गठबन्धन भत्किने झलनाथ खनालको घोषणा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, कार्तिक २ २०७८
19.5K
SHARES

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सर्वमान्य नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन भत्किने चेतावनी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जबरजस्ती एमसीसी पास गर्न खोजे गठबन्धन भत्किने चेतावनी दिएका हुन् ।

पत्रकार ऋषी धमलाको कार्यक्रम जनता जान्न चाहान्छन् कार्यक्रममा नेता खनालले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता त्रुटिपूर्ण भएकाले यसलाई जस्ताको तस्तै पास गर्न नहुने बताएका हुन् ।

‘गठबन्धनका धेरै कुराहरुमा समानता छन्, धेरै कुराहरुमा मत भिन्नता छन् ।’ उनले भने, ‘समानतालाई आत्मासात गर्दै अगाडि बढ्यो भने गठबन्धन टिक्छ । नत्र भने जुन सुकै समय, जनसुकै पल, जुनसुकै घडिमा गठबन्धन टुट्न सक्छ ।’

खनालले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने पक्षमा नभएको बताए । उनले सरकारका न्युनतम साझा कार्यक्रम भन्दा बाहिर गएर केही पनि काम नगर्ने बताए ।

फरक प्रसंगमा नेता खनालले ईलाम क्षेत्र नम्बर १ मा आफूलाई कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका छन् ।

केपी शर्मा ओलीको हठ, जिद्दिपनलाई आफूहरुले सुधार गर्न नसकेको उनको भनाई छ । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु अन्तिमसम्मपनि एमालेको एकताकै पक्षमा रहेको पनि स्मरण गराए ।

आफूले अस्पतालको बेडबाट पनि अब विद्रोह गर्नुपर्छ भनेर माधव नेपाललाई भनेको पनि उनले सुनाए । उनले आफूहरुले विद्रोह गरेको पनि जिकिर गरे । हालै सम्पन्न नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनमा नेताहरुले बोल्नै नपाएको पनि उनको भनाई छ ।

उनले आफूहरुले पार्टी दर्ता गराएको एक महिनामात्रै भएको भएपनि लाखौं जनता आफूहरुको वरिपरी गोलबन्द भैसकेको पनि सुनाए । ओलीले दक्षिणपन्थी र अवसरवादी कार्यदिशा लिँदा अहिले एमाले भत्किएको उनको टिप्पणी छ ।

उनले एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले एक सिट पनि जित्दैन भनेर भन्नु भनेको आत्मरतिमा रमाउनुबाहेक अरु केही पनि नभएको बताए । उनले ओलीको आत्मविश्वास समाप्त भैसकेको र आफ्नै निर्वाचन क्षेत्रमा पनि अब पराजित हुने ठोकुवा गरे ।