नेकपाको नयाँ कार्यनीति र केन्द्रीय कमिटी बैठकमा भएको वहस


शेरबहादुर विश्वकर्मा
प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८
7.2K
SHARES

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको यहि चैत्र ४ गतेदेखि १५ गतेसम्म झन्डै दुई हप्ता लगाएर शिवगढिमा सम्पन्न केन्द्रीय समितिको बैठकले लिएको स्थानीय चुनावबारेको कार्यनीति र यसको बारेमा भएका छलफल र बहसले एकपटक हामी सबैको ध्यान आकृष्ट गरेको छ । सरकारले लगाएको दुई बर्षको प्रतिबन्धपछि तीन बुदे सहमति गरेर आएको यो पार्टीले नेपाली क्रान्तिको बाँकी कार्यभार अब कसरी पूरा गर्छ वा विद्यमान सत्ता र शक्तिकै वरिपरि गोलचक्कर त लगाउदैन भनेर विभिन्न अनुमान र विमर्श भैरहेको बेला पार्टीले लिने तत्कालीन कार्यनीतिबारे आन्तरिक र वाह्य दुबै रुपमा बहस, छलफल र क्रिया–प्रतिक्रिया उत्पन्न हुनु स्वभाबिक हो।

सरकारले संसदबाट एमसीसी पास गरेपछि राष्ट्रिय स्वाधीनता एबम् सार्वभौमसत्ताको रक्षाको प्रश्न निकै पेचिलो बन्दै गैरहेको बेला एमसीसीविरुद्धको मोर्चा निर्माण, पार्टीको नवौं महाधिवेशनको तयारी र आशन्न निर्वाचनलाई कसरी हेर्ने भन्ने विषयमा केन्द्रीत शिवगढी बैठकमा उल्लेखित तीन एजेन्डामध्ये चुनावी कार्यनीतिले मात्रै प्राथमिकता पाएको जस्तो गरि केही चासो, अपेक्षा र टिप्पणीका साथै कुण्ठा, अतिरन्जना र दुरासययुक्त बिश्लेषणहरु पनि एकैचोटी सतहमा आएका छन। निश्चय नै कार्यनीति भनेको अस्थायी, तात्कालिक र रणनीतिको सेवा गर्नका लागि पार्टीले अवलम्बन गर्ने जननीति हो।

लेनिनले त यसलाई चौविस घण्टाभित्र फेरवदल गर्न सकिन्छ भन्नू भएको थियो। तर, कहिलेकाही रणनीति र कार्यनीतिबीच बेमेल हुदा, कार्यनीति नै रणनीतिजस्तो हुने वा यसको प्रयोगमा केहि सैद्धान्तिक कमजोरीले गर्दा क्रान्तिकारी आन्दोलन नै ठूलो भड्खालोमा फसेका कैयौं उदाहरणहरु छन। पार्टीको अधिकतम कार्यक्रमलाई पूरा गर्न तत्कालीन र न्युनतम कार्यक्रम के हुने, आजको राष्ट्रिय – अन्तरास्ट्रिय परिबेश र मुलुकको वर्गीय शक्ति सन्तुलनको आजको स्थितिमा कुन प्रकारको कार्यदिशा र कार्यनीति प्रयोग गर्दा दलाल पुजावादबिरुद्ध जनताको घेरालाई व्यापक र प्रभावशाली बनाउन सकिन्छ भन्ने बारे फरक–फरक कोण प्रतिकोणबाट कुनै पनि कम्युनिस्ट पार्टीको जीवनमा यसरी बहस हुनु आफैमा सुखद पक्ष हो । जसले मार्क्सवादको आधारभूत मान्यतालाई बुझेका छैनन्, जसले बुझेका त छन् तर, ठिक ढंगले पक्रेका छैनन् र जसले बुझेर पनि यसको तडमरोड गरिरहेका छन, उनीहरुलाई पार्टीभित्र चल्ने यस प्रकाका बहसहरुले निराशा, भयभीत र आतंकित तुल्याउनु स्वभाबिक हो ।

