निराशा एक मानसिक रोग हो, यसबाट मुक्त होऊँ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, असोज २६ २०७८
12K
SHARES

काठमाडौँ – संघर्षको क्षणमा धेरै व्यक्ति हिम्मत हार्दछन् । यस्ता कैयौं उदाहरणहरू छन् जसमा लक्ष्य प्राप्तिको लागि थोरै मेहनत मात्र गर्न बाँकी रहेको बेलामा मानिसहरूले हिम्मत हारेका छन् ।

कैयौं घटना यस्ता पनि छन्, जसमा असफलताको जानकारी हुने बित्तिकै मानिसहरू निराश भएर आत्महत्या गर्न पुगेका छन् । प्रेम, व्यापार, कलह अथवा गरिबीको कारणले गर्दा निराशावादी मानिसहरू अक्सर आत्महत्या गर्न पुग्दछन् ।

निराशा एक मानसिक रोग हो । आत्महत्या गर्ने मानिस मानसिक रोगी हो । केही मानिस निराशाको कारणले समाज विरोधी बन्दछन् । समाज र कानुनलाई आफ्नो असफलताको कारण मान्दछन् र अपराधिक कार्यमा संलग्न हुन पुग्दछन् ।

दुःख र संघर्षबाट उनीहरू डराउँदैनन्, बरू धैर्य र साहस गुमाउन पुग्दछन्, संयम गुमाउँछन्, विवेक गुमाउँछन् । र, परिणामस्वरूप उनीहरू समाजमा एक कुख्यात डाँकु, तस्कर या लुटेराको रूपमा प्रकट हुन्छन् ।

उनीहरू आफ्नो जीवन त नष्ट गर्छन्, गर्छन्, समाजलाई पनि ठूलो हानी पुऱ्याउँछन् । एकपटक एउटा व्यापारी घोर निराशामा पन्यो । निरन्तरको घाटा र हानिले उसलाई निरुत्साहित बनाइदियो ।

चिन्ताले ग्रस्त भएर कुनै पार्कमा बसिरहेको बेला एउटा भिखारीले उसलाई उसको चिन्ताको कारण सोध्यो । जब त्यस भिखारीले त्यस व्यापारीको समस्या सुन्यो, उसलाई सम्झाउँदै भन्न थाल्यो कि ऊ स्वयं पनि कुनै समय सक्षम व्यापारी थियो । घाटाले उसलाई पनि निराश पारेको थियो,

उत्साह नै समाप्त पारिसकेको थियो । उत्साह बढाउन रक्सी पिउन थाल्यो उसले । रक्सीले केही समय त उत्साह जस्तो केही पैदा त गयो, रक्सीको बानी नै बस्यो । व्यापार चौपट भइसकेको थियो । सारा शक्ति क्षीण भयो, उत्साह नामको केही चीज बाँकी रहेन ।

धन त उहिल्यै सिद्धिसकेको थियो, आत्मविश्वास पनि गयो । अब भिख मागेर पेट भर्ने र रक्सी पिउने गर्नु परिराखेको छ । भिखारीले भन्यो, ‘तिमीसँग त अझै सारा शक्ति छ । किन निरूत्साहित भइराखेका छौ ?

व्यापारी उत्साहित भयो । आफ्ना सारा शक्ति पुनः सञ्चय गर्यो, उत्साहको साथ पुनः व्यापारमा लागिपर्यो । र, सफलता पनि हात लगायो । यस्ता कैयौं उदाहरणहरू छन् । तसर्थ, दुःखमा पनि आशावादी होऊँ, असफलतामा पनि सफलताको संकल्प गरौँ, निराशा समस्याको समाधान होइन् ।