बिज एजुकेशनले गलत सल्लाह दियो, विद्यार्थी एयरपोर्टबाटै फर्किए


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, माघ १९ २०७८
10.3K
SHARES

काठमाडौँ – काठमाडौँको पुतलीसडकमा रहेको बिज एजुकेशन कन्सल्टेन्सीको गलत सल्लाह दिएका कारण विद्यार्थीले दुःख पाएका छन् । कन्सल्टेन्सीले दिने परामर्श अभावका कारण अध्ययनका लागि बेलायत गएका विद्यार्थीहरुले दुःख पाएका हुन् ।

उनीहरु अध्यागमन अधिकारीले सोधेका प्रश्नहरुको जवाफ दिन नसक्दा बेलायतको म्यानचेस्टर विमानस्थलबाट फर्किएका छन् ।

सोधपुछ गर्दा ती विद्यार्थीले झूटा विवरण पेस गरेको, आफूले अध्ययन गर्ने विषयवस्तुबारे पर्याप्त ज्ञान नभएको, विश्वविद्यालयलाई तिर्न बाँकी शुल्क र खान बस्नका लागि बैंकमा रकम नभएको, अंग्रेजीसमेत राम्ररी बोल्न नसकेर दोभाषे राख्नुपरेको कारण देखाउँदै अध्यागमन अधिकृतले ‘अध्यागमन ऐन, १९७१’ अन्तर्गत भिसा रद्द गरेर नेपाल फर्काएका हुन् ।

उनीहरुलाई कन्सल्टेन्सीले पूर्व तयारी विना भिसा लगाएर पठाउँदा समस्या भएको हो । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायर (युक्लिन) मा स्नातक तह (ब्याचलर अफ आर्टस् विथ अनर्स इन बिजनेस म्यानेजमेन्ट) पढ्न गएका विद्यार्थी जनवरी २१ तारिखमा नेपाल फर्किएका हुन् ।

यो युनिभर्सिटीले अंग्रेजी भाषा परिक्षा (आइएलटिएस) विना विद्यार्थीलाई प्रबेश दिएको थियो । विद्यार्थीमा अंग्रेजीमा दख्खल नहुनु, आफू पढ्ने विश्वविद्यालय, कोर्स र बेलायती जीवनबारे पर्याप्त जानकारी नराख्नु, एजेन्टमा भर पर्नु र अध्ययनभन्दा कमाइ मुख्य लक्ष्य राख्न थालेपछि विद्यार्थीहरू फर्किनु परेको हो ।

कन्सल्टेन्सीले विद्यार्थीलाई सही रुपमा परामर्श नदिदा समस्या आएको मोटिभेटको सम्पर्कमा आएका एक विद्यार्थीले बताए । ‘हामीलाई कन्सल्टेन्सीका संचालकले अध्यागमनमा केही समस्या हुँदैन । सबै सेटिङ मिलाइएको छ भन्नुभएको थियो ।’ ती विद्यार्थीले भने, ‘हामीलाई अलिकति पनि अध्यागमनमा हुने समस्याको बारेमा केही पनि जानकारी गराइएन ।’

विद्यार्थी फर्किएपछि कन्सल्टेन्सीका संचालक हरी कार्की फरार भएका छन् । उनको कार्यालयमा भेटिएका मार्केटिङ म्यानेजर बताउने एक व्यक्तिले यसबारेमा आफूलाई बोल्न अनुमति नभएको बताए । हरी कार्की अफिस नआएको लामै समय भएको उनको भनाई थियो ।

प्राय बेलायत बस्ने कार्की भर्खर नेपाल आएका थिए । कार्यालयमा भेटिएका ति व्यक्तिले आफ्नो कन्सल्टेन्सीबाट बेलायत गएका केही विद्यार्थी फर्किएको स्वीरेका थिए । ‘हरी सरलाई सम्पर्कमा ल्याइदिनुहोस् न त’ भन्दा उनले आफूले फोन गर्न लगाइदिने बचन दिए । तीन दिनसम्म पनि उनको फोन आएको छैन ।