(क)कम्युनिस्ट पार्टीभित्रको बहस

पार्टी आफैमा एक बस्तु हो, बस्तु हुनुको कारण यसको अस्तित्व नै यसभित्र अन्तर्निहित बिपरितहरु बिचको एकता र संघर्षले निर्धारण गर्दछ । त्यो संघर्ष र एकता सजातीयहरु बिच मात्रै हुन सक्दछ न कि बिजातिय र अघुलनशिल बीच । यो मान्यता नै आठौ महाधिवेशनद्वारा अघि सारिएको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनमा एक महत्त्वपूर्ण प्रस्ताव हो। कम्युनिस्ट पार्टीभित्र जहिल्यै सहि र गलत ,मार्क्सवादी र गैरमार्क्सवादी सोचहरु विच संघर्ष भैरहन्छ। यसप्रकारको अन्तरपार्टी संघर्षले नै पार्टीलाई गतिशील र जिवन्त बनाइराख्न मद्दत गर्दछ।

निश्चय नै नेपाल कम्युनिस्ट पार्टीभित्रको यो पछिल्लो बहस र छलफलले नेपाली क्रान्तिका संभावना र चुनौतीलाई ठिक ढंगले पक्रिन आफैलाई अझ बढी तिखार्न प्रेरित गरेको छ। यो बहसले सिर्जना गरेका तरंगबारे सङ्केत गर्दै महासचिव विप्लवले भन्नुभएको छ, ‘पार्टीमा हुने बहसले हामीलाई आधारभूत रुपमा एकठाउँमा नै ल्याएको छ, त्यसलाई मिलेको नै मान्नु पर्छ। किनकि नेपाली समाजको विश्लेषण, हाम्रो प्रधान अन्तरर्विरोध, आजको बिश्व परिस्थितिको मूल्यांकन र नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्तीबारे हामी एक ठाउँमा नै छौ, हो तत्कालीन स्थानीय चुनावी कार्यनीतिबारे के गर्दा क्रान्तिको रणनीतिलाई सेवा गर्न सकिन्छ भन्ने बारे हामीले सबै कोणबाट छलफल गर्यौ र एउटा निश्कर्षमा पुगेका छौँ ।’

पार्टीभित्र हुने बहस र कम्युनिस्ट पार्टीको नेतृत्व निर्माणबारे प्रबक्ता प्रकाण्डले भन्नुभएको छ, ‘पार्टीका लागि सहि विचार र कार्यदिशा जति महत्त्वपूर्ण हुन्छ त्यत्तिकै महत्त्वको प्रश्न नेतृत्व पनि हो, बस्तुमा भएको विकासको स्तर अनुसार हाम्रो सोच्ने तरिकामा पनि विकास गर्न सकिएन भने हामीले आन्दोलनको रक्षा र विकास पनि गर्न सक्दैनौँ, कम्युनिस्ट पार्टीका लागि नेतृत्व भनेको समान चेतनाहरु बिचको एकता पनि हो, जहाँनेर चेतना र हाम्रा सोच्ने तरिकामा फरक पर्छ त्यहाबाट पार्टीमा समस्या आउने गर्छन।’

एउटा सफल क्रान्तिका लागि नेतृत्वको सवाल निकै महत्त्वपूर्ण हुन्छ। लेनिनले एकपटक भन्नू भएको थियो, ‘क्रान्तिकारी आन्दोलनका लागि आत्मगत र बस्तुगत अवस्था चाहिन्छ, क्रान्तिकारी सिद्धान्त, कार्यदिशा र कार्यनीति पनि चाहिन्छ, यी सबका बाबजुद आफ्नै आन्दोलनका सफलता र असफलताद्वारा खारिएका एक दर्जन बढी प्रतिभाशालीहरुको टिम पनि अनिवार्य शर्त हो ।’ नेतृत्व कुनै युनिभर्सिटीबाट आयात – निर्यात गर्ने कुरा होइन, यो समाजमा चल्ने वर्गसंघर्ष र त्यसको आवश्यकताले नै आफ्ना बर्गका प्रतिनिधि पैदा गर्ने कुरा हो, चाहे सर्बहारा पार्टीमा होस वा बुर्जुवा बर्गका पार्टीहरुमा।

