नेपाली विद्यार्थीलाई आत्माहत्या गर्न बाध्य पार्दै अष्ट्रेलियाका कलेजहरु


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, माघ ५ २०७८
11.2K
SHARES

काठमाडौँ – काठमाडौँको किर्तिपुर घर भएकी २२ बर्षिया सुस्मिता कपाली यही माघ २ गते आफ्नै कोठामा मृत भेटिइन् । अध्ययनका लागि अष्ट्रेलियाको सिड्नीस्थित लेनकोभ पुगेकी उनी जनवरी १६ अर्थात माघ २ गते मृत भेसिटएकी हुन् ।

कपाली अध्ययनका लागि दुई बर्षअघि अष्ट्रेलिया पुगेकी थिइन् । न्यु साउथ वेल्स प्रहरीले उनले आत्महत्या गरेको भन्दै थप अनुसन्धान भइरहेको बताएको छ ।

आर्थिक अवस्था निकै कमजोर हुँदा पनि अध्ययनका लागि अष्ट्रेलिया पुगेकी उनी कलेजकै कारण आत्महत्या गर्न बाध्य भएकी हुन् । यो त एउटा प्रतिनिधि घटना मात्र हो । अध्ययनका लागि अस्ट्रेलिया पुगेका करिव एक दर्जन नेपाली विद्यार्थीहरुले एक बर्षमा आत्महत्या गर्ने गरेको तथ्याङ्क छ ।

यस्ता आत्महत्या गर्नेहरु अध्ययन भन्दा पनि कामलाई प्राथमिकता राखेर अष्ट्रेलिया पुग्नेहरु धेरै छन् । नेपालमा एजेन्सी मार्फत मार्केटिङ गरिरहेका भोकेशनल तथा प्राविधिक कलेज (जसलाई छोटकरीमा भेट कलेज भनिन्छ) हरुले गलत मार्केटिङ गरेका कारण यस्तो स्थिति उत्पन्न भएको हो ।

पहिलो त त्यस्ता कलेजहरुले नेपालका एजेन्सीलाई ठूलो मात्रमा कमिसन दिने गरेका छन् । विद्यार्थीको ढाड सेक्ने गरेर पैसा उठाउँदै एजेन्सीलाई पोसेका कारण विद्यार्थीलाई महङ्गो शुल्क पर्न जान्छ । त्यो कुरा विद्यार्थीले अष्ट्रेलिया पुगेपछि मात्र थाहा पाउँछन् ।

एउटा कलेजले शैक्षिक कन्सल्टेन्सी (एजेन्सी)लाई पठाएको इमेल अनुसार ४० प्रतिशतसम्म कमिसान दिने उल्लेख छ । मोटिभेट न्यूजलाई प्राप्त इमेल अनुसार उक्त कलेजले ६ महिनाको ट्युसन फि अग्रिम भुक्तानी गनुपर्ने हुन्छ । कानुनत एजेन्सीले १५ प्रतिशतसम्म कमिसन लिन पाउँछ ।

यसरी कलेजलाई अग्रिम ६ महिनाको रकम पठाउँदा विद्यार्थी ६ महिनासम्मका लागि उसको हुन्छ र त्यसपछि विद्यार्थी कलेज परिवर्तत गर्न बाध्य हुन्छ । अष्टेलिया पुगेको त्यो विद्यार्थीले कलेज परिवर्तन गर्दा ५० प्रतिशतसम्म सहुलियत पाउने भर्खर अष्ट्रेलिया पुगेका एक विद्यार्थीले बताए ।

यसरी विद्यार्थीबाट महङ्गो शुल्क लिदै बदमासी गर्ने कलेजको पहिलो नम्बरमा आउँछ सिड्नी सिटी कलेज । यो कलेजको ट्युसन फि अत्यान्तै महङ्गो छ । यो कलेजमा गएका विद्यार्थीहरु कलेज परिवर्तन गर्न बाध्य हुन्छन् ।

त्यस्तै, अस्ट्रेलियन इन्टरनेशनल एकेडेमी (एआईए), इन्टरनेशनल कलेज अफ तासमिना (तास कलेज), एजुकेशन सेन्टर अफ अष्ट्रेलिया (इसीए), क्राउन इन्स्टिच्युट अफ हाइअर एजुकेशन, बक्सहिल इन्स्टिच्युट, भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी, इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एण्ड इन्फरमेशन, स्टोटज कलेज, अष्ट्रेलियन इन्स्टिच्युट अफ हाइअर एजुकेशन, क्विन्स्फोर्ड कलेज, एआईबीटी कलेज लगायतका छन् ।

यस्तो कलेजहरुले योग्यता नपुगेका, अध्ययन भन्दा कामलाई प्राथमिकता राख्ने र आर्थिक हैसियत कमजोर भएका विद्यार्थीहरुलाई फकाई फुलाई अष्ट्रेलिया पुर्याउने गरेका छन् । त्यसका लागि नेपालका शैक्षिक कन्सल्टेन्सीहरुले मिटर व्याजमा पैसा दिएर विद्यार्थीलाई आफै अष्ट्रेलिया पठाउने धन्दा चलाएका छन् ।

एउटा परामर्श व्यवसायीले दिएको जानकारी अनुसार आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि बैंकमा तत्काल खाता खोलेर लाखौँ रकम जम्मा गर्दै बैंक स्टेटमेन्ट निकाल्ने गरिएको छ । त्यसका लागि पुतलीसडकमा रहेको सिटिजन बैंक, प्राइम बैंक लगायतमा मिटर व्याजिहरु छ्यापछ्याप्ती बसेका हुन्छन् ।

‘पुरानो खातामा पैसा जम्मा गर्न मिटर व्याजीहरु तयार हुँदैनन् । आर्थिक हैसियत कमजोर भएका विद्यार्थीहरुले नयाँ खाता खोल्न पर्छ ।’ ती परामर्श व्यवसायीले भने, ‘नयाँ खाता खोल्दा उनीहरुले आफ्नो हस्ताक्षर राख्छन्, आफै पैसा जम्मा गर्छन् र आफै निकाल्छन् । विद्यार्थीले बैंक स्टेटमेन्ट पाउँछ र त्यसको बदलामा एक दिनका एक प्रतिशत रकम मिटर व्याजीलाई दिन पर्छ ।’

यसरी व्यवसायीको गलत परामर्शका कारणका विद्यार्थी अष्ट्रेलिया पुग्छ । त्यहाँ भने जस्तो हुँदैन् । डिप्रेशनको सिकार हुन्छन र आत्महत्या गर्न बाध्य हुन्छन् । यसरी गलत परामर्श दिने केही नाम चलेका ठूलो कन्सल्टेन्सीहरु पनि छन् । को–को हुन् गलत परामर्श दिई विद्यार्थीलाई आत्महत्या गर्न बाध्य पार्ने कन्सल्टेन्सीहरु ? उनीहरुबारेको अर्को सामाग्री केही बेरमा….