लिच्छविकालको शिलालेख भेटियो

काठमाडौं – ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख भेटिएको छ ।
परिसरभित्र ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार अभिलेख पुरातत्वविद् प्रकाश दर्नालको टोलीले भेट्टाएको हो ।
जुन अभिलेख गोकर्ण बालुवा गाउँमा अभिलेख राखिएकै वर्षमा राखिएको हो। राजवंशीका अनुसार गत २०७८ भदौ २९ गते ढल खन्ने क्रममै पूर्वमध्यकालको शिलालेख भेटिएको थियो ।
गत पुस ५ गते जमिनको गर्भभित्र उक्त अभिलेख भेटिएको उनले बताए ।
सिमेन्ट लागेर सहजै पढ्न नसकिएको अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा उल्लेख छ । कुल १५ पंक्ति रहेको अभिलेखको दायाँबायाँ श्रावक मृग र बीचमा धर्मचक्र कुँदिएको छ ।
अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ ।
अभिलेखमा महासामन्त अंशुवर्माको नाम उल्लेख रहेको राजवंशी बताउँछन् । यसमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांक प्रष्टसँग लेखिएको छ ।
यो अभिलेखले राजा वृषदेवले त्यहाँ विहार बनाएको भन्ने स्पष्ट लेखेको छ ।
