कुमारी बैंकका सीईओलाई पक्राउ गर्ने तयारी


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, मंसिर ३ २०७८
50.5K
SHARES

काठमाडौं – कुमारी बैंकले नक्कली धनी पूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण प्रवाह गरेको घटनाले बैंकिङ क्षेत्र तरङ्गीत छ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाई ऋण प्रबाह भएको भेटिएपछि बैंकिङ क्षेत्रमा तरङ्ग आएको हो ।

यस विषयमा नेपाल राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । प्रारम्भीक अनुसन्धानमा बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) अनुजमणि तिमल्सिनाको बदमासी भेटिएको छ । उनको बदमासी भेटिएपछि प्रहरीको अनुसन्धान उनी र बैंकका अरु कर्मचारीतिर मोडिएको छ ।

सीआईबीले सरकारी लिखत सम्बन्धी कसूरलाई बैंकिङ कसूरमा परिणत गरेर ऋण प्रवाह गर्ने बैंकको कर्मचारीतिर अनुसन्धान सोझ्याएको छ । सरकारी लिखत कीर्तेमा प्रहरीले बढीमा २५ दिन आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । कसूर परिवर्तन भएसँगै अब प्रहरीले अनुसन्धानका लागि ६० दिनसम्मको समय पाउने भएको छ ।

ब्यूरोका निर्देशक धिरजप्रताप सिंह कुमारी बैंकले नक्कली धितोमा ऋण प्रवाह गरेको घटनामा बैंकिङ कसूर शीर्षक अन्तर्गत अनुसन्धान थालिएको बताए । उनले भने ‘बैंकको संलग्नताबारे पनि अनुसन्धान सुरु भएको छ, तर अहिल्यै यसको प्रगतिबारे बताउने बेला भइसकेको छैन ।’

गायक अमात्यले बारामा भएको आफ्नो जग्गाको नक्कली धनी पूर्जा बनाएर कर्जा प्रवाह भएको भन्दै दशैंअघि सीआईबीमा किटानी जाहेरी दिएपछि ब्यूरोले अनुसन्धान थालेको थियो । तर बैंकले जाहेरी नदिँदा बैंकिङ कसूरमा अनुसन्धान अघि बढ्न सकेको थिएन ।

प्रहरीले लिखत कीर्ते सम्बन्धी कसूरमा बैंकको बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधानलाई पक्राउ गरिसकेको छ ।

‘सरकारी वकिलको कार्यालय, काठमाडौंले लिखत कीर्तेसँगै बैंकिङ कसूरमा पनि अनुसन्धान गर्न उचित हुने भनेर सल्लाह दिएपछि यो मुद्दामा अनुसन्धान थालेका हौं’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिंह भन्छन्, ‘अहिले उनीहरुविरुद्ध अनुसन्धानका लागि थप तीन दिन म्याद लिएका छौं, क्रमशः म्याद थप गरेर अनुसन्धान हुन्छ ।’

यस प्रकरणको छानविनका लागि नेपाल राष्ट्र बैंकले बनाएको छानविन समितिको अनुसन्धानले पनि हालै ऋण प्रवाह गर्ने कार्यमा बैंकका कामु सीइओ तिमल्सिनाको पनि संलग्नता देखिएको निश्कर्ष निकालेको छ । यो प्रकरणको ऋणको स्वीकृति तिमल्सिनासम्म पुगेर भएको देखिएको समिति स्रोत बताउँछ ।

सीआईबीका एक अधिकृत भन्छन्, ‘राष्ट्र बैंकले पनि छानविन प्रतिवेदन देला, त्यसको आधारमा पनि अनुसन्धान हुन्छ ।’ बैंकिङ कसूरमा अनुसन्धान गर्दा थप समय पनि प्राप्त भएकाले अब सीइओ तिमल्सिनासहित थप केही व्यक्तिहरुलाई पक्राउ गरेर बयान अनुसार विस्तृत अनुसन्धान हुने प्रहरी श्रोतको भनाई छ ।

बाराको विश्रामपुरमा गायक योगेश्वर अमात्य र उनकी श्रीमती सञ्चालक रहेको विरुवा भूमिवन प्रालिको नाममा १२ विघा जग्गा थियो । सोही जग्गाको नक्कली धनी पुर्जा बनाई ऋण प्रबाह भएको थियो ।