ग्यारेज चलाउने विजय एक दिनमै कमाउँछन् झण्डै ५० हजार, यस्तो छ उनको सफलताको कथा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, कार्तिक २२ २०७८
6.4K
SHARES

बुटवल –  १२ वर्षका थिए। उनको मन स्कुलभन्दा ज्यादा गाडीमै हुन्थ्यो। ज्यान स्कुल जान्थ्यो मन भने पोखरासम्मै पुग्थ्यो।

२०४५ सालतिरको कुरा हो विजय खनालका आमाबुवा बुटवलको पुरानो बसपार्कमा होटल चलाउँथे। होटलमात्र होइन आमाबुवाले बस पनि सञ्चालन गरेका थिए।

७२ मोडलको बस भैरहवा-पोखरा चल्थ्यो।

बुवाआमा दुवैजना काममा व्यस्त भए विजयको पढाइमा मन नगएको ख्याल गर्नै पाएनन्। उनी पनि स्कुल पढ्न छोडेर त्यहीँ बसको ढोका ढक्ढकाउँदै भैरहवा-पोखरा गर्न थाले।

साँघुरो र कच्ची सडकमा चल्ने बस बिग्रिरहन्थ्यो। बीच बाटोमा बस बिग्रिएपछि त्यसलाई कुर्ने जिम्मा उनैको हुन्थ्यो। पन्चर भएको टायर फेर्दा नटबोल्ट खोल्न, मोबिल चुहिएको र पट्टा फुस्किएको हेर्न पनि उनी आफैं गाडीभित्र छिरिहाल्थे। गाडीभित्रै छिरेर सामान्य चेकजाँच गर्दागर्दै उनी ग्यारेजप्रति आकर्षित हुन थाले।

त्यहीँ आकर्षणले उनलाई अहिले बुटवलमा नाम कहलिएका विजय मिस्त्री बनाएको छ।

तिनताका बुटवलमा पाटन दाइको ग्यारेज थियो। विजयले उनकै ग्यारेजमा काम गर्न थाले। त्यतिबेला साना सवारीको त्यति चाप थिएन। पहाडका अप्ठ्यारा र कच्ची सडकमा ओहोरदोहोर गर्ने बस र ट्रकहरू बिग्रिएपछि बनाउन आउने ठाउँ बुटवल नै थियो। पाटन दाइको ग्यारेजमा ४ वर्ष काम गरेपछि उनी आफैंले ग्यारेज खोल्ने निधो गरे।

पढाई छोडेर गाडी र ग्यारेजमा लाग्दा बुवाआमा उनीसँग खुसी थिएनन्। त्यहीँ बीचमा आमाको मृत्यु भयो। बुवासँग उनको भेटघाटसमेत बन्द भयो। १७ वर्षको उमेरमा ग्यारेज सुरू गर्दा लगानी गर्ने पैसा उनीसँग थिएन। पैसा नभए पनि पाटन दाइले ४ वर्ष सिकाएको सिप थियो। त्यसैले उनलाई बुटवलमा ग्यारेज चलाएर जम्न सक्छु भन्ने आत्मविश्वास बढाएको थियो।

अलिकति ऋणधन गरेर उनले मिलन चोकमा ‘विजय वर्कसप’ ग्यारेज सुरू गरे, जुन अहिले मैनाबगरमा सरेको छ।

सुरूसुरूमा उनी बिहान ८ बजेदेखि राती १२ बजेसम्म वर्कसपमा काम गर्थे। उनको काम गर्ने जाँगर र समय अहिले पनि घटेको छैन। बिहान चिल्लो गाडीमा सफा सर्ट र पाईन्ट लगाएर ग्यारेज छिर्छन्। त्यहाँ पुगेपछि मोबिल र ग्रिस पोतिएर कालै बनेका कपडा लगाउँछन् अरू मिस्त्री र सहयोगीसँगै खटिईरहन्छन्।

सानै उमेरमा बिग्रिएका गाडी खोतल्न सुरू गरेका उनलाई अहिले विजय मिस्त्री भनेपछि ठूला गाडीका चालक र साहु धेरैले चिन्छन्। हरेक महिना ५ सयभन्दा बढी गाडी मर्मतको लागि आफ्नो ग्यारेजमा आउने उनले बताए।