(ख) विश्व परिस्थिति

नब्बेको दसकमा शोभियत संघको विघटन, पुर्वीया युरोपका समाजवादी सत्ताहरुमा भएका प्रतिक्रान्ती र एक धुर्विय अमेरिकी विश्व व्यवस्थाको उदयपछि अब समाजवादी क्रान्ती गर्न सकिन्न कि जस्तो स्थिति बनेको थियो। कैयौं कम्युनिस्ट पार्टीहरु बलप्रयोग र समाजवादी क्रान्तिका लागि विश्वपरिस्थिती अत्यन्तै प्रतिकुल छ भन्दै पुरानै सत्तामा आत्मसमर्पण गरेका थुप्रै उदाहरण छ्न । नेपालमा एमाले हुदै प्रचण्ड–बाबुरामहरुले आत्मसमर्पणको बाटो लिएको पनि विशेषगरी विश्व परिस्थितिको मूल्यांकनबारे मनोगत बुझाईले नै हो । ठिक यहि परिस्थितिमा नेकपा (माओवादी)को आठौं महाधिवेशनले अब विश्व परिस्थिति एक धुर्विय होइन कि बहुधुर्विय हुँदै गएको निष्कर्ष निकालेको थियो।

महासचिव विप्लव भन्नुहुन्छ, ‘अरुहरुले क्रान्तिलाई छोड्नका लागि तर्कहरु गरे, हामीले क्रान्तिलाई सम्भव तुल्याउन तर्कहरु गर्यौ, अरुले आत्मसमर्पण गर्नका लागि तर्कहरु गरे ,हामीले गद्दारी र धोकाबिरुद्ध बिद्रोह संगठित गर्नका लागि तर्कहरु गर्यौ, अरुले अध्यारो देखाउनका लागि तर्कहरु गरे, हामीले अँध्यारो र सन्नाटापछिको उज्यालो देखाउनका लागि तर्कहरु गर्यौ, अरुले हामीलाई निराशा र भयभीत गर्नका लागि तर्कहरु गरे, हामीले क्रान्तिकारी आशावाद र विजयका लागि तर्कहरु गर्यौ, यो नै उनीहरु र हामीविचको अन्तर पनि हो।’

आज सातौ महाधिवेशनको मुल्यांकन सहि साबित हुँदै गएको छ । विश्व दुईधुर्विय र बहुधुर्विय हुँदै गएको छ।अन्तर साम्राज्यवादी अन्तरविरोध झडप र संघर्षमा प्रकट भइरहेको छ। पछिल्लो युक्रेन संकट त्यसको एउटा उदाहरण हो, यसबारे नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला (कन्चन) यसो भन्नु हुन्छ, ‘अमेरिका र रूसबिचको युद्ध नै युक्रेन संकट हो। त्यसको मारमा युक्रेनी जनता परिरहेका छन। यसको मुख्यकारण युक्रेन सरकारको दलाल नीति हो । यस्तो संकट भोलि नेपालमा पनि आउन सक्छ, यसको खतरा पनि छ।’

हामीले विश्व शक्ति सन्तुलन, विश्व परिवेशको मुल्यांकन र साम्राज्यवादी अन्तर्विरोधको चर्चा गर्नुको अर्थ पुँजीवाद भित्र आपसी द्वन्द छ र त्यसले अनिवार्य रुपमा समाजवादी आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनका लागि वस्तुगत अवस्था निर्माण गर्छ भन्नू हो। यहाँनेर हामीले ध्यान दिनुपर्ने कुरा के छ भने आजको साम्राज्यवाद लेनिनकालिन साम्राज्यवाद भन्दा फरक छ, यो खासगरी असिको दशकपछि नवउदारवादी चरित्रमा विकास भएको छ, भुमण्डलिकृत र विज्ञान – प्रविधिमा आधारित छ, यसलई नेपाल कम्युनिस्ट पार्टीको थवाङ्मा सम्पन्न आठौ महाधिवेशनले उत्तरसाम्राज्यवाद भनेको छ।

