एमाले नेता तामाङ बिरुद्ध ९ सय मुद्धा दर्ता, थरिथरीका उजुरी आएपछि प्रहरीनै चकित


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, असोज २६ २०७८
28.3K
SHARES

काठमाडौँ – नेकपा एमालेका नेता तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ विरुद्ध ९ सय मुद्धा दर्ता भएका छन् । सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय जाहेरी दर्ता भएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोमा सोमबार साँझसम्म आठ सय ८३ जना निक्षेपकर्ताले जाहेरी दर्ता गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। जाहेरीमा अहिलेसम्म कुल बिगो रकम ३ अर्ब ७४ करोड २८ लाख रूपैयाँ दाबी गरिएको छ।

यो मुद्दामा अझै जाहेरी थपिन सक्ने ब्युरोले जनाएको छ। ‘केही निक्षेपकर्ताले जाहेरी दिन आउँदा कागजपत्रहरू छुटाउनुभएको थियो। उहाँहरू पछि आउनुहुन्छ,’ महतोले भने, ‘त्यस हिसाबले जाहेरी दिनेको संख्या अझै थपिन सक्छ।’

एउटै मुद्दामा यति धेरै जाहेरी दर्ता भएको सम्भवतः पहिलोपटक हुनुपर्ने उनले बताए। यो सहकारीमा दुई हजारभन्दा बढी निक्षेपकर्ता छन्। प्रहरीले तामाङसहित १२ जनाविरूद्ध ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ।

ठगी मुद्दामा प्रहरीसँग २५ दिन म्याद हुन्छ तर २३ दिनभित्रै अनुसन्धान सक्नुपर्छ। ‘छोटो समयमा यति ठूलो ठगी मुद्दा अनुसन्धान गर्नु चुनौतीपूर्ण छ। अनुसन्धान क्रममा अरू मुद्दा पनि आकर्षित हुनसक्छन्,’ प्रहरी उपरीक्षक महतोले भने।

तामाङले विभिन्न व्यक्तिहरूलाई जग्गा–घर दिने भन्दै ठगी गरेको आरोप पनि छ। उनले केहीलाई घरजग्गा पास गराइदिने नाममा ठगी गरेको पनि खुलेको छ। अहिले ती व्यक्तिको जाहेरी परिसकेको छैन। उनीहरू सम्पर्कमा भने आएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।

‘अरू खालका पीडितहरू पनि सम्पर्कमा आउनुभएको छ। ती सबै मुद्दा प्रहरीले नै हेर्छ कि हेर्दैन भनेर हामी बुझ्दैछौं,’ उनले भने, ‘पाँच–छ वर्षअघि भुक्तानी भइसकेको तर अहिलेसम्म जग्गा पास नभएको र पैसा लिएर सम्पर्कविहीन भएको भन्ने आठ–नौ जना पीडितहरू पनि हाम्रो सम्पर्कमा आउनुभएको छ।’

इच्छाराजले तीन–चार महिनामै घर निर्माण गरिदिने भन्दै सबै रकम लिएको तर घर नदिएको एक पीडितले बताएका छन्। उनी सहकारीका पीडित निक्षेपकर्ता पनि हुन्। उनले धापाखेलस्थित चार आना जग्गामा घर बनाउन दुई करोड रूपैयाँ खर्चेका थिए। उक्त घर अहिलेसम्म बनिसकेको छैन।

‘पैसा चुक्ता गरिसक्दा पनि कतिको घर बनेको छैन, कतिको त नक्सा नै पास भएको छैन,’ उनले भने, ‘त्यस्तो समस्या हुनेहरू धापाखेलकै मात्र १८ जना छन्।’

उनका अनुसार सिभिल होम्सअन्तर्गत घर निर्माणकै लागि मात्र इच्छाराजले नौ अर्ब रूपैयाँ निकालिसकेका छन्। ब्युरोले यो विषय अनुसन्धान गर्न नभ्याएको प्रहरी उपरीक्षक महतोले बताए। ‘हजारौं पानाका कागजपत्र छन्,’ उनले भने, ‘यो ठूलो मुद्दा हो। अहिले हामी कागजपत्र संकलन गर्ने चरणमा मात्र छौं।’

