सिभिल बैंकका अध्यक्ष तामाङ पुर्पक्षका लागि जेल चलान


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, पौस १४ २०७८
16.2K
SHARES

काठमाडौं – काठमाडौं जिल्ला अदालतले पूर्वसांसद् तथा सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष समेत रहेका तामाङलाई सहकारीमा रकम वचत गर्नेहरुको रकम ठगीको आरोपमा अदालतले बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का निर्देशक धिरजप्रताप सिंहले बताए ।

अदालतले सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ । ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।

सिंहका अनुसार पूर्वलेखासमिति सदस्य हरिहर लामिछानेलाई ५० लाख, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई १५ लाख, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधारलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख र सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंहलाई १० लाख रुपैयाँ धरौटी मागिएको छ ।

जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुंगानालाई ५ लाख र असिस्टेन्ट संगीत श्रेष्ठलाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

त्यही प्रतिवेदनका आधारमा दायर मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो ।

तामाङविरुद्ध एक हजार ४९९ जनाले किटानी जाहेरी दिएका थिए ।