खड्काले पाइन सानो उमेरमै अर्थ मन्त्रालयको जिम्मा, पहिलो महिला प्रधानमन्त्री बन्ने संकेत


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, भाद्र २४ २०७८
28.2K
SHARES

काठमाडौं – नेकपा एमालले बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा यसपटक युवा नेतृ रचना खड्कालाई दिएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिपरिषदमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

खड्कासँगै सिन्धुलीका प्रदिप कटुवाल,रामेछापका शान्ति प्रसाद पौडेल,काभ्रेका चन्द्र लामा, काठमाडौँका अजय क्रान्ति शाक्य ,चितवनका विजय सुवेदी, मकवानपुरकी जुनेली माया श्रेष्ठ भक्तपुरकी सरस्वती बस्नेत र नुवाकोटका बद्री मैनाली र ललितपुरका जीवन खड्कालाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेभित्रको विवादका कारण केन्द्रदेखि प्रदेशसम्मका सरकारमा हेराफेरी हुँदा विगतमा माधव नेपालसँग निकट रहेर हाल एमालैमै फर्किएकी खड्काले प्रदेशसभामा पुराना एमाले नेतालाई पछि पार्दै ३६ वर्षकै उमेरमा महत्वपूर्ण मन्त्रालयको जिम्मवारी पाएकी हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिपरिषद्मा उनी सबैभन्दा कान्छी मन्त्री बनेकी छिन् ।

५ असार ०४१ सालमा जन्मिएकी खड्काको राजनीतिक यात्रा ०५५ सालबाट सुरु भएको हो । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यको जिम्मेवारीबाट विद्यार्थी राजनीति सुरु गरेकी खड्का ०५५ सालमा प्रारम्भिक कमिटी उपाध्यक्ष थिइन् ।

०५६ सालमा प्राक अध्यक्ष भएकी उनी सोही वर्ष अनेरास्ववियुको जिल्ला सदस्यमा निर्वाचित भइन् । ०५७ सालमा जिल्ला सचिव भएकी खड्काले ०५९ सालमा अनेरास्ववियुको जिल्ला नेतृत्व सम्हालिन् ।

अनेरास्ववियुको १६औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भइन् । १७औं राष्ट्रिय सम्मेलनबाट अखिलको केन्द्रीय सदस्यमा निर्वाचित भएकी रचना १८औं र १९औं सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै सम्पर्क र प्रचार विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरिन् ।

जनकपुरमा सम्पन्न २०औं राष्ट्रिय सम्मेलनमा सचिव जितेकी रचना एमालेको ९औं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा विजयी भइन् ।

एमाले विभाजनका बेला तत्कालीन माधव नेपाल समूहको बागमती प्रदेश कमिटी सचिवको हैसियतमा काम गरेकी उनी पार्टी औपचारिक विभाजनमा आइपुग्दा मूलघरमै बसिन् ।

मुख्यमन्त्री शाक्यसँगै एमालेमा रहेकी रचना प्रदेशसभा सदस्यमा निवार्चित भएपछि पहिलोपटक मन्त्री बनेकी हुन् ।