इच्छाराज सिभिल बैंकका अध्यक्ष हुन्। उनी संविधानसभामा एमाले तर्फबाट सभासद पनि थिए। उनलाई ब्युरोले गत असोज १८ गते सुन्धारा क्षेत्रबाट पक्राउ गरेको थियो। उनीसँगै पक्राउ पर्नेमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिसटेन्ट म्यानेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्ध बुद्धराज तामाङ, मौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्वा लेखा समिति सदस्य हरिहर लामिछाने छन्।

२०४७ सालको परिवर्तनपछि नेपालमा सहकारी संस्थाको अवधारणा आयो। त्यसअघि एकआपसमा ऐँचोûपैंचो, सापटी वा ढुकुटीजस्ता माध्यमबाट मानिसहरू आफ्नो आर्थिक समस्या टार्थे। त्यही क्रममा इच्छाराजको उदय भएको थियो।

पुर्ख्यौली घर ओखलढुंगा भएका इच्छाराज तामाङले काठमाडौंमा सिभिल बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। पुल्चोक इन्जिनियरिङ कलेज पढ्दा र पढाउँदाका साथीभाइसँग मिलेर उनले काठमाडौंमा सिभिल सहकारी खोलेका हुन्।

पुल्चोकका ‘सरहरू’ले खोलेको भनेपछि सिभिल सहकारीमा मानिसको विश्वास बढ्यो। ग्राहक र बचत बढ्दै गयो। बचत बढेपछि त्यसको ब्याज कसरी दिने भन्ने चुनौती थपियो। तामाङले साथीभाइसँग मिलेर घर बनाएर बेच्ने आइडिया निकाले। काठमाडौंमा कम्पनी बनाएर घर र अपार्टमेन्ट बेच्ने काम भर्खर चलनचल्तीमा आउन थालेको थियो।

तामाङले सिभिल होम्स कम्पनी खोले, त्यसमार्फत् भैंसेपाटीमा केही घर बनाएर बेचे। त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन। काठमाडौंका आधा दर्जन धेरै ठाउँमा सिभिल होम्सका कोलोनी बने। सुन्धारामा दुइटा सपिङ कम्पलेक्स खुले। सिभिल बैंकसहित सभिल समूहसँग २१ वटा कम्पनी छन्। यो समूहको अर्बौंको कारोबार र सम्पत्ति छ।

तामाङको नेतृत्व स्थापना भएको सिभिल सहकारीमा अहिले केशवलाल श्रेष्ठ अध्यक्ष छन्। यसअघि तामाङ १० वर्षसम्म अध्यक्ष थिए। जब २०६८ सालमा सिभिल बैंक स्थापना भयो, वित्तीय ऐनअनुसार एउटै व्यक्ति दुई वटा वित्तीय संस्थाको अध्यक्ष रहन नपाउने नियमले उनले सहकारीमा श्रेष्ठलाई अघि सारेका थिए।

तामाङमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ। विभागले तामाङलाई ठगी मुद्दामा अनुसन्धान गर्न सकिने राय प्रहरीलाई दिएपछि सिभिल ग्रुपमा ब्युरोले हात हालेको हो। यता विभाग तामाङको चलअचल सम्पत्तिको फाइलमाथि विस्तृत अनुसन्धान भइरहेको बताउँछ। पक्राउ पर्नुअघि तामाङ विभागमा बयान पनि दिइरहेका थिए।

हालसम्मको अनुसन्धानअनुसार तामाङले ९ अर्बभन्दा बढी रकम सिभिल सहकारीबाट ऋणका रूपमा निकालेका छन्। त्यो रकम उनको व्यक्तिगत खातामा गएको छैन। उनले स्थापना गरेका कम्पनीका नाममा त्यो ऋण परिचालन भएको छ।

‘नौ अर्बमध्ये सात अर्ब सिभिल होम्स कम्पनीको नाममा गएको देखिन्छ,’ विभाग स्रोतले भन्यो, ‘बाँकी दुई अर्ब बढी ऋण अरू कम्पनीका नाममा छन्।’ विभाग स्रोतका अनुसार तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरिरहेका छन्। तीमध्ये सबभन्दा बढी सिभिल होम्समा सहकारीको पैसा गएको देखिएको हो।

सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणबद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ। २०६३ सालदेखि सुरू भएको सिभिल होम्सको कारोबार लालकाजी गुरुङले हेर्छन्।

सिभिल होम्सपछि तामाङले सिभिल बिजनेस कम्प्लेक्स पनि खोले। त्यसपछि सिभिल स्टेट (सिटिसी मल), सिभिल आरएमसी हुँदै कम्पनी विस्तार हुने क्रम रोकिएको थिएन। विभागका अनुसार ऋण तिर्दै, कारोबार विस्तार गर्दै गइरहेका तामाङको विगत पाँच वर्षयता भने कारोबार बिग्रेको थियो। कारोबार बिग्रिँदै जाँदा उनी ऋण फिर्ता गर्नै नसक्ने अवस्थामा पुगेको उनका सहकर्मी बताउँछन्।

ऋणको दबाब बढ्दै गएपछि दुई वर्षअघि उनले सुन्धारामा रहेको ठूलो अचल सम्पत्ति बिक्री गरेका थिए। अपार्टमेन्टका रूपमा सुरू भएर होटलमा रूपान्तरण भएपछि उनले व्यापारी अजयराज सुमार्गीलाई बेचेका थिए। यो सम्पत्ति बेचेर पनि उनले ऋणको एकछेउ पनि तिर्न सकेनन्।

तामाङका सहकर्मीका अनुसार उनको हौसिने बानी छ। ‘प्रोजेक्टको मूल्यांकन राम्ररी नगरी लगानी बढाउनुपर्ने उहाँको बानी छ, उहाँले ध्यान नदिई एकपछि अर्को गर्दै १० फेजसम्म हाउजिङ विस्तार गर्दै जानुभयो, फटाफट बिक्री भएन, समयमा पैसा रिटर्न भएन,’ उनका ती सहकर्मीले भने।

तामाङलाई धेरै अप्ठ्यारो परेको २०७२ को भुइँचालोपछि हो। बिक्रीका लागि तयारी हालतमा रहेको सिभिल ट्रेड सेन्टरमा बुकिङ धमाधम भइरहेको थियो। भुइँचालोले सिभिल ट्रेड सेन्टर नराम्रोसँग चर्कियो। अग्रिम बुकिङ गरेका ग्राहकले धमाधम पैसा फिर्ता मागे। बिक्री बन्द भयो।

एकातिर अपार्टमेन्ट बिक्री बन्द भयो, अर्कातिर सहकारीको ऋण थियो। उनले सिभिल ट्रेड सेन्टर बेचेर सहकारीको केही ऋण तिरेका थिए। त्यसको केही समयअघि उनले श्रीमतीको नाममा रहेको सिभिल बैंकको संस्थापक सेयर बिक्री गरे।

कोभिड सुरू भएपछि उनलाई दोस्रोपटक संकट आइलाग्यो। फेरि हाउजिङ बिक्री हुन छोडेर आर्थिक समस्या पर्न थाल्यो। निर्माणाधीन उनका परियोजनामा पनि समस्या पर्न थाल्यो। घर(जग्गाको अव्यवस्थित लगानी गर्ने तामाङ समयमा बिक्री गर्न नसकेर पनि समस्यामा परेको सहकर्मीहरू बताउँछन्।

आर्थिक संकट टार्न उनले आफ्नै सहकारीबाट जसरी ऋण चलाउँथे त्यो सहकारी ऐनविपरीत पनि देखिएको विभागको भनाइ छ। चुक्तापुँजीको ९० प्रतिशतभन्दा बढी निक्षेप कर्जाका रूपमा निकालेको देखिएको विभागले बताएको छ।

तामाङले हालसम्म ११ सयवटा सिभिल होम र अपार्टमेन्ट फ्लाट बिक्री गरेको दाबी गर्ने गरेका छन्। त्यसबापत् उनले करिब ११ अर्ब रूपैयाँ संकलन गरे पनि आफूहरूको पैसा नतिरेको बचतकर्ताको आरोप छ।

‘औसतमा एक करोडको दरले बिक्री गर्दा पनि ११ अर्ब रूपैयाँ संकलन भएको छ, त्यो पैसा उनले कहाँ राखेरु’ झन्डै एक करोड निक्षेप राखेका पीडित संघका सदस्य भट्टराईको आरोप छ।