दिनमा भने ४० वटासम्म गाडी मर्मतको लागि आउँछन्। गुड्न सक्ने गाडी मर्मतको लागि ग्यारेजसम्मै आउँछन्। गुड्न नसक्ने गरि बिग्रिएका गाडी मर्मत गर्न उनी आफैं गाडी भएको ठाउँसम्म पुग्छन्।

‘यहाँ आउन नसक्ने गाडी बनाउनकै लागि धनकुटा, हिले, जुम्ला, कालिकोट, बाजुरा, गुल्मी, बाग्लुङ, मुग्लिङ, चाईनाको नाकासम्म पनि पुगेको छु,’ उनले सेतोपाटीसँग भने।

पहिले उनी यी ठाउँमा आरएक्स मोटरसाईकल चढेर गाडी मर्मत गर्न पुग्थे। अहिले आफ्नै हाईलक्स गाडी चढेर पुग्छन्।

‘कहिलेकाहीँ गाडीको आवाज सुनेर यो बिग्रिएको छ यसो गर भनेर फोनमा चालकलाई पनि सिकाउँछु, धेरैजसो त आफैं जानुपर्छ, चालक साहुहरूले तपाईँ आफैं आउनुपर्छ भनेर म नगई मान्दैनन्,’ उनले भने।

बुटवलबाट चल्ने मात्र होईन उनको ग्यारेजमा सिन्धुपाल्चोक, तेह्रथुम, धनगढी नेपालगञ्ज, बैतडी, साँफेबगर, दाङ, पोखरा, चितवनबाट समेत गाडी मर्मतको लागि ल्याउने गर्छन्।

दाङ तुल्सीपुरका राजेन्द्र बहादुर वली आफूले पोखरामा गाडी चलाउँदै आए पनि गाडी बिग्रिएपछि मर्मतको लागि बुटवलमै ल्याउने गरेको बताए।

‘गाडी बनाउने ग्यारेज त पोखरामा पनि धेरै छन्, तर पहिलेदेखि विजय दाइको ग्यारेजमै बनाउने गरियो अहिलेपनि यहीँ ल्याउँछु, सामान्य बिग्रिएको बेला फोन गरेर पनि बनाउन सिकाउनुहुन्छ,’ वलीले भने।

२८ वर्षअघि आफूले ग्यारेज सुरू गर्दा मर्मत गर्न आउने गाडीका चालक र साहुहरू अहिलेसम्मै आउने गरेको विजयले सुनाए।

‘मेरो ग्यारेज सुरू हुँदाका गाडी विस्थापित गरेर अरू गाडी किने पनि साहु र चालकले गाडी मर्मत गर्ने ग्यारेज र मिस्त्री भने फेर्न सक्नुभएको छैन,’ उनले भने।

ईन्जिन, ब्रेक, गियर, पट्टालगायत गाडीका पार्टपूर्जा मर्मत गर्ने मैनाबगरस्थित उनको ग्यारेज गाडीले भरिएको हुन्छ। ‘गाडी बनाउँदा यति अभ्यस्त भईयो कि गाडीको आवाज सुनेर पनि त्यसमा के समस्या हो भन्ने छुट्याउन सक्छु,’ उनी ढुक्कसाथ भन्छन्। अरू ग्यारेजमा नबनेका गाडीसमेत आफ्नो ग्यारेजमा ल्याएपछि चल्ने बनाएर पठाएको र आफ्नोमा बन्न सकेन भने अन्यत्र बन्न नसक्ने उनको दाबी छ।

‘टाटा, सिप्रदी कम्पनीमा मर्मत हुन नसकेका गाडी पनि मैले मर्मत गरेको छु, त्यहाँ मर्मत गर्न नसकेर यहाँ ल्याएका धेरै गाडी चल्ने बनाएर पठाएको छु,’ उनले भने।

