५ बर्षमाथिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय, यी ठाउँमा पाइन्छ खोप


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, माघ १ २०७८
3.6K
SHARES

काठमाडौं – सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बालबालिकालाई पनि खोप लगाउने निर्णय गरेको हो ।

आउँदो चैतमा यो समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको सरकारका प्रबक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । यो खोप काठमाडौँ उपत्यकाका हकमा विभिन्न सरकारी अस्पताल र बाहिरको हकमा स्थानीय तहका स्वास्थ्य शाखामार्फत लगाइने बताइएको छ ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक पर्ने निषेधसम्बन्धी निर्णय गर्ने सबै अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई दिने निर्णय गरेको छ।

सरकारले अब सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा पनि रोक लगाउने निर्णय गरेको छ। त्यस्तै, विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय सरकारले गरेको छ।

पार्टी प्यालेस र ठूला होटलमा यीलगायतका गतिविधि गर्दा कूल क्षमताको एकतिहाईभन्दा बढी संख्या उपस्थित गराउन नपाइने, रंगशालामा खेलकुद प्रतियोगिता हुँदा दर्शक संख्या कूल क्षमताको एकतिहाई मात्र हुनुपर्ने निर्णय पनि सरकारले गरेको छ।

सिनेमा हल र डान्सबारलगायतका रात्रिकालीन व्यवसाय पहिलो चरणमा आउँदो माघ १५ सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ। क्याफे र होटल रेष्टुरेन्टमा कोरोनाविरुद्धको खोप लगाएको कार्डका आधारमा मात्र प्रवेश गराउने तथा सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा एकतिहाई मात्र प्रवेश गराउने निर्णय सरकारले गरेको छ।

आउँदो माघ १५ सम्म सबै स्कूल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन पनि बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

सरकारले चार दिनपछि अवकाश पाउन लागेका एक सहसचिवलाई सचिवमा पदोन्नती गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शंकर खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

लोकसेवा आयोगमा कार्यरत खरेल आउँदो माघ ४ गते सेवानिवृत्त हुँदैछन्। अवकाश पाउनुअघि एक तह पदोन्नती गर्ने नियमअनुसार खरेललाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

सरकारले सार्वजनिक यातायातमा यात्रा गर्ने सबै यात्रुलाई मास्क अनिवार्य गरेको छ। सार्वजनिक यातायातमा कसैले मास्क नलगाएको भेटिए चालक र सहचालकले नै उनीहरुलाई मास्क दिनुपर्ने निर्णय सरकारले गरेको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामसम्बन्धी निर्णयहरु गर्दा यो व्यवस्था गरेको हो।