यस्ता हुन्छन् ठग्ने नियत भएका कन्सल्टेन्सीहरु, समयमै चिनौं र ठगिनबाट बचौं


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, माघ २० २०७८
11.6K
SHARES

काठमाडौँ – पछिल्लो समय गलत नियत भएका शैक्षिक कन्सल्टेन्सीहरु बजार सलबलाउन थालेका छन् । गलत नियतका साथ विद्यार्थी ठग्न उनीहरुले भए/नभएका आश्वासन दिएर विद्यार्थी फकाउने गरेको प्रमाण मोटिभेटले फेला पारेको छ ।

उनीहरुले आफै भिसा थमाइदिने अफिसर जस्तो गर्दै विद्यार्थीलाई परामर्श दिएको पाइएको छ । यसरी परामर्श दिनेमा केही ठूला र नाम चलेका कन्सल्टेन्सीहरु पनि छन् । उनीहरुले युरोपका विभिन्न देश, बेलायत, अस्ट्रेलिया, दुवई, मलेसिया लगायतका देशमा पठाइदिने भन्दै हुँदै नभएको आश्वासन दिने गरेका छन् ।

यस्तो आश्वासन दिनेहरुमा काठमाडौँ पुतलीसडकमा रहेको ¥याफल्स एडुकेयर एशोसियट्स, बिज एजुकेशन कन्सल्टेन्सी, अब्रोड पार्क एजुकेशन कन्सल्टेन्सी, ग्लोवल पार्क एजुकेशन कन्सल्टेन्सी, सायन इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी लगायत रहेका छन् ।

यीनीहरु कोही नाम चलेका ठूलो कन्सल्टेन्सी हुन् भने कोही शिक्षा मन्त्रालयमा दर्ता समेत नभएका कन्सल्टेन्सी छन् । ¥याफल्सले ‘६ हजारमै’ अस्ट्रेलिया भन्दै विद्यार्थीलाई भ्रम छरिरहेका छन् । ६ हजार नेपाली रुपैयाँ हो कि अमेरिकी डलर हो वा अस्ट्रेलियन डलर हो खुलाइएको छैन् ।

विद्यार्थीहरु नेपाली ६ हजार रुपैयाँ होकी भनेर भुक्किने गरेका छन् । अस्ट्रेलियामा बार्षिक ७ हजार ५ सय अस्ट्रेलियन डलरदेखि ४० हजारसम्म ट्युसन शुल्क लिने कलेज तथा विश्व विद्यालयहरु छन् । उक्त कन्सल्टेन्सीले ६ महिनाको ट्युसन शुल्क भनेको हुनसक्छ ।

मोटिभेट न्यूजको सम्पर्कमा आएका ¥याफल्सका संचालक दिनेश ढकालले ६ हजार अस्ट्रेलियन डलरमा नेपाली विद्यार्थीलाई आफूहरुले भर्ना गरेको बताए । ‘सर हामीले ६ हजारमै विद्यार्थी भर्ना गर्ने हो । कुनै कलेजले हामीलाई अफर दिएको छ ।’ टेलिफोन सम्बादमा उनले भने, ‘तर फोनमा तपाईलाई कलेजको नाम भन्न सक्दिन ।’

उनले भेटमा सबैकुरा भन्ने बताएका थिए । केही समय कोभिड लागेर थला परेका ढकाल कोभिड निको हुँदा पनि भेट्न चाहेनन् । उनले भेट्न नचाहेकाले कुन कलेजले ६ हजारमा पढाउँछ भन्ने कुरा प्रष्ट हुन पाएन् ।

त्यस्तो अर्को चलेको ब्राण्ड हो बिज एजुकेशन । उसले बेलायतमा अंग्रेजी परिक्षा आइएलटिएस विनानै विद्यार्थीले भिसा प्राप्त गर्ने भन्दै विद्यार्थी बटुलिरहेको छ । युनिभर्सिटी अफ दि वेष्ट अफ स्कटल्याण्डको एमविए र एमएससी आईटी कोर्षमा जाँदा अंग्रेजी भाषा परिक्षा आइएलटिएस ऐक्षिक भनेको छ । जबकी यो विश्वविद्यालयको वेवसाइटमा (ल्याङ्गोइज पढ्न आउने विद्यार्थी बाहेक) कुनै पनि कोर्षमा आइएलटिएस ऐक्षिक भनेको छैन् ।

