मोटिभेट समाचार प्रभाव, विद्यार्थीलाई ठगी गर्ने भ्याली कन्सल्टेन्सीका संचालक पक्राउ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, असोज ६ २०७८
5.9K
SHARES

काठमाडौँ – विद्यार्थीलाई ठगेको अभियोगमा एक जना कन्सल्टेन्सी संचालक पक्राउ परेका छन् । अध्ययनका लागि कोरिया पठाइदिन्छु भन्दै विद्यार्थीबाट लाखौँ रकम असुल्ने भ्याली इन्टरनेशनल कन्सल्टेन्सीका संचालक पक्राउ परेका हुन् ।

विद्यार्थीलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा किर्तिपुरमा रहेको भ्याली कन्सल्टेन्सीका संचालक रोशन योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । दक्षिण कोरियाले विद्यार्थी भिसामा सत प्रतिशत रिजेक्शन गरेपछि पनि कन्सल्टेन्सी संचालकले विद्यार्थीको पैसा फिर्ता नगरेपछि प्रहरीले पक्राउ गरेको हो ।

बारम्बार विद्यार्थीले पैसा फिर्ता माग्दा समेत नदिएपछि विद्यार्थीले प्रहरीमा उजुरी दिएका थिए । विद्यार्थीको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कोरिया अध्ययनका लागि भन्दै एक जना व्यक्तिबाट ९ देखि १० लाख रुपैयाँ उठाएका थिए । पछि भिसा नलागेपछि कन्सल्टेन्सी संचालकले आधा पैसा फिर्ता गरेका थिए । बाँकी पैसा पछि दिने भन्दै विभिन्न बाहाना बनाएर टार्न खोजेपछि प्रहरीमा गएर उजुरी दिएको पीडित विद्यार्थीले बताएका छन् ।

पीडित विद्यार्थीका अनुसार योञ्जनले २१ जनाबाट जनही ९ देखि १० लाख रुपैयाँ आफ्नो व्यक्तिगत खातामा जम्मा गर्न लगाएका थिए । भिसा नलागेपछि हरेक विद्यार्थीलाई ५ लाख रुपैयाँ फिर्ता गरेको र बाँकी आजसम्म पनि नदिएको उनको भनाई छ ।

प्रहरीले अहिले उनलाई सोधपुछ गरिरहेको छ । यसअघि मोटिभेट न्यूजले ‘यी हुन् दक्षिण कोरियामा विद्यार्थी पठाउँछु भन्दै ठगी गर्ने कन्सल्टेन्सीहरु’ शिर्षकमा समाचार सम्प्रेशण गरेको थियो ।

भ्यालीका ३ जना संचालकले टेलिफोट गर्दै मोटिभेट न्यूजका सम्पादकलाई धम्की दिएका थिए । उनले मोटिभेटलाई समाचार प्रमाणित गर्न चुनौति समेत दिएका थिए ।

यस विषयमा बुझ्दा काठमाडौँ प्रहरीले भने भन्न नमिल्ने बताएको छ । काठमाडौँ प्रहरी परिषर सूचना केन्द्रले पक्राउ परेका व्यक्तिहरुको लिष्ट आइनपुगेको बताएको छ ।

काठमाडौँ प्रहरी प्रबक्ता डिएसपी रमेश बस्नेतले पनि आफूलाई यस विषयमा जानकारी नभएको बताए । ‘यतै आएर बुझ्नु न । सोधपुछका लागि बोलाएको होला ।’ उनले भने

प्रहरी श्रोतले दिएको जानकारी अनुसार मिलापत्र गरेर छोड्ने तयारी भएको छ । सबै विद्यार्थीको पैसा तिर्न राजी भएपछि उनलाई केही समयको कागज गराएर छोड्ने तयारी भएको छ ।