्यसै गरेर औँठा लुकाएर बस्नु पर्ने ? कसले गर्‍यो सहीछाप ? मान्छे होसमा छ कि बेहोसमा छ कि ? आइसीयुमा छ कि भेन्टिलेटरमा छ कि के छ ? अब त्यस्तो ठाउँमा सनाखत भनेर एउटा कागज ल्याएको छ । त्यो पनि होसमा रहुञ्जेल यसो (मुठ्ठीमा औँला लुकाउने) गर्ने होला । त्यो फुत्किएपछि फेरि मुठ्ठी पनि हुँदैन । त्यस स्थितिमा पुगेर पार्टी फुटाउन राज्यका अंगहरुको दुरुपयोग भएको छ ।

हामीले निष्काशन गरिसकेका दश जना केन्द्रीय सदस्य त्यहाँ छन् । पहिले हस्ताक्षर नगरेका झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुडाल लगायतको त्यहाँ हिजो सनाखत भयो भनियो । यो नेकपा एमाले विरुद्धको, एमाले तोड्ने अभियानको एउटा अंगको रुपमा काम भएन र ? नेकपा एमालेले निष्काशन गरिसकेको, त्यो सूचना टाँस्न पर्दैन सभामुखले ? उनले १५ दिन टाँस्ने समय पाउँछ भने त्यो १५ दिन निर्वाचन आयोगले पर्खिनु पर्छ । के हतार भयो निर्वाचन आयोगलाई ? टाँस भन्न पनि सक्दैन । एमालेले निष्काशन गरेको सूचना यहाँ पठाएको छ भनेर संसदले लेखेर दिएपछि सूचना त भयो निर्वाचन आयोगलाई । अन्त टास्नु पर्‍यो र ? निर्वाचन आयोगको पेटीमा टाँस्नु पर्‍यो र ? संघीय संसदको सूचना पाटीमा टाँस्नु पर्‍यो र ? निर्वाचन आयोगलाई संसद् सचिवालयले के पत्र दिएको छ भने साउन २५ गते कारबाही गरिएको सूचना नेकपा (एमाले)ले भदौ १ गते संसद सचिवालयलाई पठाएको छ । भनेपछि निर्वाचन आयोगले जानकारी त पायो नि । निर्वाचन आयोगले त्यो जानकारी पाइसकेपछि संसद सचिवालयले निष्काशन गरिसकेको छ है २५ गते नै भन्ने सूचना १ गते हामीकहाँ प्राप्त भएको छ भनेर उसले सूचित गरिसकेपछि अर्को सूचना के हुन्छ ? कानूनमा सूचना पाटीमै टाँसिएको हुनुपर्छ, निर्वाचन आयोगलाई दिइएको सूचना चाहिँ सूचना हुँदैन भन्ने छ र ? यो त एकदम जाझेलपूर्ण कुरा हो । कानूनी कुरा होइन । १४ जना सांसद, १० जना केन्द्रीय सदस्य र अरु अनेक केन्द्रीय सदस्यको झुटो सनाखत भएको छ ।

म भन्न चाहन्छु– हामी यस सम्बन्धमा कानूनी उपचारका लागि सर्वोच्च अदालतमा जान्छौं । विल्कूलै गैरकानूनी ढंगले, आग्रहपूर्ण ढंगले, पक्षपातपूर्ण ढंगले निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्ने, तथाकथित सनाखत गर्ने, गैरकानूनी, अन्यापूर्ण, अनुचित क्रियाकलाप गरेको छ । यसका विरुद्ध हामी सम्मानित सर्वोच्च अदालत जान्छौं । म के विश्वस्त छु भने यति खुलेआम अन्याय गरेको कुरामा हामीले न्याय पाउनेछौं । म के ठान्छु भने हिजो दर्ता भयो भनिएको पार्टीको दर्ता बदर हुन्छ । त्यसकारण हामीले साथीहरुलाई यथोचित ढंगले फर्किने अवसर उपलब्ध गराउनु पर्दछ ।

