ठगी गर्ने कन्सल्टेन्सीले अझै तिरेन विद्यार्थीको पैसा, हेर्नुहोस विद्यार्थी ठग्नेको अनुहार


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८
10.5K
SHARES

काठमाडौँ – काठमाडौैको पुतलीसडकमा रहेको भ्याली इन्टरनेशन कन्सल्टेन्सीले विद्यार्थीसँग उठाएको पैसा अझै फिर्ता गरेको छैन । नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरिया पठाइदिने भन्दै भ्यालीका संचालकले ९ देखि १० लाख रुपैयाँ उठाएका थिए । विद्यार्थीको भिसा नलागेपछि कन्सल्टेन्सीले उनीहरुलाई आधा पैसा मात्र दिएर एक बर्षदेखि झुलाई रहेको छ ।

किर्तिपुरमा रहेको भ्याली कन्सल्टेन्सीको शाखाले कोरियाको केसी विश्वविद्यालयमा सत प्रतिशत भिसा लाग्ने भन्दै विद्यार्थीसँग पैसा उठाएको थियो । पछि कोरियाले कोभिडको कारण देखाउँदै ९९ प्रतिशत रिजेक्सन गरेको थियो । ‘सत प्रतिशत भिसा लाग्ने भनेर कन्सल्टेन्सी प्रलोभन देखायो । उसको विश्वास गरेर पैसा बुझायौँ’, एक विद्यार्थीले भने, ‘यो त ठग पो रहेछ । भिसा लाग्दैन वा लाग्ने सम्भावना कम छ भनेको भए हामी अस्ट्रेलिया, जापानको तयारी गर्ने थियौँ । पैसा पनि सकियो, करिअर पनि डामाडोल भयो ।’

विद्यार्थीले कन्सल्टेन्सीले भनेकै आधारमा कोरियाको केसी विश्वविद्यालयमा पैसा पठाएका थिए । विद्यार्थीको भिसा नलागेपछि विश्वविद्यालयले पुरै पैसा फिर्ता गर्न पर्ने हो तर विश्वविद्यालयले तीन लाखदेखि पाँच लाखसम्म कटाएर पठाएको थियो । बाँकी पैसा फिर्ता गर्न विद्यार्थीहरु बारम्बार कन्सल्टेन्सी धाउँदा पनि पैसा फिर्ता गरेको छैन ।

कन्सल्टेन्सीका संचालक पक्राउ

भ्याली कन्सल्टेन्सीको संचालक हुन् पदम योञ्जन । उनी अरु व्यवसायमा व्यस्त हुने भएकाले कन्सल्टेन्सीको जिम्मा उनको भाइ नाता पर्ने रोशन योञ्जनलाई दिएका छन् । पैसा फिर्ता नदिएको भन्दै विद्यार्थीले प्रहरीमा उजुरी दिएपछि उनै रोशनलाई प्रहरीले पक्राउ गरेर एक दिन थुनामा राखेको थियो । गएको असोज ६ गते पक्राउ परेका उनी ७ गते १ महिनामा पैसा तिर्ने कागज गरेर निक्लिएका थिए ।

पीडित विद्याथी प्रवेश साउदको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी कागज गराएको थियो । उनले साउदको पैसा एक महिनामा फिर्ता गरेका थिए । एक जनाको पैसा फिर्ता भएपछि त्यतिबेला अरु विद्यार्थीहरु पनि तातिएका थिए । ‘आज हुन्छ, भोली हुन्छ भन्दै लामो समय झुलायो ।’ पीडित विद्यार्थी निर्मला खड्काले भनिन्, ‘अत्ति भएपछि मैले पनि प्रहरीमा उजुरी दिएकी छु । तर प्रहरीले उजुरी दर्ता गरेको छैन ।’

भ्यालीको कोरिया विभागको रोशन योञ्जन

भ्यालीको कोरिया विभागको रोशन योञ्जन

‘हामीले हामीलाई जसरी पनि पैसा चाहियो भनेका छौँ’, अर्का पीडित विद्यार्थी मेघराज पोखरेलले भने, ‘तर प्रहरीले हाम्रो उजुरी दर्ता गर्न मानेको छैन ।’

