कमिसनमा कुरा नमिल्दा दुई बर्षदेखि रोकियो भुक्तानी


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, असोज १२ २०७८
4.8K
SHARES

सल्यान – नगरपालिकाले कमिसन नपाएपछि दुई बर्षदेखि भुक्तानी रोकिएको छ । सल्यान बागचौर नगरपालिकाको भवन निर्माण सम्पन्न भएको दुईवर्ष बढी हुँदा पनि निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी पाउन नसकेको हो ।

२०७५ चैतमा भवन निर्माण सम्पन्न भैसक्दा पनि अहिलेसम्म पुरा भुक्तानी नपाएको निर्माण कम्पनी प्रकृति निर्माण प्रालिका डिल्ली प्रकाश केसीले बताए । भवन निर्माणका लागि बहुवर्षे ठेक्का अन्तर्गत २०७४ असार २७ गते नगरपालिकाले प्रकृति निर्माण प्रालि सँग भ्याटबाहेक ३ करोड २९ लाखमा सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०७५ चैतमा भवन निर्माण सम्पन्न गरिसकेको निर्माण व्यवसायी डिल्ली प्रकाश केसीले बताए । भ्याट बाहेक २ करोड ९४ लाख रकम भुक्तानी पाएको र बाँकी ३५ लाख अझै भुक्तानी नपाएको उनले बताए ।

३५ लाख भुक्तानीका लागि पटकपटक नगरपालिका धाउँदा विभिन्न बहाना बनाएर भुक्तानी रोकिदिएको उनको भनाइ छ ।

यसअघि नगरपालिकाले भवन निर्माण भएपनि भवनको सेफ्टी ट्यांकीमा पानीको मुहान जाँच्ने र भवन चर्किएकोले अन्तिम भुक्तानी रोकिएको जनाएको थियो । तर नगरपालिकाले ६ महिनाअघिदेखि उक्त भवनमा कोभिड आइसोलेशन बनाएर प्रयोग गरिरहेको छ ।

यो भवनको विषयमा अख्तियारमा मुद्दा परेकोले आफूहरूले अख्तियारले मागेका कागजपत्रहरू पठाउँने गरेको कारण भुक्तानी रोकिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल बताउँछन् । उनले भने, ‘यसरी मुद्दा प्रक्रियामा रहेको कुरालाई हामीले भुक्तानी दिन सक्दैनौं ।’

तर उजुरी के विषयमा पर्यो भन्ने बारे केहि थाहा छैन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुचना अधिकारी वेद प्रशाद भण्डारीले यो विषयमा मुद्दा परे नपरेकोबारे आफूलाइ केहि थाहा नभएको बताए ।

नगरपालिका कार्यालय अहिलेसम्म भाडाको घरमा छ । नगरपालिकाको वार्षिक साढे ७ लाख भन्दाबढी घरभाडामा खर्च हुने गरेको छ । गतवर्ष नगरप्रमुख लोकमान बुढाथोकीले भवनको जगबाट मुहान जाग्ने गरेको बताउँदै कार्यालय सार्न नसकेको बताएका थिए ।

तर यो वर्ष वर्षातको समयभरी त्यहि भवनमा कोभिड आइसोलेशन बनाएर प्रयोग गरेको छ । यो हेर्दा भवनको जगमा मुहान जाग्ने देखिदैन् ।

स्थानीय जग्गा दाताहरूले भवनमा मुहान जाग्ने भन्ने कुरा गलत भएको बताउँछन् । माथीबाट आउने पानीको ढललाई व्यवस्थापन नगर्ने र नगरपालिका कार्यालय नसार्नको लागि अनेक बहाना बनाएको जग्गादाताहरुको भनाइ छ ।

एक जग्गादाताले भने, ‘हामीले यति धेरै जग्गा दान गरेका थियौँ, यहाँ नगरपालिकाको कार्यालय आए राम्रो हुन्छ भन्ने पनि आशा थियो तर अहिले धेरैले किन जग्गा दिइस भनेर कुरा समेत काट्छन्, यहाँ नगरपालिका पनि सर्दैन्, अब के हुन्छ भन्नेबारे अहिलेसम्म कुनै निष्कर्ष पनि आउँदैन् ।’

भवनको लागि यहाँ एक दर्जन जतिले ५ रोपनी जग्गा दान गरेका थिए । भवन निर्माणकर्ता डिल्ली प्रकाश केसीले नगरपालिकाको आन्तरिक लडाइले गर्दा आफूलार्इ मुछेर भुक्तानी रोकिदिएको बताए ।

नगरपालिकाले कार्यालय सार्न नचाहेर भवन चुहिएको बहाना बनाइ आफ्नो भुक्तानी रोकिदिएको उनले बताए ।

उनले भने, ‘यदि भवनमा समस्या हो भने किन आइसोलेशन बनाएर प्रयोग गरेको त । भवन प्रयोग गरेपछि हामीले काम गरेको भुक्तानी त दिनुपर्यो नि । भवन गलत छ भन्नेले प्रयोग गर्न पनि त लाज मान्नुपर्ने हो नि ?’

अख्तियारले भुक्तानी रोक भनेर नभनेको तर नगरपालिकाले बनावटी समस्या देखाउँदै भुक्तानी नदिएको उनको आरोप छ । भुक्तानी किन भएन भन्दै आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत र केन्द्रीय कार्यालय काठमाडौंमा जानकारी पत्रसमेत दिएको तर अख्तियारले आफूलार्इ केहि उजुरी नआएको र भुक्तानी नरोकेको जवाफ पाएको उनले बताए ।

त्यस्तै भवन निर्माणमा आफ्नो साढे १६ लाख धरौटी हुँदाहुँदै नगरपालिकाले उपभोक्ता समितीलाई कामको जिम्मा दिएर भर्याङमा छत र बाहिर घेरबार गर्न लगाएको उनले बताए । एउटा निर्माण कम्पनिको काम पुरा नसकिदै त्यसैमा अर्कोले काम गर्ने कार्य नियमविपरित भएको उनले बताए ।

उपभोक्ता समितिमार्फत भर्याङमा हालिएको छतबाट प्वाल परेर पानी चुहिने गरेको समेत उनको भनाइ छ ।