आफूले ग्यारेज सुरू गर्दा अहिलेको जस्तो अटोमेटिक सिष्टमका गाडी नभए पनि उनले आफूलाई समय अनुकुल अभ्यस्त गराउँदै लगेको बताउँछन्।

‘पहिले अहिलेजस्तो सेल्फ स्टार्ट हुने गाडी थिएनन्, पार्टपूर्जा पनि फरकफरक छन्, मैले भने खोल्दै जोड्दै गरेर भए पनि आफूलाई त्यसमा अभ्यस्त बनाउने गरेको छु, एकपटक खोलेर जोड्न नसकिए पटकपटक प्रयास गर्नुपर्छ, एकपटक बिगारेर बनाएको चिज कहिल्यै बिर्सिंदैन,’ उनले भने। ग्यारेजबाट आम्दानी राम्रै हुने भए पनि नेपालमा मेकानिकल मिस्त्री थोरै छन्। त्यसैले गाडी मर्मत गर्न धेरै टाढासम्म जानुपर्दा अलि बढी दु:ख हुने उनले बताए।

उनले वर्षमा चार/पाँच जना मिस्त्री आफैंले पनि तयार पार्छन्। तर बजारमा अझै मेकानिकल मिस्त्रीको अभाव छ।

‘मेरै ग्यारेजमा काम सिकेका ५० जनाभन्दा बढीले नेपालका विभिन्न स्थानमा आफैं ग्यारेज चलाएर बसेका छन्, विजयको चेला भनेर चिनाउन पाउँदा गर्व लाग्छ,’ उनले भने।

अहिले पनि उनको ग्यारेजमा ३० जना युवाले गाडी मर्मत गर्दै सिप सिकिरहेका छन्।

कुनै पनि सिप हातमा छ भने नेपालमा पैसा कमाउन कुनै दुःख नहुने उनको अनुभव छ।

‘नेपालमा पैसा त हावामा उडिरहेको छ, टिप्न जाने मात्र हुन्छ, नेपालको पैसा चिन्न नसक्दा युवाहरू विदेश जाने गरेका छन्,’ उनले भने, ‘कामलाई सानो नभनि यहीँ केही गर्ने हो भने परिवार पाल्न विदेश जानैपर्दैन, नेपालमै सानदार जीवन बिताउन सकिन्छ, मेरो त फोनका हरेक घण्टीमा पैसा बज्छ।’

गाडी बनाएर दैनिक ३५/४० हजार बचत गर्ने गरेको उनले बताए।

‘साँझ घर फर्किँदा ३५ देखि ४० हजार लिएर नजाने दिन कमै हुन्छ, सबै खर्च कटाएर पनि मासिक ६ देखि ७ लाख रूपैयाँ बचत गर्न सकिन्छ,’ उनले भने। ग्यारेज सुरू गर्दा उनीसँग हातमा सिपबाहेक केही थिएन। तर त्यहीँ ग्यारेजको आम्दानीबाट बुटवल ट्राफिक चोक र चाँदबारीमा दुई वटा घर बनाएका छन्। तीन चार ठाउँमा घडेरी लिएको उनले बताए। हाइलक्स गाडी किनेका छन्।

आफ्नो ग्यारेजलाई उनी नेपालकै नमूना ग्यारेज बनाउन चाहन्छन्। अब जिन्दगीमा उनको यहीँ सपना छ। आफ्नो यो सपना पुरा गर्न छोराको साथ उनले आश गरेका छन्।

उनका दुई वटी छोरी काठमाडौंमा पढ्छन्। छोरा भने बुटवलमै १० कक्षामा पढ्दै छन्।

‘छोराले तपाईँको सपना जे छ म त्यहीँ पढ्छु भनेको छ,’ विजयले भने, ‘मैले त कालैकालो ग्यारेजमा जीवन बिताउन थालेँ, छोराले मेकानिकल ईञ्जिनियर पढ्यो भने मैले सुरू गरेको ग्यारेजलाई व्यवस्थित बनाएर नेपालकै नमूना बनाउने भन्ने सपना मेरो छ।’ भगवती पाण्डेले सेतोपाटीका लागि तयार पारेको सामाग्री