चन्द्र ढकालको टाङमुनी वन मन्त्रालय, प्रधानमन्त्री देउवाको समेत बदनाम


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, चैत्र ११ २०७८
13K
SHARES

काठमाडौं – वन तथा वाताबरण मन्त्रालय नामुक व्यापारी चन्द्र ढकालको टाङमुनी छिरेको छ । वन फडानी गरेर वदनाम बनेका ढकाललाई अनुसन्धानको दायरामा ल्याएर कारवाही गर्नुको सट्टा उनकै रिसोर्टमा गएर मन्त्रालयले कार्यक्रम गरेको छ ।

वन मन्त्रालयले आयोजना गरेको ‘दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन’ कार्यक्रम ढकालको चन्द्रागिरी रिर्सोटमा सुरु भएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले उत्तः कार्यक्रमको उद्घाटन गरेका थिए ।

सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता रहेको थियो। तीमध्ये सय जना भौतिक रूपमा र बाँकी सय जनाले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए ।

ढकालको चद्रागिरी हिल्सले निर्माण गरेको चन्द्रागिरी केबुल कार र चन्द्रागिरी रिसोेर्ट बनाउँदा अबैध रुपमा वन फडानी भएको थियो । विभिन्न संचार माध्ययममा समाचार आएपछि मन्त्रालयले छानविन गर्ने तयारी समेत गरेको थियो । तर पहुँचका आधारमा उक्त छानविन अलपत्र परेको थियो । कर्मचारी तन्त्रमा राम्रो सम्बन्ध स्थापित गरेका ढकालले उनीहरुकै डिजाइनमा पाल्पा र रुपन्देहीमा पनि वन फडानी गरिरहेका छन् ।

देउवाको बदनाम

उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । त्यहाँ उनी एनए ०५८ कलसाइनको एलएलएच (लाइट लिफ्ट हेलिकप्टर) हेलिकोप्टर चढेर गएका थिए । हेलिकप्टर चढ्दा राज्यको झण्डै १० लाख रुपैयाँ फोकटमा खर्च भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि हिल्ससम्मको १२ किलोमिटरका लागि १० लाख खर्च भएको हो । उनी उक्त कार्यक्रममा करीब तीन घण्टा बसेका थिए । सडकबाट गएको भए राज्य १ हजार खर्च हुन्थ्यो ।

सैनिक विमान सःशुल्क कार्यविधि २०७७ अनुसार १ साउन २०७७ देखि लागू भएको शुल्कअनुसार हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँ हुन आउँछ। सैनिक विमान सशुल्क कार्यविधि २०७७ मा एलएलएच (लाइट लिफ्ट हेलिकोप्टर) हेलिकोप्टरको भाडा दर प्रतिघण्टा २ लाख ५३ हजार ५४५ रुपैयाँ तोकिएको छ।

यो भाडामा हवाईइन्धन शुल्क २६ हजार, नागरिक उड्डयन प्राधिकरण शुल्क १ हजार १००, अक्युपेशनल भत्ता ३ हजार २००, उडान भत्ता २९ हजार ५०० गरी ३ लाख १३ हजार ३४५ रुपैयाँ हुन आउँछ।

प्रधानमन्त्री देउवा कार्यक्रममा जाँदा हेलिकप्टर झन्डै तीन घण्टा प्रयोग भएको थियो। ‍सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँको बिल पठाइएको सैनिक हवाई महानिर्देशनालयका एक उच्च अधिकारीले बताए।

किन चन्द्रगिरीमा नै कार्यक्रम गरेको भन्ने मोटिभेट न्यूजको प्रश्नमा मन्त्रालयका एक सहसचिवले माथिबाट सिधै कार्यक्रम राख्न निर्देशन आएको बताए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘हामीलाई यसको बारेमा केही थापा हुँदैन् । सचिव ज्यूले सिधै चन्द्रगिरी रिसोर्ट रोज्नु भयो ।’ यस विषयमा बुझ्न खोज्दा मन्त्रालयका प्रबक्ता मेघनाथ काफ्लेसँग सम्पर्क हुन सकेन ।