दिनदहाडै लुटियो सिटिजन्स बैंक, कति थियो पैसा ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, असोज २५ २०७८
16.8K
SHARES

काठमाडौँ – दिनदहाडै सिटिजन्स बैंक लुटिएको छ । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटिएको हो ।

स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गार्डमाथि गोली चलाएर बैंकमा लुटपाट गरेको हो ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले लुटेरा समूहका एक जनालाई गोली लागेको समेत बताएका छन् ।

प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनले घटनास्थलमा भएकाले अन्य थप जानकारी भने केही समयपछि उपलब्ध गराउने बताए ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्षको इजाजत प्राप्त बैंक लुटपाट हुनु सामान्य विषय होइन् । राज्यको सुरक्षा संयन्त्रमाथि यो घटनाले ठूलो चुनौति थपेको छ ।

सोमबार दिउँसो बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यसक्रममा सुरक्षा गार्ड शीतल कुँवरलाई लुटेरा समूहले चलाएको गोली लागेको छ ।

उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ, यद्यपि उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । थप अनुसन्धान जारी रहेको स्रोतले बतायो ।