६० वर्षमा पनि घटेन सीताको जोश


गगन ढकाल
प्रकाशित मिति : बुधबार, चैत्र ९ २०७८
13.3K
SHARES

झापा – काँकडभिट्टा बजारमा बिहानै ई–रिक्सामा पाउरोटी बेच्दै हिँड्ने ६० वर्षीय लीलाकुमारी कार्की (सीता) दिनभर अटो स्ट्यान्डमा यात्रु कुरेर बस्छिन् । चाउरी परेको गाला तर पनि फरासिली देखिन्छिन् सीता ।

सबेरै उठ्छिन् । बिस्कुट फ्याक्ट्रीमा गएर ई–रिक्सामा सामान लोड गर्छिन् । काँकडभिट्टा बजार परिसरका विभिन्न पसल र मानिसको घरघरमा पुर्याएर बेच्छिन् । अनि, आफ्नो घर गएर हतारहतार खाना खाई अटो स्ट्यान्डमा आएर यात्रुको प्रतीक्षा गर्नु उनको दैनिकी हो ।

करिब अढाई वर्षअघि काँकडभिट्टाको अटो स्ट्यान्डमा एक महिलाले ई–रिक्सा पालोमा राखेको देखेर सबै आश्चर्यमा परे । त्यसअघि स्थानीयले महिला ई–रिक्सा चालक देखेका थिएनन् ।

घर सञ्चालन गर्ने क्रममा उनी ऋणमा परिन् । अर्थोपार्जनका लागि अनेक उपाय सोचिन् । तर, कुनै उपाय निकाल्न नसक्दा भागेर बेपत्ता हुने, आत्महत्या गर्ने, भारत गएर काम गर्ने र पसल गर्नेलगायत योजना बनेको उनी बताउँछिन् । यी पनि कुनै उपयुक्त देखिनन् । अन्ततः उनले ई–रिक्सा चलाउने योजना बनाइन् ।

“सबै विकल्पमध्ये ई–रिक्साबाट आम्दानी हुन्छ भन्ने लाग्यो,” उनी भन्छिन्, “त्यसपछि एक छिमेकीसँग ऋण गरेर सेकेन्ड ह्यान्ड रिक्सा खरिद गरेँ ।”

रिक्सा चलाउन सिक्न थालिन् । पहिलो दिन नै घरबाट स्ट्यान्डसम्म सफारी लिएर जाने क्रममा उनी दुर्घटनामा परिन् । “मानिसले पल्टेको सफारी उठाउनुभन्दा पनि सफारीचालक खोजे । मलाई चालक भनेर विश्वासै गरेनन् । म घाइते खुट्टा खुच्याउँदै अस्पताल पुगेँ,” उनले भनिन् ।

उनलाई सुरुसुरुमा असहज महसुस भएको थियो । उनी भन्छिन्, “पहिले काँकडभिट्टनमा म मात्र महिला थिएँ, अलि असहज महसुस हुन्थ्यो । तर, अहिले १० जना छौँ, वास्तै लाग्दैन ।”

०५२ सालमा बहराइन गएका श्रीमान् गुमाएकी उनले धेरै दुःखकष्ट भोगेकी छन् । श्रीमान्को मृत्युपश्चात् चार छोराछोरीको रेखदेख उनको काँधमा आयो । गरिबीका कारण छोराछोरीलाई उपयुक्त शिक्षा दिन सकिनन् ।

०५८ सालमा दोस्रो विवाह गरिन् । तर, विवाह गरेको केही वर्षमै दोस्रो श्रीमान् बेपत्ता भए । जुन अपेक्षाबमोजिम विवाह गरेकी थिइन्, त्यो पाउन सकिनन् । “जुन सहयोगको आसमा दोस्रो विवाह गरेकी थिएँ, त्यो नपाउँदा म निराश भए,” उनी भन्छिन् ।

घर व्यवहार सञ्चालनका लागि लिएको ऋण तिर्न नसक्दा सिर्जना भएको संघर्षले बाँच्न सिकाएको उनी बताउँछिन् ।

उमेर हदबन्दीका कारण सवारीसाधन चालक अनुमतिपत्र नपाउँदा उनी दुःखी छिन् । “अढाई वर्षदेखि ई–रिक्सा चलाउँदै आएकी छु । तर, उमेर हदबन्दीका कारण सवारीसाधन चालक अनुमतिपत्र छैन,” उनले भनिन् ।

बसी खाने उमेर भए पनि बाध्यताले आफू चालक भएको उनी बताउँछिन् । “छोराछोरीहरू यो उमेरमा रिक्सा नचलाए हुन्थ्यो भन्छन्, तर गरिबीले बाध्य छु” उनी बताउँछिन् ।

ई–रिक्सा चलाएको भन्दै सुरुसुरुमा खिसिटिउरी गर्नेहरूले अहिले प्रशंसा गर्ने गरेको उनी बताउँछिन् । सबै महिलालाई स्वरोजगार बन्न उनको आह्वान छ ।

केही साताअघि उनलाई अखिल महिला संघ मेचीनगरले संघर्षशील महिलाका रूपमा सम्मान गरेको थियो ।
ब्राहखरीबाट