असफलतासँग तपाईंको कुनै सम्बन्ध छैन, धैर्य राख्नुस्


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, मंसिर ८ २०७८
2.5K
SHARES

काठमाडौँ – जब तपाईं निराशाको वशमा पुग्नुहुन्छ, तपाइँका सारा मानसिक शक्ति क्षीण हुन थाल्छ । तपाईंको, प्रतिभा कुण्ठित हुन्छ र कार्यक्षमतामा पनि हास आउँछ ।

असफलताले किंकर्तव्यविमूढ भएर उत्साह गुमाउनाले र निराशाको वशमा पुग्नाले तपाईंको मस्तिष्कमा अँध्यारो बढ्न थाल्छ, जसले त निर्णय क्षमता पनि कमजोर बनाउँछ । तपाईं आफना लागि आफैले विष रोप्दै हुनुहुन्छ र, यस्ता गलत निर्णयहरू लिनुहुन्छ कि जुन पछि गएर धेरै हानिकारक सिद्ध हुन पुग्दछन् ।

तपाई धेरै दुःखी हुनुहुन्छ । तपाइँका कोही प्रियजनको मृत्यु भएको छ वा तपाइँलाई ठूलो विपत आइलागेको छ । यस्तो बेला तपाईलाई अरू हाँसेको देख्दा अचम्म लाग्नसक्छ । तपाइँ सोच्नुहुन्छ कि अब तपाई कहिल्यै हाँस्नुहुन्न, तपाइँका मनोरञ्जनका दिन गए । तपाईंको हाँसो हराए र तपाइँले मनोरञ्जनमा भाग नलिए पनि, यदि तपाइँले धैर्य राख्नुभएको छ र साहसले काम गर्नुभएको छ भने केही समयपछि तपाइँले ती दुःखका घटनाहरू विस्तारै भुल्दै जानुहुनेछ । समय क्रममा ती पुरिदै जानेछन् ।

ठूलाभन्दा ठूला घाउ पनि समयले पुरिदिन्छ । आवश्यकता छ, धैर्यको । परिस्थितिको दास कहिल्यै नबन्नुहोस् परिस्थितिलाई दास बनाउनुहोस् । संसारमा प्रत्येक वस्तुको साथमा यसको विपरीत भाग पनि रहिरहेकै हुन्छ । सुखको साथ दुःख हुन्छ ।

आशासँगै निराशा हुन्छ, राम्रोको साथमा नराम्रो हुन्छ । दिनको साथ रात र उज्यालोको साथ अँध्यारो हुन्छ । कहिले काहीं घना कालो बादलले दिउँसै अन्धकार जस्तो हुन्छ । सूर्य ढाकिन्छ । दिउँसै घरभित्र बत्ती बालपर्ने हुन्छ । तर, एकैछिनमा बादल विस्तारै हट्दै गएर झलमल्ल उज्यालो चारैतिर फैलिन्छ । दुःखको बादल पनि विस्तारै हट्दै जान्छ ।

साहसको साथ दुःखको सामना गर्नुहोस् । मनमा उत्साह राखिराख्नुहोस् । आशाको बत्ती बालिराख्नुहोस् । यदि साहसले आफ्नो धर्म छोडिदिएको छ भने अन्य मानसिक शक्तिले पनि काम गर्न छोडिदिन्छ । साहसको नेतृत्व विना कोही शक्ति अघि बढ्न सक्दैन । किनभने साहस सम्पूर्ण मानसिक शक्तिको राजा हो ।

आशा एक तेज सूर्य हो । यही सूर्यले प्रकाश दिन्छ । साहसी व्यक्ति यही सूर्यको प्रकाशमा बाँच्दछ । र, मूर्ख, निरूत्साहित व्यक्ति उज्यालो दाता सूर्यतिर ढाड फर्काउँछ र जीवनमा अँध्यारो मात्र देख्दछ । प्रकाशतिर फर्क, प्रकाश दिने सूर्यलाई हेर, प्रकाशतिरै बढ्दै जाऊ, भाग्यलाई दोष दिन बन्द गर्नुहोस् । दोषी भाग्य होइन, दोषी तपाइँ नै हो । तपाइँका निराशा र मूर्खता दोषी हुन् ।

तपाइँलाई ईश्वरले निराशाको लागि सृष्टि गरेका होइनन् । तपाईं उनै ईश्वरको अंश हुनुहुन्छ । ईश्वरले जे सन्देश दिएका छन्, त्यसलाई कदापि नभल ईश्वरले तपाइँलाई उत्साहको साथ बढ्नको लागि भनेका छन् । ईश्वरलाई जीवनमा निराशा स्वीकार्य छैन ।

