महिला मात्रै सदस्य भएको नयाँ पार्टी खुल्यो, अध्यक्षमा श्रेष्ठ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, माघ १ २०७८
1.7K
SHARES

काठमाडौँ – महिला मात्र सदस्य रहेको नयाँ पार्टी खुलेको छ । विवेकशील शाझा पार्टीमा रहेर काम गरेका अधिकांश महिलाको समूहले नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् ।

उक्त पार्टीलाई सुरुवाती दिनमा वैकल्पिक महिला संगठन नामले परिचित गराइने छ । विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल बाटो’ पक्षका नेतृहरुले वैकल्पिक महिला सङ्गठन नामको नयाँ महिला सङ्गठन घोषणा गरेका हुन्।

सो महिला सङ्गठनको केन्द्रीय संयोजकमा विद्या श्रेष्ठ महर्जन चयन भएकी छन् । काठमाण्डौँको रैथाने समुदायको हकहितका निम्ति विभिन्न अभियानमार्फत सङ्घर्षरत श्रेष्ठ लामो समयदेखि लोकतान्त्रिक राजनीतिमा पनि सक्रिय छिन्। श्रेष्ठले यसअघि विभिन्न राष्ट्रिय(अन्तराष्ट्रिय संघसँस्थाहरुको नेतृत्व गरिसकेकी छिन्।

समावेशीतालाई महत्वका साथ अङ्गीकार गरिएको केन्द्रीय समितिको २५ सदस्यीय रहने छ। पहिलो चरणमा १७ सदस्यको नाम घोषणा भएको छ। पहिलो चरणको केन्द्रीय समितिमा संयोजक विद्या श्रेष्ठ महर्जनसँगै इन्दिरा शर्मालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।

चण्डिका तिमल्सिना र सोनिका लामालाई केन्द्रीय सदस्य र सल्लाहकारको जिम्मेवारी दिइएको छ। अन्य केन्द्रीय सदस्यहरूमा प्रतिभाञ्जली पोखरेल, प्रेक्षा पण्डित, आशा ठाकुर, समासिं महर्जन, आरती कुसवा, निर्जला तामाङ, रबिना थापा, प्रियंका मिश्र, मेनुका पौडेल, रीतु खड्का, विनिता चौलागाईं, रबिना दंगाल र नाबिता शर्मा छन्। बाँकी नामहरू र अन्य पदाधिकारीहरू दोस्रो चरणमा घोषणा हुनेछन्।

महिलाहरूसँग सम्बन्धित नीति, कार्यक्रम र समस्याको समाधानबारे बहस चलाउने तथा वैकल्पिक राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता र अग्रणी नेतृत्व स्थापित गर्ने वैकल्पिक महिला संगठनको मूल ध्येय हुने जनाइएको छ।

राजनीतिक दलहरूको मूल पदाधिकारी तथा राज्यका अन्य निकायहरुमा कम्तिमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन, संवैधानिक रुपमै आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयन गराउन, लैंगिकताका आधारमा हुने घरेलु, कार्यस्थल तथा सार्वजनिक स्थानहरुमा हुने हिंसा र विभेदविरुद्ध सशक्त रुपमा उभिएर महिलामैत्री समतामूलक समाज निर्माणमा योगदान गर्ने संगठनको उद्देश्य रहने जनाइएको छ।

विवेकशील आन्दोलनले सुरु गरेको आशाको राजनीति जोगाइराख्न र अझ सशक्त ढङ्गले महिला तथा युवा केन्द्रित समावेशी र गतिशील वैकल्पिक राजनीतिलाई अघि बढाउन वैकल्पिक महिला सङ्गठनको घोषणा भएको संयोजक श्रेष्ठको भनाई छ।

नवगठित संठनकी केन्द्रीय सदस्य सोनिका लामाले हालको वैकल्पिक राजनीतिको बहसले महिलाका सपनाहरू सम्बोधन गर्न नसकेकाले त्यसको परिणाम स्वरूप महिलाहरूले आफ्नो बाटो आफै खन्ने तय गरेको बताइन्।