(ग) एमसीसी र नयाँ कार्यनीतिको आवश्यकता

सन १८१६को सुगौली सन्धी र १९५० को नेपाल भारतविच सम्पन्न शान्ति तथा मैत्री सन्धिपछि (जसलाई असमान सन्धि पनि भन्ने गरिन्छ) मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक मानिदै आएको थियो। अहिले जब सरकारले संसदद्वारा नै एमसीसी पास गरेपछि देश अब पूर्णत नवउपनिवेशमा बदलिएको छ, यसबारे भारतीय सेनाका पूर्वजनरल एबम् नेपाल मामलाका एकजना जानकार जनरल अशोक मेहताले यसरी टिप्पणी गरेका छन, ‘नेपाल अब दुई ढुङ्गा विचको तरुल रहेन, यतिबेला हामी पृथ्वीनारायण शाहलाई याद गर्छौ, उनले कुनै बेला भनेका थिए, नेपाल दुई ढुङ्गा विचको तरुल हो, अब नेपाल तीन ढुङ्गा विचको तरुल हुन पुगेको छ किनभने अमेरिका पनि नेपालमा आयो, यसअघि अमेरिका कहिल्यै नेपाल आएको थिएन, उ अलि पछाडि नै थियो, तर अहिले एमसीसीमार्फत इन्डोप्यासिफिक रणनीति लागू गर्न अर्थात चिनलाई घेर्ने जुन रणनीति बनाएको थियो, त्यो अब अमेरिकाले गर्छ।’

स्थित निकै जटिल र संवेदनशिल देखिन्छ। लाखौ–लाख जनता र देशभक्तहरुको बिरोधका बावजुद पनि जबर्जस्त रुपमा एमसीसी पास गरिएको छ। सत्तासाझेदार दलभित्रकै व्यापक असन्तुष्टि र बिरोध हुदाहुदै पनि प्रचण्ड र माधव नेपालहरु रातारात आत्मसमर्पण गर्न पुगे। यो परिस्थितिले जबर्जस्त रुपमा देशमा धुर्विकरणको स्थिती बन्दै छ। देशभक्त र देशद्रोहीहरु बिच जनताले महसुस गर्नेगरी कित्ता क्लियर हुने स्थिति छ। यस्तो बेला देशभक्तहरुको बृहत मोर्चाको निमार्ण गर्दै नेपाली नयाँ जनवादी क्रान्तिको राष्ट्रियतासँग सम्बन्धित कार्यभार पूरा गर्न जरुरी छ, त्यसो नगरी अर्थात दलाल पुँजीवादसँगका प्रधान अन्तरविरोध हल नगरी न देश रहन सक्छ, न त लोकतन्त्र नै। मुलुकका आगाडी उत्पन्न परिस्थितिका आधारमा सच्चा देशभक्त क्रान्तिकारी पार्टीले फेरिएको परिस्थिति अनुसार आफ्नो कार्यनीति शृङ्खलाहरुको विकास नगर्ने हो भने उसले आफूलाई इतिहासको रङ्गमन्चबाट बिदाइ गर्नुपर्ने हुन्छ। यो जिम्मेवारीलाई पूरा गर्न छापामर संघर्षको कार्यनीतिले सम्भव छैन।

जनतासँग जोडिएको र अझ एकहदसम्म भन्दा वैधानिक संरचनाको कुनै न कुनै ढङ्गले अंग नबनी देशभक्तहरुको बृहत् मोर्चा निर्माण असम्भव छ। यो ऐतिहासिक दायित्वलाई पूरा गर्न हामीले आफैलाई नयाँ चुनौतीलाई सामना गर्न तयार पार्नै पर्दछ।