यही कन्सल्टेन्सीबाट बेलायत पुगेका विद्यार्थी हालसालै एयरपोर्टबाट फर्किएका छन् । उनीहरुलाई कन्सल्टेन्सीले पूर्व तयारी विना भिसा लगाएर पठाउँदा नेपाल फर्किन परेको हो । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायर (युक्लिन) मा स्नातक तह (ब्याचलर अफ आर्टस् विथ अनर्स इन बिजनेस म्यानेजमेन्ट) पढ्न गएका विद्यार्थी जनवरी २१ तारिखमा नेपाल फर्किएका थिए । यो युनिभर्सिटीले अंग्रेजी भाषा परिक्षा (आइएलटिएस) विना विद्यार्थीलाई प्रबेश दिएपछि यस्तो समस्या आएको हो । फर्किनेमा यो कन्सल्टेन्सीबाट गएका अधिकांश विद्यार्थीहरु रहेका छन् ।

त्यस्तै अब्रोड पार्क कन्सल्टेन्सीले विद्यार्थीले बनाउन पर्ने कुनैपछि डकुमेन्टमा पैसा नलाग्ने बताउने गरेको छ । यतिसम्मकी सम्पत्तिको मुल्याङ्कन, लेखा परिक्षण चार्ज नलाग्ने उसको भनाई छ । यो सरासर गलत हो । कसैले पनि सम्पत्तिको मुल्याङ्कन फ्रिमा गरिदिदैन । लेखापरिक्षण पनि फ्रिमा गर्नु गैरकानुनी हो । यसरी सबैकुरा फ्रि भन्नु भनेको पहिला फ्रिमा गर्ने र भिसा लागिसकेपछि ३ देखि ४ लाख ठटाउने नियत हो ।

मोटिभेटको सम्पर्कमा आएका कन्सल्टेन्सीका संचालक रमेश पौडेलले आफूले विद्यार्थीलाई सहुलियत दिएको बताए । ‘पाँच सय पर्ने लेखापरिक्षणको ६ हजार शुल्क लिएको छ, सम्पत्ति मुल्याङ्कन भन्दै ५ हजार लिएको छ । हामीले विद्यार्थीलाई सहुलियत दिएका हौं । यसमा कसको टाउको दुख्यो ।’ टेलिफोनमा उनले भने, ‘हामीले फ्रिमा विद्यार्थीको काम गरिदिएपछि धेरै कन्सल्टेन्सी संचालकको धन्दा चौपट भएको छ ।’

अर्को ग्लोबल पार्क कन्सल्टेन्सी त सिधासिधा वर्क प्रमिटका लागि विद्यार्थीलाई जम्मा पारिरहेको छ । यसरी कन्सल्टेन्सीले वर्किङ भन्दै झुक्याउनु गैरकानुनी मात्र होइन दण्डित पनि छ । सायन इन्टरनेशनल कन्सल्टेन्सीले इटालीमा अध्ययनका लागि जाने विद्यार्थीलाई धेरै सहुलियत दिने जनाएको छ । उसले विद्यार्थीलाई सेन्जेन ‘सी’ ग्रेडको भिसा दिने भन्दै विद्यार्थीलाई काउन्सिलिङ गरिरहेको छ ।

सेन्जेन भिसा भनेको बर्किङ भिसा हो । जुन युरोपमा २७ बटा देशमा काम गर्न पाइन्छ । कन्सल्टेन्सीले विद्यार्थीलाई परामर्श दिने हो, बर्किङ भिसाका लागि प्रेरित गर्ने होइन । विद्यार्थी भिसा ‘डी’ ग्रेडको भिसाको हो । यो भिसाले युरोपका देशहरुमा यात्रा गर्न पाउँछन् बस्न र काम गर्न पाउँदैनन् । तर सायोनका संचालक सुदिर खड्का (राज खड्का)ले विद्यार्थीलाई भ्रम छरिरहेका छन् ।

यस विषयमा बुझ्न खोज्दा उनी मोटिभेटको सम्पर्कमा आएनन् । उनले सर्विस चार्ज उठाउनका लागि यस्ता हर्कद गर्दै आएका छन् ।