खटारो बन्दै बुद्ध एयरका जहाजहरु, जतिबेला पनि हुनसक्छ दुर्घटना


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, असोज ११ २०७८
6.1K
SHARES

काठमाडौँ – बुद्ध एयरका जहाजहरु पुरानो बन्दै गएपछि दुर्घटनाको सम्भावना बढेको छ । सोमबार बुद्ध एयरमा दुई वटा जहाजहरु आकस्मिक अवतरण गरेपछि खतराको सम्भावना झन बढेको हो ।

काठमाडौँबाट विराटनगरका लागि उडेको कल साइन नाइन एन–एएनआई, उडान संख्या यु ४ ७०१ मा समस्या आएपछि काठमाडौँमा सुरक्षित अवतरण गरेको छ । त्यस्तै, काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयरको अर्को विमानमा पनि समस्या देखिएपछि आपतकालिन अवतरण गरिएको थियो।

ककपिटबाट धुँवा निस्किएपछि पाइलटले आपतकालिन अवतरण गराएका थिए। बुद्ध एयरले दैनिक काठमाडौँबाट ४० भन्दा बढी उडानहरु भर्दै आएको छ।

उडान हुनुअघि प्राविधिक टोलीले विमानको अवस्था परीक्षण गर्ने गरेको पाइए पनि सोमबार एकैदिन बुद्ध एयरका दुईवटा विमानमा देखिएको समस्याले हवाई उडानको सुरक्षालाई लिएर पुनः चिन्ता व्यक्त गर्न थालिएको छ।

ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको जहान अवतरण नगरी काठमाडौँ फर्किएर आकाशमा आधा घण्टाभन्दा बढी समय होल्ड भएको थियो ।

काठमाडौँको आकाशमा बारम्बार फन्का लगाउनुको कारण थियो, विमानमा रहेको सम्पूर्ण इन्धन सिध्याउने र त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङ गर्ने। उत्पन्न हुने सक्ने सम्भावित सबै परिस्थितिका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्था बनाइएको थियो । एम्बुलेन्सदेखि अग्नि नियन्त्रकसम्म तयारी अवस्थामा थिए ।

विमानमा चालक दलका सदस्यसहित ७७ जना यात्रु थिए। तीमध्ये ३ जना नवजात शिशुसहित ५ जना बालबालिका थिए। विराटनगरमा अवतरण गर्नेक्रममा ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या देखिएपछि र त्यहाँको विमानस्थल टावरले पनि ल्यान्डिङ गियर नझरेको जानकारी दिएपश्चात जहाजलाई क्याप्टेनले पुन काठमाडौँ फर्काउने निर्णय गरेको बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तर उसले त्यही विज्ञप्तिमा भनेको छ,’जहाजमा ल्यान्डिङ गियरका दुईवटा इन्डिकेटर हुन्छ जसअनुसार प्राइमरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेन्डरी इन्डिकेटरमा सबै ठिकठाक रहेको देखियो। यसरी सेकेन्डरी इन्डिकेटरमा बत्ति बलेको अवस्थामा पनि ल्यान्डिङ गियर खुलेकै मानिन्छ।’

विमान बिहान काठमाडौँबाट ८ बजेर ३१ मिनेटमा उडेको थियो भने १० बजेर २७ मिनेटमा पुनः त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो। विराटनगर विमानस्थलले विमानमा प्राविधिक समस्या छ भनेर ९ बजेर १६ मिनेटमा ‘रिपोर्ट’ गरेको थियो।

आकाशमा विमान होल्ड भइरहँदा यात्रुहरुले आफूहरु जीवन मरणको अवस्थामा पुगेको भनेर अनुभव गरेको बताएका छन्। क्याप्टेन एजी शेर्पाले सुझबुझपूर्ण तरिकाले विमान अवतरण गराएका हुन्।

समस्या आएपछि बुद्ध एयरले एटिआर चिफ पाइलटको संयोजकत्वमा समिति गठन गरेको छ। यता नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले आफ्नोतर्फबाट पनि डाटाहरु संकलन गरी अध्ययन गर्ने काम भइरहेको बताए।