लेखक : शेरबहादुर विश्वकर्मा

(घ) विश्व समाजवादी क्रान्ति र चौथो अन्तराष्ट्रिय निर्माणको खाँचो

विश्वभरी यतिबेला समाजवादको बारेमा एकपटक पुनः विमर्श हुदैछ। पुँजीवाद र नवउदारवादी लोकतन्त्रमा संकटको बादल मडारिरहेको छ। धनी र गरिबबिचको आय असमानता चुलिदो छ । वातावरणीय क्षयिकरण निकै डरलाग्दो हुँदै छ। पछिल्लो कोभिड व्यवस्थापनमा देखिएको क्षमता र राज्यको भुमिकाका आधारमा समाजवादी भनिएका देशहरु नै यो संकटसँग जुझ्न तुलनात्मक रुपमा सफल देखिएका छन् । नाफा र पुँजीको विस्तारित पुनरुत्पादनको पुँजीवादी चरित्रका कारण आवधिक आर्थिक संकटहरु देखापर्दै छन। यसले पुँजीवादी वृतभित्र समेत पुँजीवादको संकट र नयाँ वैकल्पिक विश्वव्यवस्थाको बारेमा बौद्धिक मन्थन हुन थालेको देखिन्छ। प्रोफेसर ड्यारोन अकेमोग्लु र रोबिन्सनद्वारा सन २०१२ मा लिखित चर्चित पुस्तक ‘व्हाइ नेशन्स फेल’, उनकै अर्को पुस्तक द न्यारो करिडोर ,रुचियर शर्माद्वारा सन २०१२ मा लिखित पुस्तक ‘द राइज एन्ड फल अफ नेशन्स’,अमेरिकी अर्थतन्त्रका जानिफकार तथा विश्व बैंकका पुर्ब प्रमुख चर्चित अर्थशास्त्री जोसेफ स्टिग्लिज द्वारा लिखित ‘ग्लोबलाइजेशन एन्ड इट्स डिस्कन्टेन्ट्स’, सन२०२१ मा जन वेर्नेर द्वारा लिखित ‘डेमोक्रेसी रुल्ज’, हालै प्रकाशित डेभिड स्टासभेजको पुस्तक ‘द डिक्लाइन एन्ड राइज अफ डिमोक्रेसी’, जेम्स रिकार्डको ‘द न्यु ग्रेट डिप्रेशन’ र एकजना अर्का विद्वानद्वारा लिखित पुस्तक ‘डेमोक्रेसी वन द रोड’ जस्ता सामग्री यो बहसका पछिल्ला उदाहरणहरु हुन।

विश्व समाजादी व्यवस्थाका दिशामा जसरी भौतिक परिवेश बन्दै छ र नेपालमै पनि प्रायः सबैजसो पार्टी र संविधानको प्रस्तावनामा समेत समाजवाद उल्लेख गर्नै पर्ने जुन स्थित छ, यसलाई यथार्थमा बदल्न विश्वस्तरको मन्चको खाँचो छ । त्यसलाई अझ ठोसमा भन्दा चौथो अन्तराष्ट्रियको निर्माण गर्दै विश्वव्यापी रुपमा हस्तक्षेप गर्न जरुरी छ । रुसमा क्रान्ति सम्पन्न भएको दुई वर्षपछि सन १९१९ मा लेनिनले विश्वका कम्युनिस्ट पार्टीहरु बिच मोर्चा बनाउने उदेश्यले कम्युनिस्ट इन्टरनेशनल अर्थात कोमिन्टर्न गठन गरेका थिए । यसअघि मार्क्स एङ्गेल्सको अगुवाइमा सन १८६४ मा प्रथम अन्तराष्ट्रियको गठन भएको थियो भने सन १८८९ मा एङेल्सको अगुवाइमा दोस्रो इन्टरनेशनल बनेको थियो।

जसरी पुँजीवाद एकीकृत भएर आएको छ, पुँजीवादबिरुद्ध लड्न पनि विश्वस्तरमा एकीकृत पहल र मोर्चा जरुरी हुन्छ। चिनिया कम्युनिस्ट पार्टी स्थापनको १०० वर्ष पूरा गरेको अवसरमा चिनिया विदेश बिभाग प्रमुख सङ ताओ सङ्गको भर्चुअल बैठकमा महासचिव विप्लवले आफ्नो सम्बोधनमा, चौथो अन्तराष्ट्रिय गठन बारे तपाईहरुले के सोचिरहनु भएको छ, भनेर प्रश्न गरेका थिए भने विदेश बिभाग प्रमुख सङ ताओले, यसलाई आर्थिक विश्व्यापिकरणभित्र समाहित गर्नु पर्दछ, भन्दै उल्लेखित प्रश्नको लामो उत्तर दिएका थिए ।

