‘जोसमा होस् गुमाएपछि’ मन्त्री यादवको पद धरापमा, पक्राउ गर्न माग


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, माघ ६ २०७८
4.2K
SHARES

काठमाडौं – मनलाग्दै बोल्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको पद धरापमा परेको छ । एउटा सभामा यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्‍यान मार्ने धम्की दिएपछि उनको पद धरापमा परेको हो ।

जनमत पार्टीले मनलाग्दी बोल्ने मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेपछि उनको पद धरापमा परेको हो । पार्टीका उपाध्यक्ष ई. दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति आपत्त जनाउँदै बर्खास्त गर्न माग गरेको छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ ५ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवले रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’

‘आपराधिक अभिव्यक्ति दिने, हत्या(हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ।’ विज्ञप्तिमा भनिएको छ ।

देशकै संघीयमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम आपराधिक अभिव्यक्ति रहेको र किसान आन्दोलन तथा आम-जनताको विरूद्धमा रहेको हाम्रो पार्टीको निष्कर्ष छ।

साथै पार्टीले गौर नरसंहारका फरार अभियुक्तहरूलाई तत्काल् पक्राउ गर्न मागसमेत गरेको छ ।

बलिदानी दिवस मनाउन गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी थिइन् ।

७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए ।

त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।