यी हुने केपी ओलीले प्रस्ताव गर्ने एमालेका १९ पदाधिकारी, बाहिरियो लिष्ट


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, मंसिर ११ २०७८
9K
SHARES

चितवन – नेकपा (एमाले)को १०औं महाधिवेशन चितवनमा चलिरहेको छ । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी प्रस्ताव गर्ने जिम्मेवारी तोकिएको छ ।

ओलीले घोषणा गरेको नामावली चित्त नबुझे उम्मेदवारी दर्ता गराउन सकिने व्यवस्था गरिएको छ । ओलीले अध्यक्षसहित ३ सय १ सदस्यीय कार्यसमिति घोषणा गर्नेछन् ।

एमालेको पदाधिकारीबाहेक भौगोलिक, गैरभौगोलिक र समावेशी समूहबाट निर्वाचित हुने संरचनामा परिवर्तन आएको हो।

असोज १५ देखि १६ सम्म चलेको विधान महाधिवेशनबाट पारित कमिटीको ढाँचालाई शुक्रबार मध्यरातमा बसेको केन्द्रीय कमिटी बैठकले परिवर्तन गरेको थियो। परिवर्तित स्वरुपलाई शनिबारको बन्दसत्रले अनुमोदन गरिसकेको छ।

अब एमालेको पदाधिकारी संख्या १९ हुने भएको छ। बाँकी केन्द्रीय सदस्यमध्ये १३७ जना खुला प्रतिस्पर्धाबाट आउनेछन्। तीमध्ये ५३ जना महिला हुनेछन्।

त्यस्तै, प्रत्येक भौगोलिक प्रदेशबाट ६ खुला र ३ महिलासहित ६३ जना निर्वाचित हुनेछन्। उपत्यका विशेष र सम्पर्क समन्वयबाट एक खुला र एक महिलाको लागि निर्वाचन हुनेछ।

समावेशी समूहमा ७८ जनाको लागि निर्वाचन हुनेछ। जसमध्ये खुलामा ५४ र महिलामा २४ जनाको लागि निर्वाचन हुनेछ।

ओलीले अध्यक्षमा केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा सुवास चन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, लालबाबु पण्डित र संकर पोखरेलको नामवली तयार पारेका छन् ।

त्यस्तै महासचिवमा विष्णु पौडेल, उपमहासचिवमा घनश्याम भुसाल, प्रतिप ज्ञवाली, गोकर्ण विष्टको नाम ओलीको लिष्टमा छ ।

सचिवमा महेश बस्नेत, योगेश भट्टराई, शान्ता चौधरी, गोकुल बास्कोटा, खगराज अधिकारी, यमलाल कडेल, टोपबहादुर रायमाझीँलाई प्रस्ताव गर्ने तयारी गरेको श्रोतको दावि छ ।