एलआईसी नेपालमा ह्वात्तै घट्यो जनताको विश्वास, तनावमा अभिकर्ता


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, असोज ४ २०७८
3.9K
SHARES

काठमाडौँ – भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल प्रति जनताको विश्वास ह्वात्तै घटेको छ । सर्वसाधारणले कम्पनी प्रति विश्वास गर्न छोडेपछि अभिकर्ताहरुलाई तनाव भएको छ ।

जनताले बीमा गर्नु त परेको कुरा गरेको बीमा पनि फिर्ता गर्न थालेपछि अभिकर्तालाई तनाव थपिएको हो । एलआइसी नेपालमा बीमा गरेका बीमितले पोलिसी सरेण्डर (बीमा गरेको रकम फिर्ता) गर्न थालेका छन् । अघिल्लो आर्थिक बर्षमा २२ हजार २६७ जनाले बीमालेख सरेण्डर गरेका छन् । पोलिसी सरेण्डर गर्ने संख्या बढेसँगै एलआईसी नोपालको व्यवसाय पुरै प्रभावित भएको छ ।

एलआईसी नेपालले अभिकर्तालाई दिने सेवा सुविधामा परिवर्तन ल्याएकाले नै ठूला अभिकर्ताले पोलिसी सरेण्डर गर्न लगाएको शंका गरिएको छ । कम्पनीहरुले अभिकर्तालाई लक्षित गरेर हरेक बर्ष नीतिगत रुपमा परिवर्तन गर्ने भएका कारण व्यवसाय खस्किएको छ । यो अवधिमा एलआइसी नेपालमा ३ अर्ब ५३ करोड ६७ लाख २४ हजार रुपैयाँ बराबरका २२ हजार २६७ वटा बीमालेख सरेण्डर भएका छन् ।

अभिकर्ताले बीमा पोलिसी बिक्रि गर्नु पूर्व बीमितलाई पोलिसीको बारेमा राम्रोसँग बुझाउन नसक्नु पोलिसी सरेण्डरको एउटा मुख्य कारण रहेको बीमा समितिले जनाएको छ । बढ्दै गएको यस्तो सरेण्डरको दरलाई रोक्नका लागि अध्ययन गर्ने तयारी थालिएको समितिले जनाएको छ ।

एलआइसी नेपालले यो आर्थिक बर्षमा १ लाख १५ हजार १६५ वटा कुल बीमालेख जारी गरेको थियो । बीमा समितिबाट प्राप्त तथ्यांक अनुसार कम्पनीले १७ अर्ब १४ करोड ३६ लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रथम व्यवसायबाट ३ अर्ब ५५ करोड ८२ लाख ८५ हजार रुपैयाँ र १३ अर्ब ५८ लाख ५३ लाख ६२ लाख रुपैयाँ नविकरण बीमाशुल्क गरी उक्त रकम संकलन गरेको थियो । यस तथ्यांकका आधारमा हेर्दा एलआईसीको गत आर्थिक वर्षको प्रथम व्यवसाय बराबरको पोलिसी सरेण्डर भएको छ ।

बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्ष पूरा भए पछि मात्र बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गरेको छ । बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने साविकको व्यवस्थालाई परिमार्जन गर्दै समितिले सरेण्डरमा नयाँ नियम लागू गरेको थियोे ।

समितिले जीवन बीमालेख सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो । समितिले कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् । समितिले बीमा कम्पनीहरुमा एकल बीमालेखमा देखिएका वेतिथि रोक्ने भन्दै यस्तो व्यवस्था गरेको थियो ।

गत आर्थिक वर्षमा मात्र ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रुपैंया बराबरका पोलिसी सरेण्डर भएको बीमा समितिले जनाएको छ । यस क्रममा गत आर्थिक वर्षमा ६३ हजार ३३१ वटा पोलिसी सरेण्डर भएका छन् । यो आँकडा १९ जीवन बीमा कम्पनीको हो । उल्लेखित आँकडामा रकमका आधारमा एलआईसीको हिस्सा ३५.७९ प्रतिशत हो ।