कुमारी बैंकका सीईओले ‘जोसमा होस्’ गुमाउँदा ५ जना पक्राउ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, कार्तिक २५ २०७८
69.6K
SHARES

काठमाडौं – कुमारी बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीनाले ‘जोसमा होस्’ गुमाउँदा ५ जना व्यक्ति प्रहरी हिरासतको चिसो कस्टडिमा सडेका छन् ।

फिलिपिन्समा एमबीए पढ्दाका ‘रुम मेट’ साथीले किर्ते लालपूर्जा लिएर आउँदा जोसमै ऋण प्रवाह गरेका कारण अहिले ५ जना प्रहरीको हिरासतमा दिन विताइरहेका छन् । चर्चित गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा रहेको १२ विगाहा जग्गा किर्ते प्रकरणको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैंकको बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी एसके महर्जन, मुक्तिलाल गौतम र सीइओ तिमिल्सीनाका रुम मेट विचौलिया कुसुम प्रधान छन् ।

के हो घटना ?

गायक अमात्य विशेष कामका लागि नेपाल बाहिर थिए । बाराको विश्रामपुरमा रहेको १२ विगाहा जग्गा खाली भएपछि धेरैले आँखा लगाउने नै भए । नेपाल फर्किएपछि उनी र उनकी श्रीमती सञ्चालक रहेको विरुवा भूमिवन प्रालिको नाममा रहेको जग्गाको किर्ते लालपूर्जा बनाई एसके महर्जन र मुक्तिलाल गौतमले १९ करोड रुपैयाँ ऋण लिएको चाल पाए ।

आफ्नो जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ऋण समेत निकालेको थाहा पाएपछि उनी यसबारे बुझ्न कुमारी बैंकको न्यूरोड शाखासम्म पनि पुगे । बैंकले प्रष्ट जवाफ नदिएपछि उनी दशैंअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को महाराजगञ्जस्थित कार्यालयमा पुगेर उजुरी दिए ।

अमात्यको उजुरीको आधारमा छानविन थालेको सीआईबीले अहिले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा नक्कली धनी पूर्जाका आधारमा प्रवाह गरेको ऋण कुमारी बैंकले उठाइसकेपछि मात्र गायक अमात्यले आफ्नो जग्गाको पूर्जा अर्कैले बनाएको थाहा पाएका थिए ।

नक्कली कागज बनाएर धितो राखेको चाल पाएपछि कुमारी बैंकको बारा शाखाले १९ करोड रुपैयाँ ऋण असूली गरेको पाइएको सीआईबीका निर्देशक धिरजप्रताप सिंहले बताए ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बैंकले नक्कली धनी पूर्जा धितो राखिएको थाहा पाएपछि नक्कली जग्गा धनी महर्जनको अर्को जग्गा धितो राखेर ऋण निकाल्न लगाएको थियो र त्यसबाट पुरानो ऋण असूली गरेको पाइएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार विचौलिया प्रधानको सहयोगमा महर्जन र गौतमले आफूहरु सञ्चालक रहेको डेनियल ट्रेडिङ कम्पनी, कोटेश्वरको नाममा २०७८ को साउनमा नक्कली धनीपूर्जा बनाएका थिए ।

त्यही पूर्जा राखेर कुमारी बैंकका कामु सीईओ तिमिल्सीनाको आग्रहमा न्यूरोड शाखामा ऋण माग गर्दै निवेदन दिएका थिए । तर धितो राखेको जग्गा बारामा पर्ने भएकाले न्यूरोड शाखाले कामु सीईओ तिमिल्सीनाको फायल भन्दै धितो मूल्यांकनका लागि बारा शाखालाई पत्राचार गरेको खुलेको छ ।

अधिकृतहरुका अनुसार बाराबाट ऋण मूल्यांकन गर्ने कार्यमा ऋण अधिकृत सोनु ठाकुर र मूल्यांकनकर्ता राजेश चौरसिया संलग्न देखिन्छन् । ‘जुनियर एसिस्टेन्ट समेत रहेका ठाकुरले धितो बन्धक लिखतमा हस्ताक्षर गरेकाले कानूनी दायित्व बहन गर्नुपरेको हो’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘मूल्यांकन गर्दा चौरसियाले जग्गा कसको नाममा छ भन्ने मालपोतमा गएर प्रमाणिकरण गर्नुपर्थ्यो, गरेनन् ।’ दुवै जना अहिले सीआईबीको हिरासतमा छन् ।

कामु सीईओ तिमिल्सीनाको फायल भएकाले चौरसियाले धेरै खोजिनीति गरेनन् । फायलमा हस्ताक्षरमात्रै गरेका उनले अहिले सजाय भोगिरहेका छन् ।

धितो राखेको जग्गाको मूल्यांकन गर्दा स्थानीय निकायबाट चार किल्ला प्रमाणित गर्नुपर्नेमा समेत त्यो कागज पनि नक्कली बनाएको भेटिएको स्रोत बताउँछ । धेरै रकम भएकाले ऋणको अन्तिम स्वीकृति चाहिँ नक्सालस्थित बैंकको मुख्यालयले दिएको अनुसन्धानले देखाएको छ ।

नक्कली जग्गा धनी महर्जन र गौतमले चाहिँ आफूहरुलाई पनि प्रधानले फसाएको बयान दिएका छन् ।

को हुन् विचौलिया प्रधान ?

सेन्चुरी कमर्सियल बैंकका पूर्वसंचालक हुन् कुसुम प्रधान । प्रधान र कुमारी बैंकका कामु सीइओ तिमिल्सीना एकदमै नजिकका साथी हुन् ।

सीईओ तिमिल्सिना र कुसुन फिलिपिन्समा एमबीए पढ्दाका ‘रुम मेट’ समेत हुन् । सेन्चुरी कमर्सियल बैंकमा डलर काण्ड घट्दा प्रधानले तिमिल्सीनालाई ठूलो गुन लगाएका थिए ।

अनुजमणि तिमिल्सीना सेन्चुरीमा रहंदा तिमिल्सीनालाई जोगाउन प्रधानलेसमेत बाहिरी रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए । यो प्रकरणमा पनि प्रधानले अर्काको जग्गाको किर्ते कागज बनाएर कुमारी बैंकमा ऋण लिएका हुन् ।

कुमारी बैंक लिमिटेडको विश्वस्त स्रोतले दिएको जानकारी अनुसार यो प्रकरणकाबारे अनुजमणि पहिला नै जानकार थिए । प्रधानको यो प्रकरणमा तिमिल्सीनाले नै बैंकका अर्का डेपुटी सीइओ मनिष तिमिल्सीनालाई लगाएर यो काम सकेसम्म छिटो फत्ते गर्न भनेका थिए ।

सोहि अनुसार यो ऋणको फाइल अगाडि बढेको थियो । मनिष तिमिल्सीनालाई पनि यो जग्गाको पूर्जा नक्कली हो भन्ने थाहा भएको र थाहा भएको दिन सक्कली पनि राख्नुपर्ने हुनसक्ने भन्दै प्रधानलाई उहीबेला नै बताएको बैंक स्रोतको दाबी छ ।