०००

जे होस्, हामीले अब नयाँ उत्साहका साथ, नयाँ शिराबाट काम गर्नु पर्छ । त्यस नयाँ शिरामध्ये एउटालाई हामीले १० बुँदे पनि भनेका छौं । यसले हिजोको नेकपा एमाले भित्रको समस्या समाधान भयो । जेठ ३ गतेदेखि वा फागुन २३ देखि यताको एकता एकीकरणको जेठ ३ को निरन्तरतामा धक्का नपुर्‍याइकन अघि बढ्नु पर्छ । त्यसमा हामी धक्का पुर्‍याउन सक्दैनौं । त्यसलाई अस्वीकार गर्न सक्दैनौं । त्यो एकीकरणलाई हामीले राजनीतिक रुपमा अस्वीकार गरेको होइन । कानूनी रुपमा आ–आफ्ना पार्टीका पूर्व नामहरुलाई लिएर माओवादी केन्द्रको नेतृत्व प्रचण्डले र नेकपा एमालेको नेतृत्व मैले अध्यक्षको हिसाबमा गर्ने मौका पायौं । त्यसपछि दर्ता गर्न नगएको हुनाले त्यस्तो भयो । तर हामीले गरेको राजनीतिक एकीकरण हो, यो कानूनी लडाइँ थिएन । राजनीतिक उद्देश्य प्राप्तिका निम्ति गरिएको राजनीतिक कदम थियो । यो मुद्दा लडाइँ होइन । यो राजनीतिक उद्देश्य प्राप्तिका निम्ति गरिएको राजनीतिक कदम हो । यस कुरालाई पनि प्रतिकूल असर नपर्नेगरी कार्यदलको जुन १० बुँदे सुझाव छ, त्यसमा मैले सुरुदेखि भनेको छु– कमरेडहरु यसलाई सकारात्मक ढंगले लिन्छौं, रचनात्मक ढंगले कार्यान्वयन गर्छौं । कुनै पनि कुरा डग्म्याटिक ढंगले हुँदैन । बीचका घटनाक्रम, बीचका सन्दर्भ आदि इत्यादि सबै मिलाएर हेर्नु पर्छ । किनभने हामीले पार्टी चलाउनु छ । हिजो कुनै कारणले पद अहोदामा भएको साथी कुनै कारणले विस्थापित गरिएको छ भने अब फर्किएर काममा लाग्छु भन्दा पहिलेकै जिम्मेवारी दिने हाम्रो प्रयास रहन्छ । एकीकरणको सन्दर्भमा भएका व्यवस्थालाई खल्बल्याएर फेरि जेठ २ भन्दा अगाडि यो थियो भनेर एकीकरणको विषयलाई खल्बल्याएर हुँदैन । एकीकरणको विषय हामी खल्बल्याउन सक्दैनौं । एकीकरण त गरेको हो । त्यतिबेला एकीकरण चाहियो हामीले गर्‍यौं । अहिले एकीकरण चाहिँदैन जहाँसुकै जाउ भन्न सक्छौं हामी ? यो एकतर्फीको पार्टी हो र ? यो त एकीकृत पार्टी हो । यो हिजोको नेकपाको निरन्तरता हो । जेठ ३ गते गरिएको एकीकरणको निरन्तरता यसभित्र छ ।

फागुन २३ गतेको फैसलाले गर्दा अब हामी एमाले मात्रै भयौं भन्ने कुरा होइन । एमाले मात्रै होइन, हामी एकीकृत पार्टी नै हौँ । एकीकृत माक्र्सवादी लेनिनवादीको रुपमा थियौं, एकीकृत नेकपाको रुपमा छौँ । पार्टी हाम्रो हिजोको नाममा छ, हिजोको सबै कुरा छ । हामी त्यो एकीकरणका भावनाका साथ, एकीकरणको निरन्तरताका साथ अगाडि बढ्छौं । हिजो एकीकरण हुँदाखेरी कतिपय वैचारिक प्रश्नमा र नामको हकमा हामीले जनताको बहुदलीय जनवाद भन्दाखेरी विलन हुन आएकोजस्तो देखिने भएको हुनाले महाधिवेशनबाट फेरि गरौंला, अहिलेलाई जनताको जनवाद भन्ने राखौं भन्ने प्रचण्डको प्रस्तावलाई मानिएको थियो । त्यो सन्दर्भ समाप्त भएर अब हामी स्पष्टतः जवजको बाटोबाट अघि बढ्छौँ । त्यो सन्दर्भ समाप्त भयो । महाधिवेशनले के नाम राख्छ, के गर्छ महाधिवेशनको सर्वोच्ता हो । महाधिवेशनले नेकपा एमाले राख्छ, यो स्थापित नाम हो । अहिले पनि हामीले त्यही कोसिस गरेका छौं । संयुक्त चुनाव लड्दा सूर्य चिन्हमा लडौं भनेका थियौं । पछि एकीकरण भइसकेर हामी लड्दा सूर्य चिन्हबाटै लड्यौं । त्यसकारण जनतामा हामी कसरी लोकप्रिय हुन सक्छौं, कसरी सवल ढंगले प्रस्तुत हुन सक्छौं, सही ढंगले प्रस्तुत हुन सक्छौं, प्रश्न यो हो ।