समाजवादी क्रान्ति आफैमा अन्तराष्ट्रियवादी आन्दोलन हो र यो सफल हुने बित्तिकै पुँजीवादको केन्द्रमा डढेलो लाग्न थाल्छ भने यसलाई निभाउन उनीहरु संसारभरिको ताकत लगाउन थाल्छ्न। हामीले नेपाली क्रान्तिका पाँच तयारी मध्ये अन्तराष्ट्रिय तयारीलाई पनि एउटा आयाम मान्दै आएका छौँ र यसलाई समेत पूरा गर्ने हो भने कैयौं रचनात्मक, जनआधारित र यो कार्यभारलाई मद्दत हुने गरी थप कार्यनीतिक शृङ्खलाहरुको विकास गर्नैपर्ने हुन्छ र पछिल्लो चुनावी कार्यनीतिलाई यसैको अङ्ग मान्न सकिन्छ।

(ङ) चुनावी कार्यनीति

विद्यमान व्यवस्था अन्तर्गत हुने कुनैपनि चुनावमा सहभागी हुने वा नहुने भन्ने प्रश्न कार्यनीतिक सवाल हो, रणनीतिको सवाल होइन । यसलाई सापेक्षतामा हेर्नु पर्दछ, निरपेक्षतामा होइन। अक्टोबर क्रान्तिको पूर्व सन्ध्यामा पार्टी माथी प्रतिवन्ध लागेपछि र जारशाही दमनको समयमा लेनिनले दुमाको प्रयोग गर्ने कार्यनीति ल्याउनु भयो। जनयुद्धको तयारी पूर्व २०४८ मा संसदको प्रयोगले जनयुद्धको चार तयारीमा महत्त्वपूर्ण भुमिका खेल्यो।

कुनै पार्टी चुनावमा गएकै कारणले उ क्रान्तिकारी रह्यो वा रहेन भन्ने कुराको टुंगो लाग्दैन र लगाउन मिल्दैन। मुल कुरो मार्क्सवादका आधारभूत प्रश्न प्रतिको दृष्टिकोणको हो। वर्गसंघर्ष, वर्गीय अधिनायकत्व, राज्यसत्ता र समाजवाद, वल प्रयोगको सिद्धांतको विषयमा पार्टी र नेतृत्वले कसरी सोच्छ त्यो मुख्य कुरा हो।

चुनावको उपयोग र बहिष्कारलाई कसरी बुझ्ने भन्ने बारे अनिल शर्मा बिरहिको कथन यस्तो छ, ‘पन्चायतकालमा चुनाव बहिस्कार गरेर काङ्ग्रेस क्रान्तिकारी भएन । २०४८ सालमा चुनावमा गएर नेकपा एकता केन्द्र सुधारवादी भएन। पार्टीको विचार र राजनीति सहि छ भने चुनाव उपयोग गरेर पनि तात्विक असर पर्दैन, तर रणनीतिको सेवा के गर्दा हुन्छ भन्ने प्रश्न प्रधान हो।’

अहिलेको व्यवस्थामा देखिएका चुनावी बिकृतिका कारण यो असाध्यै महङ्गो, बदनाम र जनबिरोधी देखिएको हो। तर, चुनाब आफैमा खराब होइन। हामीले भन्ने गरेको वैज्ञानिक समाजवादमा पनि जनताको मन जित्नु पर्ने हुन्छ, जन अनुमोदित हुनै पर्छ र सबैभन्दा लोकतन्त्रवादी नै समाजवादीहरु हुन भन्ने कुरा व्यवहारत साबित गर्नै पर्छ। अहिले पनि चिनियाँहरु कार्यकर्ता जनताबाट अनुमोदित हुने र नेताहरू कार्यकर्ताले चुन्ने गर्दछ्न। चुनावबारे महासचिव विप्लवले भन्नुभएको छ, ‘हामी चुनावका बिरोधि होइनौ, यो दलाल पुँजीवादी व्यवस्थाका पो बिरोधि हौ, चुनाव र व्यवस्थाबीचको अन्तरलाई पनि विश्लेषण गरेर हेर्नु पर्दछ ।’

