रातारात फुट्यो ओली गुट


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, मंसिर ९ २०७८
4.5K
SHARES

काठमाडौं – नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा शुक्रबार हुँदैछ । नेतृत्व चयनका लागि हुन लागेको १० महाधिवेशनमा नेताहरुले आ—आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

नेकपा एमाले अध्यक्षमा केपी ओली नै दोहोरिने संभावना छ । उपाध्यक्ष भिम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

तर, उनी निर्वाचित हुने संभावना न्युन छ ।

किनेभने प्रतिनिधि सभा विघटनदेखि ओलीको चर्को आलोचना गरेका थिए । पार्टी विभाजनको तहमा पुगेपछि भने आफूसँगै रहेका सहयात्रीलाई छोडेर एमालेतिरै फर्किएका थिए ।

त्यसो हुँदा उनीसँग हिजोको विद्रोही शक्ति त छैन नै ओली समुहको ठूलो भिडले पनि उनलाई साथ दिने अवस्था छैन ।

एमालेको बरिष्ठ उपाध्यक्ष पदमा ओली समूह भित्रै विभाजन आएको छ । एक जना हुने बरिष्ठ उपाध्यक्ष पदमा नेताहरु ईश्वर पोखरेल र पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ्गले दाबी गरेका छन् ।

यसअघि उपमहासचिव रहेका घनश्याम भुषालले पनि बरिष्ठ उपाध्यक्षमा दाबेदारी दिएका छन् । ओलीका विश्वास पात्र मानिएका नेम्वाङ्ग र पोखरेलको उम्मेदवारीले ओली गुटमा फूट आएको देखिन्छ ।

ओली सरकारमा सबैभन्दा धेरै लाभ लिने पोखरेल पटक पटक मन्त्री बनेका थिए । उनी पनि ओलीबाट सबैभन्दा लाभ पाउने व्यक्ति मध्ये पर्छन् ।

ओली सरकारमा उपप्रधान तथा रक्षामन्त्री हुँदै विनाविभागिय उपप्रधानमन्त्री पनि पोखरेल नै बनेका थिए ।

यति समुहलाई कौडीको भाउमा राजा विरेन्द्रको जग्गा भाडामा दिनेदेखि कोरोना कालमा मेडिकल सामग्री खरिद प्रकरणमा पोखरेल मुछिएका थिए ।

त्यस्तै संविधान सभाका अध्यक्ष नेम्वाङ्गले संविधान नै च्यातिने गरि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दापनि मुख खोलेका थिएनन् ।

उनको मौनतालाई कतिपयले ओलीको चाकडीको संज्ञा दिएका थिए । यसअघि एमालेको कुनै पनि कार्यकारी भूमिकामा नभएका नेम्वाङ्गले पोखरेलसहित घनश्याम भुषालसँग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ ।

त्यसो त यसअघि बरिष्ठ उपाध्यक्ष रहेका युवराज ज्ञवाली, उपाध्यक्षहरु भिम रावल, अष्ट्रलक्ष्मी शाक्य लगायतले पनि बरिष्ठ उपाध्यक्षमै उम्मेदवारी दिए भने अझै रोचक प्रतिष्पर्धा हुने छ ।