तसर्थ हामी नयाँ उचाइको एकता, खँदिलो एकता, वैचारिक एकता र सुदृढ एकताका साथ अगाडि बढ्छौं । जनताका बीचमा जान्छौं । कानूनी लडाइँ पनि लड्छौं र प्रतिक्रियावादीको सामना पनि गर्छौं । विभिन्न मोर्चामै हाम्रो लडाइँ हुनेछ । हाम्रा पार्टी कमिटीहरु, जनवर्गीय, पेशागत, सामुदायिक संगठनहरु, हाम्रा सबै तहका सबै हैसियतका कमिटीहरु र हाम्रा सम्पूर्ण पार्टी सदस्यहरु, हाम्रा समर्थकहरु, शुभेच्छुकहरुको अत्यधिक, व्यवस्थित परिचालन हामी गर्छौं । त्यसका निम्ति यो केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीले अस्तिका दिन गरेकोे निर्णयलाई अनुमोदन नगर्नु पर्ने कुनै कारण छैन । १० बुँदेलाई केन्द्रीय कमिटीले अनुमोदन गर्‍यो । स्थायी कमिटीले अनुमोदन गर्‍यो र सकारात्मक ढंगले ग्रहण गर्ने, रचनात्मक, सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने भनेर अस्तिदेखि नै हामीले भनेका छौं । यसलाई माधब नेपालले अस्वीकार गर्नुभयो । माधब नेपालले यसलाई मान्नु भएन । माधब नेपालले समेत मान्नेगरी यो तयार भएको थियो । हिजोको प्रेस कन्फरेन्समा कमरेड योगेश भट्टराईले एकदम समुचित ढंगले त्यसको व्याख्या गरिसक्नु भएको छ । माधव नेपाल र उहाँको डफ्फाले समेत मान्ने भनेर यो तयार भएको थियो । तयार भइसकेपछि उहाँले यो हुँदैन भन्नु भयो । उहाँले मान्नु भएन । पार्टीले मान्यो । अब यो हाम्रो पार्टीको एकलौटी पुुँजी भयो । यसलाई लिएर हामीले माधब नेपालसँग कुनै रस्साकस्सी गर्नु परेन । उहाँले अस्वीकार गर्नुभयो र उहाँ आफ्नो बाटो लाग्नु भयो । तर, यो हाम्रो पार्टीको कर्तव्य हो । यसलाई व्यापक अर्थमा लागू गर्ने र पार्टी भित्रका समस्याहरु समाधान गर्ने काम हामी गर्छौँ । समस्या समाधान नगरेर हामी अगाडि बढ्न सक्दैनौं । समस्याका बीचमा अगाडि बढ्न सकिँदैन । अगाडि बढ्ने हो भने आन्तरिक समस्याको समुचित समाधान गर्नुपर्छ । कसैको भावनामा, कसैको सम्मानमा चोट नपुर्‍याइकन सबैले सम्मानजनक ढंगले काम गर्न पाउने स्थिति बन्न सकोस् भन्ने यसको अभिप्राय हो । त्यस ढंगले अगाडि बढौं भन्ने म कमरेडहरुसँग आग्रह गर्न चाहन्छु ।

(२०७८ भदौ १० मा नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनको सम्पादित अंश)