‘पाइलटले कुनै जोखिम नमोली काठमाडौँमा विमान फर्काएर अवतरण गराएका छन्। अवतरण गर्दा कुनै समस्या थिएन, ल्यान्डिङ गियरमा। आज नै बुद्ध एयरका पाइलट र प्राधिकरणका प्राविधिकहरु बसेर छलफल भएको छ। भोलि पर्सीसम्म समस्या थाहा होला’, क्षेत्रीले भने।

पुराना हुँदै गएपछि जहाजमा विभिन्न खालका समस्याहरु आउने गर्छ । बुद्ध एयरमा ३० बर्ष पुराना जहाजहरु छन् ।

त्यह िपुराना जहाजका कारण बेलाबेलामा समस्य आइरहन्छ । परिपक्क र विवेकी पाइलट रहेका कारण दूर्घटना टर्ने भएपनि यात्रुको मानसिकतामा भने ठूलो आघात पुग्ने गरेको छ ।

बुद्ध एयरसँग एटीआर कम्पनीका जहाज छन् । विमानस्थल परिसरमै मर्मत केन्द्र पनि सञ्चालनमा ल्याएको छ । त्यसैले सुरक्षामा लापरवाही नगरिएको कम्पनीको दाबी छ । बरु सुरक्षाकै लागि सुविधा कम भएको विमानस्थलमा अवतरण प्रयास नगरी जहाजलाई काठमाडौं डाइभर्ट गरिएको उसले बताएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार सोमबार भएका दुई समस्याबारे प्राविधिक टोलीले जाँच/अनुगमन गर्नेछ । समस्या सामान्य हो जस्तो लागेमा कम्पनीलाई सचेत गराएर सुरक्षा अभिवृद्धि गर्न लगाइन्छ । ‘इन्सिडेन्ट (दुर्घटना बाहेकका घटना)’ हरुमा छानविन समिति बनाउने प्रचलन छैन । तर आन्तरिक रुपमा प्राविधिकले गर्ने अध्ययनबाट समस्या पहिचान गरिनेछ । यात्रुले भने नेपालमा जहाजहरु थोत्रा/पुराना भएकाले समस्या आएको हो कि भन्दै आंशका गर्छन् ।

हवाई इन्जिनियरहरुले भने समग्र जहाजको आयु भन्दा त्यसमा राखिएका छुट्टा–छुट्टै पार्टपूर्जामा आउने समस्याका कारण प्राविधिक समस्या देखिन्छ, जसलाई जहाजको आयुसँग जोडेर हेर्न मिल्दैन । प्राधिकरणका एक पूर्वमहानिर्देशकका अनुसार जहाजमा इन्जिनदेखि हरेक पाटपूर्जाको छुट्टा–छुट्टै आयु हुन्छ, त्यो आयु अनुसार सबै ठिकठाक छ की छैन भनेर निरन्तर चेकजाँच गर्नुपर्ने हुन्छ ।

उनका अनसार जहाजमा कुनै समस्या उडान अगाडि नै पत्ता लागेमा इन्जिनियरले तत्काल समस्याको समाधान खोज्न थाल्छन् । उडिरहेको समयमा समस्या देखिए पाइलटले जतिसक्दो छिटो सुरक्षित अवतरणको प्रयास गर्छन् । हवाई कम्पनी र नियामक निकायलाई नेपालको कानूनले मात्र नभई अन्तर्राष्ट्रिय कानून र निकायले निरन्तर निगरानी गरिरहेका हुन्छन् । त्यसेले बुद्ध एयरले सुरक्षामा सम्झौता नगरेको हुनुपर्ने ती पूर्वमहानिर्देशक बताउँछन् ।

बुद्ध एयरले पनि विज्ञप्ती जारी गर्दै कम्पनी हवाई सुरक्षाका लागि प्रतिवद्ध रहेको पुनः दोहोर्‍याएको छ ।