‘हामीलाई प्रहरीले अदालत जाउ भनेको छ । अदालत जाँदा पनि फैसला आउन बषौं लाग्छ । अदालतको पनि विश्वास छैन, पैसा भएकाहरुको प्रभावमा परेर न्याय नपाइन पनि सक्छ ।’ अर्का एक पीडित विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘ठगहरुले त प्रहरीसँग पनि सेटिङ मिलाएका हुन्छनकी क्याहो ?’

पीडित विद्यार्थीका अनुसार योञ्जनले २१ जनाबाट जनही ९ देखि १० लाख रुपैयाँ आफ्नो व्यक्तिगत खातामा जम्मा गर्न लगाएका थिए । भिसा नलागेपछि हरेक विद्यार्थीलाई ५ लाख रुपैयाँ फिर्ता गरेको र बाँकी आजसम्म पनि नदिएको उनको विद्यार्थीको भनाई छ । तर यता कोरिया विभाग हेर्ने रोशन योञ्जनले आफूले पैसा नलिएको बताएका छन् । पैसा विद्यार्थीले विश्वविद्यालयको खातामा जम्मा गरेकाले उतैबाट आउन पर्ने बताए ।

योञ्जनले अबको केही दिनमा विश्वविद्यालयले विद्यार्थीको पैसा फिर्ता गरिदिने बताएका छन् । ‘हामीले विभिन्न क्षेत्रबाट गरेको लभिङका कारण विश्वविद्यालयले बाँकी पैसा फिर्ता पठाउन तयार भएको छ ।’ मोटिभेटसँगको कुराकानीमा उनले भने, ‘हामीले विद्यार्थीलाई अबको केही समय कुर्न भनेका छौँ । बरु यसमा मिडियाको तर्फबाट तपाईले पनि पहल गरिदिन पर्यो ।’

यो कन्सल्टेन्सीको किर्तिपुर शाखा धिरेन राइले हेरिरहेका छन् । उनले विदार्थीलाई बोलाउने फकाउने र पठाउने गरिरहेको विद्यार्थीको गुनासो छ । ‘हामी दुई (उनी र मेघराज) जनलाई अहिले ५० हजारको चेक दिएको छ ।’ पीडित विद्यार्थी खड्काले भनिन्, ‘मैले सबै पैसा मागेको हो । तर उसले २० दिन पछिको चेक दिएको छ । के गर्ने, के गर्ने भयो । उसले २० दिन पछि विश्वविद्यालयले नै पैसा पठाइदिन्छु भनेको छ । अब हेरौँ ।’ अरु १२ जना पीडित विद्यार्थीले पनि कन्सल्टेन्सीमा गएर घेराउ गर्ने तयारी गरिरहेका छन् ।

कोरिया मात्र होइन् उसले बेलायत अध्धयन गर्न चाहाने विद्यार्थीलाई पनि परामर्श दिइरहेको छ । विद्यार्थीलाई आक्रषण गर्नका लागि उसले बेलायतको सत प्रतिशत भिसा लाग्ने भन्दै विज्ञापन गरेको पाइएको छ ।

१०० प्रतिशत भिसा सक्सेस भन्दै उसले सामाजिक संजालमा विज्ञापन गरिरहेको छ । यो पनि उनको ठग्ने धन्दा हो । ‘सत प्रतिशत भिसा लाग्छ भन्यो भने विद्यार्थी आउँछन्, सर्भिस चार्ज ठटाएर विद्यार्थीसँग ठग्न सकिन्छ भन्ने नियत देखिन्छ ।’ भ्यालीसँगैका एक परामर्श व्यवसायीले भने, ‘यो कन्सल्टेन्सीमा संधै लफडा भइरहन्छ । हामीलाई देख्दा पनि लाज लाग्छ ।’