(च) विद्यमान कार्यनीतिका तरङ्गहरु

नेकपाले आसन्न स्थानीय चुनावको प्रयोग गर्ने कार्यनीति आगाडी सारेपछि एकथरी मन्छेहरुले, अब यो पार्टी संसदिय मुलधारमा आउने भयो, अन्ततः विप्लव पनि प्रचण्ड जस्तै हुने भए, आखिर तिमीहरुको एकीकृत क्रान्ती पनि यस्तै त रैछ नि, भन्न भ्याए । उनीहरुको कोकोहोलो मच्चाइरहनुको पछाडी पार्टीलाई क्रान्तिकारी बनाइराख्ने र क्रान्तिमा आफै योगदान गर्ने कुरासँग छैन। जसरी पनि बदनाम गर्ने, भ्रम सिर्जना गर्ने र आन्दोलनलाई कमजोर पार्ने योजना अन्तर्गत उनीहरु यसो गरिरहन्छन।

ठिक यहि समयमा तमाम क्रान्तिकारी नेता, कार्यकर्ता र शहिदपरिवारहरुले कतै पार्टीले आफ्नो धार बदल्न खोजेकै हो त भनेर चासो र चिन्तासहित प्रतिक्रियाहरु व्यक्त गरेको पाइयो। यो स्वभाबिक पनि छ। क्रान्तिबिरोधीहरुले क्रान्तिलाई कमजोर पार्न अहिले दुईवटा तरिका अबलम्बन गरिरहेको भन्दै नेकपा सचिवालय सदस्य सन्तोष बुढाले भन्नुभएको छ, ‘पहिलो तरिका हो, उनीहरु हामीलाई छापामार संघर्षतिर फर्काउन चाहान्छ्न । दोस्रो तरिका हो अब यिनीहरु पनि प्रचण्ड जस्तै संसदिय व्यवस्था र संविधान अन्तर्गत आए भन्दै भ्रम पैदा गर्न खोज्छ्न, तर हामी उनीहरुले गरेका दुइटै अनुमान भन्दा फरक छौ।’

पार्टीभित्र उत्पन्न प्रतिक्रिया र प्रभाव बारे फेरि सचिवालय सदस्य बुढाले यसरी सश्लेसण गर्नुभएको छ, ‘हामी एकपटक पोखराबाट स्याङ्जा हुँदै बुटवल जाँदै थियौ, स्याङ्जाको बाटोमा थुप्रै मोड र घुम्तिहरु छन । यस्ता घुम्तीहरुमा कहिल्यै बान्ता नगर्ने साथिहरुले पनि बान्ता गर्छन । त्यस्तै पार्टीले लिने यस्ता अनेक घुम्तीहरुमा कहिलेकाही कैयौं साथिहरुलाई त्यस्तै हुन्छ, भयो पनि।’

उहाँले अगाडि भन्नुभएको छ, ‘मलाई एकपटक लामो समयसम्म खोकी सन्चो नभएपछि तातो पानी लिन थाले, तातो पानी मात्रै लिदालिदा मेरो शरीर नै यस्तो भयो कि चिसो पानी छोयो कि समस्या आइहाल्ने, अहिले म चिसो पानी पनि लिन्छु, कहिलेकाही तातो पानी पनि, अहिले मेरो शरिरले दुइटै पानी पचाउछ, अहिले म ठिक छु, नेपालको कम्युनिस्ट आन्दोलनमा पनि बिगत लामो समय देखि कि त बहिस्कारमात्रै गर्ने, कि त चुनाव उपयोगको मात्रै कुरा गर्ने दुई अलग अलग स्कुलिङ भए । अहिले हामीले ती दुबैभन्दा फरक कार्यनीति अंगिकार गरेपछि हाम्रा साथिहरुलाई अलिकति एड्जस्ट गर्न असहज भएको मात्रै हो, हामी छिट्टै एड्जस्ट हुँदै जानेछौ।’ (लेखक विश्वकर्मा नेकपा निटक जनपत्रकार संगठन नेपालका संयोजक हुन् ।)