रेडियन्स् इन्टरनेशनलले गरिदिन्छ अबैध विवाह !


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, चैत्र २ २०७८
10.1K
SHARES

काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वर चोकमा छ रेडियन्स् इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी । विदेशका विभिन्न देशहरुमा विद्यार्थीलाई अध्ययनका लागि पठाउन स्थापना भएको उक्त कन्सल्टेन्सीले बाटो विराएर अबैध विवाह गर्दै डिपेण्डेन्ट भिसाको काम गरिरहेको छ ।

रेडियन्सले राम्रो प्रतिशत भएका विद्यार्थीलाई अर्को पैसावाला व्यक्ति खोजेर नक्कली विवाह गर्दै विदेश पठाउने गरेको तथ्य मोटिभेट न्यूजले फेला पारेको छ । मोटिभेटको सम्पर्कमा आएकी एक युवतीका अनुसार कन्सल्टेन्सीले भिसा लाग्नसक्ने विद्यार्थी खोजिदिने बताएको छ । त्यसबापत कन्सल्टेन्सीले २५ लाख रुपैयाँ मागेको उनको भनाई छ ।

‘म त्यो केटाको कलेजमा लाग्नु १ बर्षको ट्युसन फि तिर्न तयार हो, तर उसले त्यो भन्दा पनि झण्डै दोब्बर पैसा माग्यो’, उनले भनिन्, ‘धेरै भए १५ लाखसम्म तिर्न म तयार हो, तर उसले २५ लाख माग्यो, फोकटमा १० लाख बढि कहाँबाट ल्याउनु ।’

यी युवती सकेसम्म थोरै पैसामा अस्ट्रेलिया जाने सोचमा छिन् । यदी धेरै पैसा तिर्न परे अस्ट्रेलिया पुगेपछि ठिक पार्छु भन्ने आशय प्रष्ट बुझिन्छ । ‘अस्ट्रेलियामा नेपाल जस्तो हुँदैन क्यारे । त्यहाँ कानुन लाग्छ । मैले आफ्नो पैसा उठाउनेगरी सोचिसकेको छु ।’

उनको आशय अस्ट्रेलिया पुगेपछि केटासँग कमाइको आधा तलव माग्ने, बिभिन्न खालको बार्गेनिङ गर्ने र फसाउने हुनसक्छ । पछिल्लो समय उक्त कन्सल्टेन्सीबाट दुई दर्जन भन्दाबढि जोडिको विभिन्न देशहरुको भिसा लागेको छ । डिपेण्डेन्ट भिसाको एकदमै थोरै विकल्प हुने बेलायतमा पनि यो कन्सल्टेन्सीले भिसा लगाएको छ ।

बेलायतमा डिपेण्डेन्टमा गएपनि काम गर्न पाइदैन । एक जनालाई बस्न र पढ्नसमेत मुस्किल हुने त्यहाँ दुई–दुई जनलाई बस्न झन कठिन हुने बेलायतको काम गरेका एक कन्सल्टेन्सी व्यवसायले बताए । ‘युकेमा डिपेन्डेन्टको सम्भावना धेरै कम छ, काम गर्न नपाइने भएकाले त्यहाँ डिपेण्डेन्टमा संगै गएपछि निकै तनाव हुन्छ । त्यो भन्दा हामीले एक जनालाई नेपालमै बसेर काम गर्दै पैसा पठाउन सल्लाह दिन्छौँ ।’ उनले भने, ‘उता पढ्न गएको विद्यार्थीको कोर्ष सकिएपछि डिपेन्डेन्टमा लिदा राम्रो हुन्छ ।’

उसले डेनमार्कमा पनि डिपेण्डेन्टमा विद्यार्थी पठाएको छ । डेनमार्कमा एउटा विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउँछ । त्यहाँको कानुन अनुसार डिपेण्डेन्टमा गएकाले पनि हप्तामा २० घण्टा मात्र काम गर्न पाउने नेपाल स्थित डेनमार्कको दूतावासले जनाएको छ ।

यसरी मन नमिलेर अबैध विवाह गरी विदेश पठाउनु घोर आपत्तीको विषय भएको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले जनाएको छ । ‘यहाँबाट जसरी पनि विदेश पठाइदिन्छु भन्ने । केटालाई केटी र केटीलाई केटा खोजेर विवाद गरिदिने । यो जस्तो अमानविय व्यवहार के हुन्छ ।’ शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख इश्वरी प्रसाद ज्ञवालीले भने, ‘यस्ताको भण्डाफोर गर्नुहोस् । यो सव अबैध काम हो । यसलाई उजागर गरेर नाङ्गेझार पार्नुपर्छ ।’

‘नेपालमा जस्तो भएपनि हुन्छ भन्ने, विदेशमा पुगेपछि ब्ल्याकमेल गर्ने, डिभोर्स गर्छु भनेर धम्की दिने, कमाएको आधा पैसा माग्ने, उता गएरसंगै नबस्ने समस्या नेपाली युवाहरुमा छ ।’ उनले भने, ‘यसमा केटा भन्दा पनि केटी बढि पीडित भएको पाइएको छ । यसलाई रोक्न पर्छ ।’

यसरी अबैध विवाह गरेर कसैको जिन्दगी किन बर्वाद पार्नुहुन्छ भनेर बुझ्न खोज्दा कन्सल्टेन्सीकी कार्यकारी निर्देशक उर्मिला भट्ट (बर्तौला)ले फोन उठाइनन् । कम्पनीका काउन्स्लर भुवन भट्टले सुरुमा डिपेन्डेन्ट गरिरहेको स्वीकारे । हामी मिडियाबाट हो, किन यस्तो गर्नुहुन्छ ? भन्दा उनको बोली लर्वरायो । आफूहरु त्यस्तो काम नगरेको भन्दै उल्टै वाइयात गफ नगर्न सल्लाह दिए ।

मोटिभेट न्यूजले सुरु गरेको ‘मिसन म्यारिज ब्युरो’ अन्तरगतको टिमले संकलन गरेका प्रमाणहरु सुरक्षित छन् । हाम्रो काम विषय उठान गर्ने हो । कारवाही र यसको नियमन गर्ने काम बिभिन्न निकायको हो । यसमा सम्बन्धीत निकायको ध्यानआकर्षण होस् ।

‘हामीले ‘मिसन म्यारिज ब्युरो’ नामक नयाँ स्तम्भको सुरुवात गरेका छौँ । तपाईँलाई पनि कसैले डिपेण्डेन्टमा विदेश पठाइदिन्छु भन्दै प्रलोभन देखाएको छ ? पैसा असुलेको छ वा भिसा नलागेपछि पैसा फिर्ता गर्न आनाकानी गरिरहेको छ भने हामीलाई खबर गर्नुहोस् । हामी तपाईँको सुरक्षाका लागि नाम ठेगाना गोप्य राखेर तपाईँलाई सहयोग गछौँ । सम्पर्क ९८५११५१६७२’ –सम्पादक