कुमारी बैंकको नक्कली ऋण काण्डमा गजवको प्रमाण भटिएपछि प्रहरी चकित


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, मंसिर ७ २०७८
39K
SHARES

काठमाडौं – कुमारी बैंक लिमिटेडको नक्कली जग्गा प्रकरण अहिले चर्चामा छन् । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) अनुजमणि तिमल्सिनालाई यही विषयले समाजमा नाक देखाउन मुस्किल भएको छ ।

तर अनुसन्धानमा खटिएका अधिकारीहरुले अर्कै कुरा भेटेपछि अनुसन्धान नयाँ शीराबाट सुरु भएको छ । बैंकको न्युरोड शाखाले नक्कली जग्गा धितोमा राखेर १९ करोड रुपैयाँ लगानी गरेको थियो ।

बैंकका सीईओ तिमल्सिनाले नक्कली धनीपुर्जाका आधारमा ऋण प्रबाह भएको थाहा पाएपछि तत्काल ऋण असुली गरेर १९ करोड सर्वसाधारणको रुपैयाँ बचाएका हुन् । यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रीय बैंकले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।

जनताको पैसा डुब्नु हुँदैन भन्ने कुरामा सचेत रहेका तिमल्सिना १९ करोड रुपैयाँ जोगाउन सफल भएका छन् । सर्वसाधारणको रकमबाट बैंकहरु चल्ने हुन् । पैसा नडुबोस् भनेर बैंकहरुले कर्जा दिंदा धितो सुरक्षण गर्ने हुन् । कर्जा उठ्न नसक्ने अवस्थामा बैंकले धितो लिलाम गरेर कर्जा असुल उपर गर्ने हो ।

तर धितो नै नक्कली भएकाले कुमारी बैंकको १९ करोड रुपैयाँ डुब्ने जोखिम थियो । उक्त रकम बैंकले जोगाएको हो ।

‘हामीले राष्ट्र बैंक वा सीईबीलाई जानकारी गराउनु पर्छ भनेर पहिले सोचेका थियौं, तर पहिले नै हल्ला हुँदा अर्को समस्या हुने थियो त्यसैले हामीले सतर्कता अपनायौं,’ बैंक श्रोतले भन्यो, ‘सबैभन्दा पहिले हामीले पैसा डुब्न दिएनौं त्यो हाम्रो कर्तव्य पनि हो, यहाँ गलत नियत भनेर शंका गर्ने ठाउँ नै छैन । सीईओले यसमा सचेतना पूर्वक कर्जा असुल गर्नुभएको छ ।’

गायक योगेश्वर अमात्यको उजुरीको आधारमा छानविन थालेको सीआईबीले अहिले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा बैंकको बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधान छन् ।

कुमारी बैंकले राष्ट्र बैंकलाई जानकारी नगराएको कारण कार्यवाहक सीईओको जिम्बेवारीमा रहेका तिमल्सिनाप्रति नै राष्ट्र बैंकले शंका गरेको थियो । तर यहाँ शंका गर्ने ठाउँ नै नरहेको बैंक बताउँछ ।

ऋण बैंकको न्यूरोड शाखाबाट प्रवाह भएको हो भने मूल्यांकनका लागि बाराको शाखाले काम गरेको थियो । सबै प्रक्रिया सकेर फाइल मात्रै केन्द्रीय कार्यालयमा पुग्ने भएकाले यहाँ शंका गर्ने ठाउँ नै नरहेको बैंक बताउँछ ।

‘कागजातहरु सबै तयार भएर आएका थिए, मालपोतबाट रोक्का भएको कागज समेत पेश भएको थियो,’ सीईओ तिमल्सिना भन्छन्, ‘सबै तल गएर हेर्ने कुरा आउँदैन, यहाँ कागजातहरु सबै हेर्दा ठिक थियो तर सबै नक्कली बनाएर ल्याएको रहेछ ।’

दोषिलाई कारबाही हुनुपर्छ भन्ने पक्षमा अहिले बैंक पनि रहेको छ । तर कुर्सीमा बसेकै कारण कसैले गरेको बद्मासीको सजाय निर्दोष व्यक्ति वा संस्था हुन नहुने बैंकका अधिकारीहरु बताउँछन् ।

यो विषयमा अर्को रमाइलो कुरा त के छ भने कर्जाको सबै रकम गायक अमात्यको सिद्धार्थ बैंकमा रहेको खातामा जम्मा भएको छ । उक्त रकम अमात्यले बैंकलाई फिर्ता गरेका पनि छैनन् र नक्कली धनीपूर्जा बनाउने व्यक्तिलाई पनि दिएका छैनन् ।

प्रहरी श्रोतका अनुसार गायक अमात्य जतिबेला पनि पक्राउ गर्नेगरी अनुसन्धान थालेको छ ।