झण्डै साढे दुई अर्ब पचाउन चाप्लुसी गर्दै सिवम् सिमेन्ट, एकै दिनमा गर्‍यो ५० लाख खर्च 


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
3.8K
SHARES

काठमाडौँ –  सिवम् सिमेन्ट नेपाल विद्युत् प्राधिकरणलाई बिजुली उपयोग गरेबापत तिर्न पर्ने दुई अर्ब ३४ करोड रुपैयाँ नतिर्न साम, दाम दण्ड, भेदको नीतिमा उत्रिएको छ । सिमेन्टले बिजुली प्रयोग गरे बापत तिर्न पर्न रकम नतिरेर फकाउने, गलाउने, धम्क्याउने, तर्साउने रणनीति बनाएको हो ।

त्यसको सुरुवात विगतदेखि गर्दै आएको थियो । विभिन्न मन्त्रालय, तालु अड्डाहरूलाई आफ्नो प्रभावमा पार्नका लागि भित्रभित्रै चलखेल गरिरहेको सिमेन्टले त्यसमा असफल भएपछि सार्वजनिक रूपमै चाप्लुसीमा उत्रिएको छ ।

यसको सुरुवात भदौ १६ गते सार्वजनिक विज्ञप्ति निकालेर गरेको छ । आफूले विद्युत् प्राधिकरणलाई तिर्न पर्ने कुनै महसुल नरहेको भन्दै झुट बोलेको सिमेन्टले आज लगानी बोर्डलाई खुसी पार्न एक दैनिक पत्रिकामा बधाई सहितको विज्ञापन प्रकाशन गरेको छ ।

आज लगानी बोर्डको दसौँ वार्षिकोत्सवको हो । आजभन्दा १० बर्षअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगानी बोर्डको स्थापना गरेका थिए । यही अवसरमा सिमेन्टले लाखौँ खर्च गरेर पत्रिकाहरूलाई ज्याकेट लगाइदिएको हो ।

वैदेशिक लगानी भित्र्याउन स्थापना गरिएको बोर्डले बेलाबेलामा लगानी सम्मेलन गरेर विदेशी लगानीकर्तालाई आकर्षित गरिरहेको छ । सिवम् सिमेन्टले चीनको ठूलो सिमेन्ट उद्योगसँगको सहकार्यमा नेपालमा होङ्सी सिवम् सिमेन्ट उत्पादन गर्दै आएको छ । यो पनि बोर्ड मार्फत आएको लगानी हो ।

सुरुमा प्राधिकरणका कार्यकारी निर्देशक सहितका कर्मचारीलाई प्रलोभनमा पारेर विद्युत् महसुल नतिर्ने पक्षमा रहेको सिमन्ट कम्पनीले प्राधिकरणमा कुलमान घिसिङको आगमनसँग सार्वजनिक रूपमा बिजुली महसुल नतिर्ने घोषणा गरेको हो । कुलमानले जसरी पनि महसुल उठाउन सम्बन्धित कार्यालयका ताकेता गरेपछि सिमेन्टले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई समेत प्रभावमा पार्नका लागि विज्ञापन बाजीमा उत्रिएको हो ।

लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । नेपालको पहिलो महिला आर्जु राणालाई प्रभाव पार्नका लागि यो विज्ञापन गरिएको श्रोतको दावि छ । वैदेशिक लगानी भित्र्याउन पनि सिमेन्टले केही प्रक्रिया पुरा नगरेकाले पनि यो तहको चाप्लुसी भएको सिमेन्ट श्रोतकै दावि छ ।

कुरा महसुलको मात्र छैन् सिवम् सिमेन्टले बनेका अधिकांश संरचनाहरू निर्माण भएपछि पनि लामो समय टिक्दैनन् । उक्त सिमेन्टले बनेका संरचना भूकम्प प्रतिरोधी नहुने र छिटै भत्किने विज्ञहरूको भनाई छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले दिएको जानकारी अनुसार सिमेन्टमा म्याग्नेसियम अक्साइड (एमजिओ)को मात्र नेपालको मापदण्ड भन्दा बढी प्रयोग भइरहेको छ । शिवम् सिमेन्टमा म्याग्नेसियम अक्साइडको मात्रा ५ दशमलव ८ प्रतिशत भन्दा बढी भएको पाइएको विभागले जनाएको छ ।

सिमेन्टले म्याग्नेसियम अक्साइडको मात्र बढी हालेर उत्पादन गरिरहेको भन्दै विभागले कारवाहीका लागि यस अघिनै सिफारिस गरिसकेको छ । नेपालको मापदण्ड अनुसार म्याग्नेसियम अक्साइडको मात्रा ५ प्रतिशत भन्दा तल हुनुपर्छ अर्थात् ३ देखि ५ प्रतिशतसम्मको म्याग्नेसियम अक्साइडको प्रयोग भएको सिमेन्टलाई राम्रो मान्ने गरिन्छ ।

गुणस्तर तथा नापतौल विभागले गरेको ल्याब टेष्टमा शिवम् सिमेन्टमा म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो । विभागले गरेको नमुना सङ्कलन र परीक्षणका क्रममा सिमेन्टमा एमजिओको मात्रा ५ दशमलव ८ प्रतिशतसम्म भेटिएको थियो ।

यसरी आफ्नो उत्पादन गुणस्तरहीन बनाउने, सरकारलाई तिर्न पर्ने कर नतिर्ने र बिजुली महसुल तिर्न आनाकानी गरेर बदनाम बनेको कम्पनीले चाप्लुसी गरेर जनतामा भ्रम छरिरहेका छ ।

महसुल नतिर्ने भन्दै नेपाल विद्युत प्राधिकरणलाई सिवम् सिमेन्टको धम्की