तपाईं धर्तीमा प्रसन्नतापूर्वक बाँच्नको लागि आउनुभएको हो । जीवनसँग हार्नको लागि आउनुभएको हैन । तपाइँ स्वयं आफैमा एउटा विजय हो । तपाइँको जीवन प्रसन्नता, शान्ति र उत्साहको लागि हो, दुःख र निराशाको लागि होइन । तपाइँको कुनै दुर्भाग्यको कारण स्वयं तपाइँ हो, अरू कोही होइन ।

तपाइँ भगवान्को सन्तान हो । तपाइँको जन्म निराशाको लागि भएको होइन । अभाव र असफलताबाट तपाइँ डराउनुहुँदैन । किनभने तपाइँ भगवान्को अंश हो, र भगवान्को भयसँग कुनै सम्बन्ध छैन । तपाइँ वीर हुनुहुन्छ, साहसी हुनुहुन्छ, विजेता हुनुहुन्छ ।

परिस्थिति तपाईंको सेवक हो, तपाइँ परिस्थितिको सेवक होइन । निराशाको हातबाट आफ्नो शक्तिको नाश हुनबाट संधै जोगाएर राख्नुस् । तपाईं स्वयं साहस र शक्ति पनि हो । किनभने तपाई पूर्ण व्यक्ति हो । पूर्ण व्यक्तिउपर निराशाको कुनै अधिकार हुन सक्दैन । निराशा त केवल दूषित मनको कल्पना मात्र सत्य होइन । जसलाई भगवान्प्रति भरोसा छैन त्यही निराश हुन्छ ।

जो साहसबाट विमुख हुन्छ, जो निराश हुन्छ, ऊ भगवानमा अटुट र दृढ विश्वास गर्न सक्दैन । उनीहरूको विश्वास कुनै मुर्खतापूर्ण शक्तिमा रहेको छ । संघर्षको बोझले आफूलाई दब्न नदिनुहोस्, संघर्षमाथि विजय पाउनुहोस् । आफूलाई भगवान्को नजिकै ठानेर अगाडि बढ्दै जानुहोस् । सफलता स्वयं तपाईंको पाउ चुम्न आउँदछ । सफलता धेरै टाढा छैन, मात्र तपाइँ देखिरहनुभएको छैन, यो यिनै कठिनाइहरूको पारिपट्टि रहेको छ । बस्, कठिनाइहरू पार गर्नुस्, सफलता त विजयमाला लिएर तपाइँको स्वागतको लागि कहिलेदेखि त्यहाँ उभिरहेको छ ।

महान् व्यक्ति त्यही हो जो जीवनका सम्पूर्ण कठिनाइहरूलाई हाँस्दै बेहोरेर असफलता र कष्टबाट मुक्ति प्राप्त गर्दछ र सफलता हात पार्दछ । तपाईंको जीवनको सफलता तपाइँकै हातमा छ । आज तपाइँका आँखाले बाटो देख्न सकेन त यसको अर्थ यो होइन कि तपाइँले कहिले पनि बाटो फेला पार्नुहुने छैन । त्यो पक्कै देखिने छ । बढ्दै जानुहोस्, अगाडि बढ्दै जानुहोस् । अवरोधहरूको वास्ता पटक्कै नगर्नुस । जीवनको डुङ्गालाई सजिलैसित पार लगाउनुहोस् ।

मनमा कहिल्यै हीन भावना आउन नदिनस । तपाई वास्तवमा परमेश्वरको अंश हुनुहुन्छ, परमेश्वरको सन्तान हुनुहुन्छ । तपाइँले हीन भावना पाल्नु परम पालक परमेश्वरको अपमान गर्नु हो । परमेश्वरको लागि कुनै पनि असम्भव छैन, परमेश्वर महान् छन् । जीवनको बहुमूल्य वस्तु तपाइँको प्रतिक्षामा छ । त्यसलाई पाउनको लागि प्रयास त गरिहेर्नुस् ।

कहिल्यै म यो गर्न सक्दिन, त्यो गर्न सक्दिन भनेर भन्दा पनि नभन्नुस, सम्झिदा पनि नसम्झनुस् । यसो गरेर तपाइँले आफ्नै शक्तिको उपेक्षा गरिरहनुभएको हुनेछ । तपाईं गर्न सक्नुहुन्छ ( गर्नुहोस् । गर्नको लागि तपाईं समर्थ हुनुहुन्छ, सक्षम हुनुहुन्छ, र तपाइँमा साहस छ । तपाईं भगवान्को अंश हो र भगवान् सफलताको स्रोत हो । त्यसैले असफलतासंग तपाईंको कुनै सम्बन्ध छैन । तपाईंको सम्बन्ध सफलतासँग मात्र छ । तपाईं साक्षात साहस हो, तपाइँ स्वयं शक्ति हो ।