विद्यार्थी ठगेको आरोपमा क्विन्सलेण्ड एजुकेशन फाउन्डेशनका संचालक पक्राउ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असोज २१ २०७८
2.9K
SHARES

काठमाडौँ – प्रहरीले क्विन्सलेण्ड एजुकेशन फाउन्डेशनका संचालक मणि निरौलालाई पक्राउ गरेको छ । विद्यार्थीलाई अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा निरौलालाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नम्बर १३ घर भएका निरौलालाई प्रहरीले काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनी अस्थायी रुपमा बानेश्वरमै बस्दै आएका थिए ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा उनलाई प्रक्राउ गरिएको महानगरिय अपराध महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले बताए ।

म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको टोखामा बस्ने २४ बर्षिया सुजन खत्रीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको कोइरालाको भनाई छ ।

अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिन्छु भन्दै निरौलाले खत्रीसँग १२ लाख रुपैयाँ असुली गरेर फरार भएका थिए ।

अस्टे«लिया पठाइदिन भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम लिई भनेको समयभित्र नपठाए पछि सम्पर्क गर्दा सम्पर्कमा नआई उक्त कन्सल्टेन्सीसमेत बन्द गरी निरौला सम्पर्क विहिन भएका थिए ।

उनको जाहेरी दरखास्त परेपछि खोजतलास गर्ने क्रममा महाशाखाको विशेष टोलीले निरौलालाई मंगलबार बेलुका पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

एक बर्षअघि पनि उनी ठगी मुद्धामा पक्राउ परेका थिए । ६ महिना जेल बसेर रिहा भएका थिए ।