ह्वात्तै घट्यो भारतीय कम्पनी एलआईसी नेपालको बोनशदर, जनताले बीमा गर्न छोडे


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, मंसिर ६ २०७८
7.1K
SHARES

काठमाडौं – भारतीय बीमा कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)को नयाँ बोनशदर सार्वजनिक भएको छ । नयाँपत्रिकामा आएको सूचना अनुसार एलआईसीको बोनशदर ह्वात्तै घटेको छ ।

आर्थिक बर्ष २०७५/७६ मा ८५ रुपैयाँ सम्म रहेको एलआईसीको बोनशदर आर्थिक बर्ष २०७६/७७ मा आएर १५ रुपैयाँले घटेको छ । अब बीमितले कम्पनीका विभिन्न पोलिसी अनुसार ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनश पाउने छन् ।

लक्ष्मी प्रताव दास सीईओ बनेर आएपछि कम्पनीमा सुशासनको कमी आउनु, कम्पनीको हितभन्दा व्यक्तिगत स्वार्थ हावि हुनु, योग्य र क्षमतावान अभिकर्तालाई टिकाउन नसक्नु, ठूलो मात्रमा बीमा पोलिसी फिर्ता हुनु, योग्य कर्मचारीले कम्पनी छोड्नु लगायतका कारणले कम्पनीको आम्दानी घटेको छ । बीमा समितिले लिने २० प्रतिशत प्रोभिजनिङ, कोभिडका कारण आम्दानी कमी आएको, जनताले बीमा गर्न छोडेको लगायतका कारणले बोनश घटेको कम्पनीका सूचना अधिकारी सुदर्शन गिरीले बताए ।

आर्थिक वर्ष २०७५/७६ मा बीमितले पाउने न्युनतम ६६ रुपैयाँ र अधिकतम बोनशदर ८५ रुपैयाँसम्म थियो भने आर्थिक वर्ष २०७६/२०७७ को बोनसदर क्रमश ३१.८२ प्रतिशत र १२.५ प्रतिशत घटेर न्युनतम ४५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ कायम भएको छ।

कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७८ कार्तिक ३० गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनश दर प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।

कम्पनीले सावाधिक, जीवन बीद्या, जीवन साथी बीमा योजनामा प्रतिहजार न्युनतम ५४ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनश दिने भएको छ ।

यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनश दिने घोषणा गरेको छ ।

यसअघि यो योजनामा ५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ७० रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ८० रुपैयाँ बोनश रहेको थियो ।

जीवन आनन्द बीमा योजना कम्पनीले प्रति हजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ । यो योजनामा पनि ६६ देखि ८० रुपैयाँ प्रतिहजार प्रतिबर्ष थियो ।

त्यस्तै, बाल सावाधिक बीमा योजनामा कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनश दिने भएको छ । यस बीमा योजनमा १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६८ रुपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

यो योजना अघिल्लो आर्थिक बर्षमा ६६ देखि ६८ रुपैयाँ बोनश थियो । धन बृष्टि बीमा योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ । यसअघि ६६ रुपैयाँ थियो ।

धन फिर्ता बीमा योजना कम्पनीले १५ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । यो योजनामा यसअघि ६६ देखि ६८ रुपैयाँ बोनश थियो ।